ओमानमा अलपत्र परेका महिलासहित पाँचौं उडानमार्फत फर्किए १६५ जना

 भदौ २६, २०७७ शुक्रबार १७:४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा रहेको नेपाली दूतावासले आज सम्पर्कबिहीन भएका र मानव तस्करको फन्दामा परी अलपत्र परेका नेपाली महिलालाई स्वदेश पठाएको छ ।

केही वर्ष अघिदेखि ओमानमा सम्पर्कबिहीन भएकी झापाकी नेत्रकुमारी राउत र मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानुनी बाटो हुँदै ओमानमा अलपत्र परेका ताप्लेजुङ्गकी अरुण मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई दूतावासले नेपाल पठाएको हो ।

झापाकी नेत्रकुमारी राउत २०७० सालदेखि ओमानमा सम्पर्कबिहीन हुुनुभएको थियो । घरेलु कामदारको रुपमा ओमान जानुभएकी उहाँ परिवारको सम्पर्कमा नभएपछि छोरा नवराज राउतले आफ्नी आमाको खोजीका लागि परराष्ट्रमार्फत निवेदन दिएका थिए ।

त्यही आधारमा दूतावासले नै नेत्रकुमारीको खोजी गरेर सम्पर्कमा ल्याएको थियो । स्वास्थ्य अवस्था नाजुक भएकाले घरसम्म लैजाने व्यवस्थाका लागि दूतावासले नै सहजीकरण गरेको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा गैरकानुनी बाटो हुँदै ओमान पुगेर घरेलु काम गर्ने क्रममा अलपत्र परेका अरुणा र गजकुमारीलाई पनि दूतावासकै समन्वयमा आवश्यक प्रक्रिया पूरा गरी आज स्वदेश पठाइएको हो ।

साथै, झण्डै ६० जना घरेलु कामदारको रुपमा कार्यरत नेपालीलाई आवश्यक समन्वय तथा पहल गरी आजैको उडानमार्फत घर पठाइएको पनि दूतावासले जनाएको छ । ओमानबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि भएको पाँचौं उडानमार्फत आज जम्मा १६५ जना स्वदेश फर्किएका छन् । आज फर्कने चालक दल र यात्रुसहित सबैको पीसीआर रिपोर्ट नेगेटिभ रहेको पनि दूतावासले जनाएको छ ।

स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा सहजीकरण र बिदाइ गर्न ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसहित दूतावासका अन्य कर्मचारी आफै गएका थिए । ओमानबाट सरकारले तोकेकोभन्दा सस्तो र सुलभ तरिकाले नेपालीहरु स्वदेश फर्किएका छन् ।

दूतावासले नेपालीको स्वदेश फिर्तीका लागि गरेको समन्वय र सहकार्यप्रति फर्कने नेपालीलेसमेत धन्यवाद दिएका छन् । ओमानमा समस्यामा परेका नेपालीलाई सहज रुपमा स्वदेश फिर्तीका लागि दूतावास लागि परेको र अझै यो कार्य निरन्तर रुपमा गरिरहेको दूतावासले प्रतिवद्धता जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया