व्यवसायीलाई धम्की दिँदै रकम असुल्ने पाँच जना पक्राउ

 भदौ १७, २०७७ बुधबार १५:१८:१५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ –  व्यवसायीलाई धम्क्याउँदै रकम असुल गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । सङ्गठित रुपमा अपराधिक समूह बनाएर व्यापारीहरुलाई हतियार देखाइ पैसा माग्ने, पैसा नदिए ज्यानै लिने धम्की दिइ रकम असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विराटनगरलाई आपराधिक थलो बनाइ चोरी र लुटपाट गर्ने समूह सक्रिय रहेको भन्ने सूचनाका आधारमा कटहरी गाउँपालिका २ आदर्श टोलका एलेक्स भनिने रविन शर्माको घरबाट पेस्तोल र तीन थान गोलीसहित पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काले जानकारी दिनुभयो । 

पक्राउ पर्नेमा भारतको बिहार सीतामणि घर भइ विराटनगरमा चाइना बजारमा (कपडा बेच्ने कामदार) राजु साह, कटहरी गाउँपालिका २ आदर्शनगरका किसन साह, रविन शर्मा, अभिषेक राय तथा सप्तरी बोदेबरसाईन नगरपालिका ८ काचनका नन्दु भन्ने नन्दकिशोर साह छन् । उनीहरुलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको हो ।

उनीहरुको साथबाट ९७ हजार एक सय २० रुपैयाँ, अटोमेटिक पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली समेत बरामद गरिएको एसपी खड्काले बताउनुभयो । त्यस्तै विभिन्न कम्पनीको मोबाइल १६ थान, कोटक महेन्द्र नामको भारतीय बैंककाे चेक २ थान तथा तीन वटा मोटरसाइकल र चक्कु बरामद भएकाे छ ।

यसरी पक्राउ परे

गएकाे असार २५ गते राति ९८४०४१८२३० नम्बरबाट त्याे समूहले विराटनगरका एक व्यापारीको मोबाइलमा म्यासेज गरी १० लाख रुपैयाँको माग गरे । पटक–पटक धम्की दिएपछि उनीहरुले ती व्यापारीबाट असार २६ गते  पाँच लाख रुपैयाँ लगेका थिए । साउन १३ गते त्यही नम्बरबाट फोन गरेर अर्का व्यापारीलाई फेरि धम्की दिएर दश लाख रुपैयाँ मागेकाे खुल्न आएकाे प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार यी समूहले नै भदौ १५ गते चाइना बजारका सञ्चालक राम नरेश साहको घर फोडेर ११ लाख रुपैयाँ चोरी गरेका थिए । उनीहरुले विभिन्न समयमा व्यापारीलाई धम्की दिएर रकम असुल्ने अनि चोरीमा संलग्नहरु एउटै समूहको भएको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

पक्राउ परेका उनीहरुलाई  हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा सङ्गठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया