अछाममा कुटपिटबाट २४ वर्षीय युवकको ज्यान गयो

 भदौ १७, २०७७ बुधबार २०:२:४८ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछाममा २४ वर्षीय युवकको कुटपिटपछि ज्यान गएको छ । मङ्गलसेन नगरपालिका १४ कालागाउँका २४ वर्षीय छोरा सन्तोष भण्डारीको जिल्ला अस्पताल अछाममा बुधबार ज्यान गएको हो ।

मङ्गलबार मङ्गलसेन नगरपालिका १४ कालागाउँको खाँदमा कमलबजार नगरपालिका वडा नम्बर ६ हात्तीबाझका युवासँग आपसी विवाद भएपछि कुटपिट हुँदा गम्भीर घाइते भएका भण्डारीको बुधबार दिउँसो जिल्ला अस्पताल अछाममा ज्यान गएको बताइएको छ ।

बाह्य चोट धेरै नदेखिए पनि भित्री भागमा गम्भीर चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज रेफर गरिए पनि हेलिकप्टरमा लैजान नपाउँदै मङ्गलसेनमा ज्यान गएको जिल्ला अस्पताल अछामका प्रमुख डाक्टर मनोज विष्टले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार कुटपिटका कारण ज्यान गुमाएकाेले घटनाको अनुसन्धान जारी छ । कमलबजार नगरपालिकाका ६ हात्तीबाझका भूपेन्द्र शाहीलगायतका युवाको समूहले भण्डारीलाई कुटपिट गरेकाले बुधबार बिहानैदेखि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनुभयो ।

मृतकका आफन्तको तर्फबाट समेत प्रहरी कार्यालयमा उजुरी आइसकेकाले भूपेन्द्र शाही फरार रहेकाले खोजी तीव्र पारिएको उहाँले बताउनुभयो । मृतक भण्डारीका आफन्तले घटनामा संलग्न दोषीलाई चाँडोभन्दा चाँडो पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया