‘पर्यटन व्यवसाय पुरानै लयमा फर्कन लामो समय कुर्नुपर्छ’

 भदौ २२, २०७७ सोमबार १६:४२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पर्यटन क्षेत्रका विज्ञहरुले कोरोना भाइरसका कारण खस्किएको नेपालको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन कम्तीमा चार वर्ष लाग्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले गरेको भर्चुअल अन्तर्क्रियामा विज्ञहरुले कोरोनाको महामारी छिटै अन्त्य नहुने र अन्त्य भए पनि पर्यटक ढुक्कले घुम्नेमा शङ्का रहेको बताएका हुन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताउनुभयो ।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै ठूलो सङ्ख्यामा पर्यटक आउने दशकको अन्त्य भएको उहाँले बताउनुभयाे । ‘अब मास टुरिजमको एरा गयो’, पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो ।

डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने श्रेष्ठको भनाइ छ । भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर यसपालिको समस्या भने केही फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्नेमा उहाँको जोड थियो । 

त्यसैगरी पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार/पाँच वर्ष लाग्ने बताउनुभयो । 'सन् २०२४/०२५ भन्दायता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न’, संयोजक शाक्यले भन्नुभयो । 

कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजस्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीहरुले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने शाक्यको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया