भारतबाट रोजगारी गुमाएर फर्किएकालाई निःशुल्क माहुरीका घार

 भदौ २७, २०७७ शनिबार १६:२६:१३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सितगंगा नगरपालिका–५ जुकेनमा कोरोनाका कारण रोजगारी गुमाएर भारतबाट फर्किएका २० घर परिवारलाई आधुनिक माहुरीका घार प्रदान गरिएको छ । 

जनचेतना सरोकार मञ्च अर्घाखाँचीले अक्सफार्म नेपालको सहयोगमा कोरोनाका कारण भारतबाट रोजगारी गुमाएर घर फर्किएका मौसमी प्रवासी कामदारलाई घार प्रदान गरिएकाे हो । २० घर परिवारलाई पाँच वटा आधुनिक घारको दरले १ सय वटा आधुनिक माहुरीका घार वितरण गरिएको  सितगंगा नगरपालिका–५ का वडा अध्यक्ष कमल पौडेलले बताउनु भयो ।

अति विपन्न परिवार र आम्दानीको श्रोत केही नभएकाले आधुनिक माहुरीका घार अनुदानमा उपलब्ध गराएको जनचेतना सरोकार मञ्चका कार्यक्रम प्रमुख युवराज ज्ञवालीले बताउनु भयो ।  विपन्न एवं साना किसानलाई माहुरी पालन व्यवसायमा आवद्ध गराइ स्वरोजगार बनाउन घार प्रदान  गरेको संस्थाका परियोजना संयोजक ज्ञवालीको भनाइ  छ ।

जिल्लामा भारतमा रोजगारी गरी फर्कने क्रममा भूमिकास्थान नगरपालिकाका एक जना  र फर्किएर स्थानीय सरकारले बनाएको क्वरेण्टीनमा बसेको समयमा मालारानी गाउँपालिकाका एक जना गरी २ जनाको ज्यान गइसकेको छ । अर्घाखाँचीका ५५ सय बढी जनाले भारतमा रोजगारी गुमाएर आफ्नो घरमा फर्किएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया