नगर प्रमुखले एकलाैटी गरेको आरोप : विशेष नगरसभा बोलाउन माग

 भदौ १९, २०७७ शुक्रबार १८:३६:१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – नगर प्रमुखले छलफल नै नभएको विषय माइन्युटमा छिराएर एकलाैटी काम गर्न खोजेको भन्दै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका जनप्रतिनिधिहरुले विशेष नगर सभा बोलाउन माग गरेका छन् ।  

विवाद चर्किदै गएपछि नगर उपप्रमुख, पाँच जना वडा अध्यक्ष सहित २० जना नगर सभा सदस्यले हस्ताक्षर सङ्कलन गरेर  नगर प्रमुखलाई विशेष नगर सभा बोलाउन माग गरेको नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्वासेले बताउनुभयो ।  

गएको असार ५ गतेको कार्यपालिकाको बैठक र १० गतेको नगरसभा बैठकमा संघीय सरकारबाट भूमिकास्थान नगरपालिका वडा नम्बर ५, असुरकोटको स्वास्थ्यचौकी भवन स्तरोन्नती तथा १५ शैयाको अस्पताल बनाउने योजनाका विषयमा छलफल नै भएको थिएन । 

‘माइन्युटमा उक्त योजना छेउमा पर्ने भन्दै वडा नम्बर ७ र ८ को बीचमा १५ शैयाको अस्पताल बनाउने भनेर निर्णय भएछ’, नगर उपप्रमुख बेल्वासेले भन्नुभयो, ‘नगर प्रमुखले एकलाैटी रुपमा छलफल नै नभएका विषय माइन्युटमा लिनुभएको छ ।’

यस्तै गएको असार ९ गते बसेको कार्यपालिकाको बैठकमा छलफल नै नभएको विषय करारका कर्मचारीको म्याद थप गर्ने निर्णय प्रस्ताव नम्बर ६ मा राखेर निर्णय गरिएको भूमिकास्थान नगरपालिका–४ का वडा अध्यक्ष तथा प्रवक्ता बाबुराम सुनारले बताउनुभयो ।

करारका कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा कुनै पनि छलफल नभएको उहाँको भनाइ छ । 

नगर प्रमुखले बैठकको विधि, मान्यता र परम्परा विपरीत कागजात मिलाउने, विषयबस्तु तोडमोड गर्ने र नगर सभाको हवला दिँदै विभिन्न कामहरु अगाडि बढाएको भन्दै नगर प्रमुखको विरुद्धमा नगर उपप्रमुख खडानन्द

​बेल्वासे, वडा नम्वर ४ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बाबुराम सुनार, वडा नम्बर एकका वडा अध्यक्ष भोजराज खनाल, दुईका वडा अध्यक्ष बुद्धिबहादुर थापा, पाँचका वडा अध्यक्ष तुल्सीराम बेल्वासे, ६ का वडा अध्यक्ष झविलाल बन्जाडे सहित ३१ जना उत्रिएका छन् । 

नगर सभाको बैठक र कार्यपालिकाको बैठकमा छलफल भएको विषय मात्र माइन्युटमा राखेर निर्णय गरिएको नगर प्रमुख रेशम थापाले बताउनु भयो । आफूमाथि झुटो आरोप लगाएको नगर प्रमुखको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया