बिदामा आएकाहरु फर्कन थाले बहराइन, रोजगारीको जिम्मेवारी आफैंले लिनुपर्ने

 असोज १, २०७७ बिहिबार १७:१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बहराइनबाट बिदामा आएका तर कोरोनाको कारण नेपालमै रोकिएका नेपालीहरु बहराइन फर्कन थालेका छन् ।

बिदामा आएका तर कोरोनाका कारण रोकिएका १४५ जना बहराइन पुगिसकेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ । यस्तै बहराइनमा रहेको नेपाली दूतावासले बहराइन फर्कन चाहने २१५ जना नेपालीको नामावली पनि सार्वजनिक गरेको छ ।

तर अब बहराइन फर्कनेले काम पाउने, नपाउने लगायत सबै कुराको जिम्मेवारी भने आफैंले लिनु पर्नेछ । सबैभन्दा पहिले बहराइन जानका लागि पीसीआर जाँच नेगेटिभ भएको रिपोर्ट, भ्यालिड भिसा, श्रम स्वीकृतिको कागजात साथमा लिएर यात्रा गर्नुपर्छ । बहराइनमा रोजगारदाताले काम दिन्छन् भन्ने कुराको जिम्मेवार स्वयं व्यक्ति आफैं हुनुपर्छ ।

बहराइन पुगेपछि बहराइन सरकारले जारी गरेको Beaware नाम एप डाउनलोड गरी त्यो एपमा मागेको विवरणहरु राख्नुपर्छ । बहराइन पुगेपछि बहराइन दिनार ३० तिरेर कोरोना परीक्षण गराउनुपर्छ । नेगेटिभ आएमा सात दिन आइसोलेशनमा बस्नुपर्छ र आइसोलेशनमा बसेको सात दिनपछि फेरि कोरोना जाँच गराउनुपर्छ ।

त्यसबेलामा पनि बहराइन दिनार ३० लाग्नेछ । यो खर्च व्यक्ति स्वयंले नै व्यहोर्नुपर्छ । नेपालबाट जानुअघि पनि नेपाल सरकारले लागू गरेका सबैखाले नियमहरु पालना गर्नु पर्नेछ ।

बहराइन पुगिसकेपछि केही कारणबस अध्यागमनले अनुमति नदिएमा त्यसको जिम्मेवारी व्यक्ति स्वयंले नै लिनु पर्नेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया