चीनमा परीक्षण भइरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकियो

 भदौ १२, २०७७ शुक्रबार ६:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ । 

परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ । 

कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो । 

कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ । 

विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छ वटामध्ये आधा खोप चिनियाँ हुन् । चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो । 

विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ । 

एक करोड ७० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विश्वमा दुई लाख ६० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने झण्डै छ हजारको ज्यान गएको छ । 

अमेरिका, ब्राजिल र भारतमा नयाँ संक्रमण र ज्यान गुमाउने दर दुबै बढिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • dhama paudyal

    Aug. 28, 2020, 11:31 a.m.

    कोरोनाको भ्याक्सिन आये पनि बच्ने त धनी मात्र रेछन । गरिब ले १५,००० कहा बाट ल्याउछन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया