जब कालिज फार्मभित्र चितुवा पस्यो...

 भदौ २६, २०७७ शुक्रबार १३:११:३२ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका ४, सिङ्गामा हरियाली ग्रुपले सुरु गरेको व्यावसायिक कालिज फार्ममा चितुवा पसेको छ । चार सय ५० वटा कालिज पालिएको फार्मभित्र बिहीबार राति चितुवा पसेको हरियाली ग्रुप प्रालीले जनाएको छ । 

फार्मभित्र पसेको चितुवाले कालिज मारेर खाएको भए पनि कति सङ्ख्यामा कालिज मारेको भन्ने यकिन नभएको ग्रुपका प्रबन्ध निर्देशक शेरबहादुर केसीले जानकारी दिनुभयो । अहिले कालिजको फार्मभित्र पसेको चितुवा नियन्त्रणको प्रयास गरिए पनि खुला ठाउँ भएका कारण नियन्त्रणमा समस्या भइरहेको छ । 

चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय म्याग्दीबाट दुई जना कर्मचारी र तातोपानी प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थल पुगेका छन् । डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले कार्यालयसँग रहेको फलामे खोरको सहायताले चितुवा नियन्त्रणको प्रयास गरिए पनि फार्मको क्षेत्र ठूलो र खुला ठाउँ भएकाले समस्या भएको बताउनुभयो । फार्मभित्र पसेको चितुवाको वरिपरि धेरै भिड नगर्न आग्रह गरिएको छ । 

चितुवा नियन्त्रण गर्न प्रदेश वन निर्देशनालय पोखरामा जानकारी गराएपछि त्यहाँबाट नियन्त्रणको टोली झिकाउन चितवन राष्ट्रिय निकुञ्जमा आग्रह गरिएको निमित्त प्रमुख खनालले जानकारी दिनुभयो । खबरलगत्तै राष्ट्रिय निकुञ्जको चितुवा नियन्त्रणको डार्टिङ टिम (प्राविधिक टोली) म्याग्दीतर्फ लागेको उहाँले बताउनुभयो । डार्टिङ टिम आएपछि मात्रै चितुवालाई बन्दुकको सहायतामा सिरिन्ज प्रहार गरी लठ्याउन सकिने र त्यसपछि नियन्त्रणमा लिइ सामुदायिक वन क्षेत्रमा लगेर छाडिने निमित्त प्रमुख खनालको भनाइ छ । 

कुखुरा वा बाख्राको खोरभित्र पसेको भए चितुवालाई सजिलै नियन्त्रणमा लिन सकिने भए पनि खुला ठाउँमा रहेको कालिज फार्मभित्र पसेको हुँदा समस्या भएको बताइएको छ । बिहान कालिजलाई दानापानी दिने क्रममा प्रालीका कर्मचारी फार्मभित्र पस्दा वयस्क चितुवाले झम्टिन खोजेपछि फार्मभित्र चितुवा पसेको थाहा भएको हो । आहाराको खोजीमा चितुवा जाली नाघेर कालिजको फार्मभित्र पसेको हुन सक्ने अनुमान गरिएको छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया