एक हप्तामा १०३ प्रतिशतले बढ्यो प्याजको भाउ

एक्कासी किन बढ्छ प्याजको भाउ ?

 असोज २, २०७७ शुक्रबार १८:३५:१४ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – ललितपुरकी ज्ञानु थापा चटपटे तथा पानीपुरी बेच्नुहुन्छ । चटपटे र पानीपुरीको लागि उहाँलाई दैनिक कम्तीमा एक किलो प्याज आवश्यक पर्छ । तर गएको एक हप्तामा प्याजको भाउ महँगो भएपछि उहाँले प्याजको प्रयोग केही कम गर्न थाल्नुभएको छ । 

‘अघिल्लो शुक्रबार सुकेको प्याज किलोको ७० रुपैयाँमा किनेकी थिएँ । हिजो बिहीबार त किलोको एक सय ४० रुपैयाँ तिरेँ’, उहाँले भन्नुभयो, ‘यसले त व्यापारमा असर गर्ने भयो । पानीपुरी र चटपट दुवैमा धेरै प्याज हाल्नुस् न भन्छन् । खान आउनेको चित्त बुझाउनै पर्‍याे ।’  

ललितपुरकै सङ्गीता रानाले भने अब भाउ नघटेसम्म प्याज नकिन्ने निर्णय गर्नुभएको छ । ‘मासु पकाउँदा चाहिने हो । प्याज नभए पनि काम चल्छ । मैलै त भाउ नघटेसम्म प्याज नकिन्ने निर्णय गरेँ’, उहाँले भन्नुभयो । 

गएको शुक्रबार काठमाण्डौको मुख्य तरकारी तथा फलफुलको थोक बजार कालीमाटीमा प्याज किलोको ५० देखि ५५ रुपैयाँ थोक मूल्यमा कारोबार भएको थियो । त्यसपछि बिस्तारै उकालो लागेको प्याजको भाउ आज कालीमाटीमा किलोको एक सय १० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । एक हप्तामा प्याजको भाउ किलोमा एक सय तीन दशमलव ७७ प्रतिशतले बढेको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । 

गएको वर्ष पनि महँगो भएको थियाे प्याज 

गएको वर्ष पनि भदौ १५ पछि सुकेको प्याजको मूल्य बढ्दै गएको थियो । भदौ १५ पछि बढेको प्याजको भाउले असोज १५ सम्म निरन्तरता पायो । यो बेला गएको वर्ष कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिमा प्याज किलोको ९० रुपैयाँ थोक मूल्यसम्म पुगेको थियो । असोज दोस्रो हप्तासम्म किलोको एक सय १० रुपैयाँ थोक मूल्य पुगेको प्याज खुद्रा बजारमा भने किलोको एक सय ३५ रुपैयाँसम्म पुगेको थियो । 

त्यसपछि उकालो लागेको प्याजको मूल्य मङ्सिर १२ गते किलोको दुई सय २५ रुपैयाँ खुद्रा  पुग्यो । तर कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तोकेको भन्दा पनि बढी मूल्य तिर्न सर्वसाधारण बाध्य भए । मङ्सिरदेखि पुसको मध्यसम्म आइपुग्दा किलोको दुईसय रुपैयाँ रहेको प्याजको खुद्रा मूल्य त्यसपछि भने बिस्तारै घटेर चैतमा किलोको ३० रुपैयाँसम्म झरेको थियो । 

तर अहिले फेरि भारतले प्रतिबन्ध लगाएपछि प्याजको भाउ गएको वर्षकै अवस्थामा पुग्ने अनुमान गर्न थालिएको छ । 

भाउ बढेपछि अनुगमन 

प्याजको भाउ महँगो भएको गुनासोपछि वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बुधबार बिहान अनुगमनमा निस्कनुभयो । अनुगमनका लागि उहाँ बल्खु तरकारी बजार पुग्नुभयो । व्यापारीले किलोको ४८ रुपैयाँमा किनेको प्याज मन्त्री भट्टले एक सय २० रुपैयाँ किलोमा किन्नुभयो । सुरक्षाकर्मी विना बल्खु पुग्नुभएकाले उहाँले त्यसपछि ती व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुभयो । 

६ जना आलु तथा प्याज व्यवसायीलाई मात्रै नौ लाख ६५ हजार जरिबाना 

थोक बजारमै मन्त्री ठगिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले समेत अनुगमन सुरु गरेको छ । विभागले बिहीबार एकैदिन आठ जना व्यवसायीलाई कारबाही गरेको छ । उनीहरुबाट १४ लाख ७० हजार रुपैयाँ जरिबाना तिराएको विभागले जनाएको छ । विभागले बिहीबार ६ जना आलु तथा प्याज व्यवसायीलाई मात्रै नौ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

अनुगमनकै क्रममा काठमाण्डौको तीनकुनेबाट साढे ४२ बोरा प्याज र ४० बोरा आलु बरामद भएको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि एक्कासी व्यापारीले मूल्य बढाएको भन्दै उपभोक्ताको गुनासो बढेपछि महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले समेत अनुगमन सुरु गरेको छ । प्याज महँगोमा बेच्ने र अनावश्यक भण्डारण गर्नेमाथि उपभोक्ता हित संरक्षण ऐनअनुसार कारबाही हुनेछ । 

किन ह्वात्तै बढ्यो प्याजको मूल्य ?

नेपाली बजार भारतको प्याजमा निर्भर छ । भारतले निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको भाउ महँगो भएको हो । भारतको आन्ध्र प्रदेश, कर्नाटक, दक्षिण भारतलगायतका ठाउँमा ठूलो पानी परेपछि उत्पादन घटेको र उत्पादित प्याज पनि गलेर नष्ट भएको छ । धेरै प्याज नोक्सान हुँदा भारतमै यसको मूल्य बढेको छ । प्याजको मूल्य एकाएक बढ्न थालेपछि भारतले आफ्नो बजारलाई नियन्त्रणमा राख्न निर्यातमा रोक लगाएको हो ।

भारतले निर्यात रोक्ने बित्तिकै नेपालमा मौज्दात रहेको प्याजको मूल्य व्यवसायीले बढाउँदा भाउ महँगो भएको हो । नेपालमा प्याजको कुल मागमध्ये झण्डै ९८ प्रतिशत भारतबाटै आयात हुने कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठले बताउनुभयो । 

नेपालमा पाँच लाख मेट्रिक टन प्याजको माग भए पनि स्वदेशमा एक लाख ४८ हजार मेट्रिक टन मात्रै उत्पादन हुन्छ । प्याजको बाँकी माग आयातले धानेको उहाँको भनाइ छ ।

भारतकै प्याजमा भर पर्दा नेपालमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने बित्तिकै भाउ बढ्ने गरेको छ । कालीमाटी फलफुल तथा तरकारी बजारका व्यावसायी भगवानचन्द्र उप्रेतीका अनुसार कालीमाटी बजारमा नेपालको प्याज चैत र वैशाख महिनामा मात्रै आइपुग्छ । 
भारतको प्याजसँगै नेपालको प्याज पनि बजारमा आइपुगेको बेला भाउ केही सस्तो हुने तर भारतले निर्यातमा रोक लगाउने बित्तिकै कम आपूर्ति हुँदा भाउ महँगाे हुने गरेको उहाँले बताउनुभयो ।

अर्का व्यवसायी विमल बस्नेतका अनुसार अहिले भारतबाट प्याज ल्याउन नसक्दा भाउ बढेको हो । नेपालमा प्याजको उत्पादन बढाउन सके मात्रै यो समस्या हट्ने उहाँको भनाइ छ ।    

अन्तिम अपडेट: फागुन ३०, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया