आज केही ठाउँमा ठूलो पानी पर्ने

 भदौ १८, २०७७ बिहिबार ७:२९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज वाग्मती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । 

मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा केही पर दक्षिणतर्फ रहेको र अहिले सक्रिय रहेकोले केही ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

अहिले देशभर सामान्यदेखि पूर्णरुपमा बादल लागेको र प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्यदेखि मध्यम खालको पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर बादल लागेर केही ठाउँमा पानी पर्ने र वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा  ठूलो पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।

मनसुनी प्रणाली सक्रिय रहेकोले अझै केही दिन मौसम नखुल्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । केही ठाउँमा मौसम खुल्ने बादल लाग्ने क्रम चलिरहे पनि अझै केही दिन मौसम नखुल्ने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ २१, २०७७

तपाईको प्रतिक्रिया