सुन्दर यातायात : काेरोनासँग जुध्दै, अघि बढ्दै

 भदौ २६, २०७७ शुक्रबार १७:४८:२१ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ – सुन्दर यातायात प्रालीले विद्युतीय बस सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ । सुन्दर यातायातले नेपालमा वातावरणमैत्री विद्युतीय बस सेवा सञ्चालन गरेको एक वर्ष पूरा भएको हो ।

सुन्दर यातायातले गएको वर्ष भदौ २३ गतेदेखि काठमाण्डौको चक्रपथबाट चार वटा विद्युतीय बसमार्फत सेवा सुरु गरेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्दर यातायातले आउने दिनमा २५ वटा विद्युतीय बस थप्ने योजना बनाएकाे छ । तर कोरोना भाइरसले निम्त्याएको महामारीले गर्दा योजनाअनुसारको काम गर्न नसकेको कम्पनीले जनाएको छ । 

'नाम जस्तै काम'

थुप्रै उतारचढाव आए पनि कत्ति पनि विचलित नभइकन त्यसको सामना गर्दै अघि बढिरहेको सुन्दर यातायातले अहिले महामारीको समयमा पनि गाडी सञ्चालनको लागि आवश्यक पूर्वतयारी सहित विभिन्न ठाँउमा स्वास्थ्य सुरक्षाका सामग्री तथा उपकरण सहयोग गरिरहेको छ ।

सुन्दर यातायात प्रालीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोरोनाको जोखिम कम गर्न काठमाण्डौ उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा र भक्तपुरको जगातीमा सवारी डिसइन्फेक्शन (निर्मलीकरण) टनेल निर्माण गरेको छ । यस्तै विभिन्न ठाँउमा क्वरेण्टीन, आइसोलेशन र शौचालय निर्माण गरेको पनि कम्पनिले जनाएको छ । 

गाडीमा सुरक्षित यात्राको सुनिश्चितता

यसअघि चार महिनाको लकडाउन खुलेपछि सिट क्षमताको आधामात्र यात्रु बोक्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निणर्य गरे पनि सुन्दर यातायातले लकडाउन अगाडिकै भाडामा विद्युतीय गाडी चलाइरहेको छ । गाडीमा सरकारले तोकेको भन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइएको सुन्दर यातायातका अध्यक्ष थापाले दाबी गर्नुभएको छ । उहाँले सुन्दर यातायातमा चालक, सहचालकले आफ्नै कम्पनीले उपलब्ध गराएको बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, धुन मिल्ने ग्लब्स, मास्क लगाउने गरेको बताउनुभयो ।

यस्तै गाडी चढ्नुअघि प्रत्येक यात्रुको तापक्रम जाँचिने व्यवस्था सुन्दर यातायातले गरेको छ भने मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन । त्यस्तै मास्क नलगाएका ६० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क मास्क पनि कम्पनीले वितरण गरेको छ । स्वास्थ्य सुरक्षालाई नै ध्यानमा राखेर गाडीलाई दिनदिनै स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि स्प्रे पनि गरिन्छ ।  ‘

अध्यक्ष थापाले आफ्नो स्वास्थ्य सुरक्षाका लागि यात्रु आफै पनि सचेत हुनुपर्ने बताउनुभयो । गाडीभित्र भौतिक दुरी कायम गर्न एउटा सिटमा एक जनामात्र यात्रु राख्ने प्रयास गर्दा केही यात्रुले नमानेको उहाँले गुनासो गर्नुभयो ।

विद्युतीय माध्यमबाट रकम भुक्तानी (ई–पेमेन्ट) 

सुन्दर यातायातले विद्युतीय कार्डमार्फत सार्वजनिक यातायातको भाडा तिर्न सकिने गरी डिजिटल भुक्तानी प्रणाली लागू गरिरहेको छ । यसले गर्दा कार्डमार्फत भाडा तिर्न सक्ने सुविधा रहेकाले नगद कारोबार गर्न नपर्ने भएकाले भाइरस सङ्क्रमणको जोखिम पनि कम हुन्छ । सार्वजनिक यातायातलाई पनि डिजिटल युगमा लाने उद्देश्यले यो सेवा थालेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो ।

सुन्दर यातायातको विद्युतीय बसमा यसअघि नै यात्रुले इलेक्ट्रोनिक पेमेन्ट सिस्टमबाट पनि भाडा भुक्तानी गर्न सक्ने व्यवस्था थियो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया