कतारले जारी गर्‍यो होटलमा निष्पक्ष श्रमिक भर्तीको निर्देशिका

 असोज २, २०७७ शुक्रबार १७:४१:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कतार सरकारले होटलहरूको लागि निष्पक्ष श्रमिक भर्ती र रोजगार प्रवर्द्धनका लागि मार्गनिर्देश गर्न निर्देशिका जारी गरेको छ ।

कतारको प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालयले कतारमा होटल क्षेत्रका लागि भर्ती र रोजगारीका लागि मार्गनिर्देशन गर्न निर्देशिका जारी गरेको हो । त्यहाँका श्रम मन्त्रीलाई उद्धृत गर्दै स्थानीय पत्रिका पेनिन्सुला कतारले होटल क्षेत्रमा निष्पक्ष भर्ती र रोजगार प्रवर्द्धन गर्नको लागि यो निर्देशिकाले अपेक्षित काम गर्ने जनाएको छ ।

कतारको होटेल क्षेत्रमा दिगो विकास र सभ्य कार्यको लागि कार्यरत समूहका सदस्यसँगको परामर्शपछि निर्देशिका जारी गरिएको हो । एडीएलएसए, आईएलओ र आईएचआरबीद्वारा संयोजित यस समूहले २०१९ को मार्चदेखि कतारमा होटल क्षेत्रमा श्रम अधिकार चुनौति र जिम्मेवारीहरू पत्ता लगाउन नियमित बैठक गरिसकेको छ ।

‘कतारमा होटल क्षेत्रका लागि निष्पक्ष भर्ती र रोजगारीका लागि मार्गनिर्देशन गर्न यो निर्देशिका तयार पारिएको हो । कतारका ४० भन्दा बढी होटलहरूका मानव संसाधन प्रबन्धकहरूको परामर्श र मार्च २०१९ देखि अप्रिल २०२० बीचको नियमित कार्यसमूह सत्रहरूको परिणाम स्वरुप यो निर्देशिका तयार पारिएको हो ।’, निर्देशिकाको परिचयमै लेखिएको छ ।

यसले कतारका होटलमा निष्पक्ष रुपमा श्रमिकको भर्ती हुने र यसले श्रमिकलाई फाइदा पुग्ने विश्वास लिइएको छ । निर्देशिका पढ्न यहाँ क्लिक गर्नुहाेस् ।

अन्तिम अपडेट: फागुन २८, २०८०

तपाईको प्रतिक्रिया