सात महिनापछि खुल्यो आन्तरिक उडान,  यात्रुले पालना गर्नुपर्छ यस्ता नियम

 असोज ५, २०७७ सोमबार ६:१०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बन्द भएको सात महिनापछि आजदेखि आन्तरिक उडान सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् ।
खासमा सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज उडाउन पाउने निर्णय गरेको थियो ।

तर कुल उडान क्षमताको २५ प्रतिशत मात्रै उडान गर्नुपर्ने प्रावधानको साथमा कुल सिटको आधा क्षमतामा मात्रै यात्रु बोक्ने पाइने निर्णय थपिएपछि वायुसेवा सञ्चालक संघले जहाज नउडाउने निर्णय गरेका थिए । उनीहरुले सुरक्षाका पूर्ण मापदण्ड पालना गर्ने/गराउने तर सबै सिट भरेर उडान गर्न  पाउने माग गरेका थिए ।

वायुसेवा सञ्चालकको माग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदबाट पारित गराइसकेको छ । आजदेखि नौ दिनसम्म कुल उडानको २५ देखि ३० प्रतिशतसम्म जहाज उड्नेछन् तर पूर्ण सिट क्षमतामै जहाज उड्नेछन् ।

विमानस्थल, जहाजका कर्मचारी र यात्रुले पालना गर्नुपर्नेछ यी नियम

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।
चैत ९ गतेदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडान सुरु गरेको उनीहरुको दाबी छ ।

अहिले पनि विदेशीहरु नेपालबाट गइरहेको र उद्धार उडानमार्फत नेपाली आइरहेकाले विमानस्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नै भएका छन् । आजदेखि थप कडाइ भएको छ । मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ ।

७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले आफुमा कोरोना नभएको स्वघोषणासहित सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ ।

विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा कोरिएको छ । आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ–ठाउँमा स्यानिटाइजर राखिएको छ । प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बसलाई हरेक पल्ट नि–सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि–सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र बिमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।

आन्तरिक जहाजभित्र खाना र खाजा निषेध गरिएको छ । जहाजको शौचालय पनि बन्द हुनेछ । कुकुर र बिरालो बोक्न पाइने छैन । समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।

कति समयअघि विमानस्थल पुग्ने त ? 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग समन्वय गरेर बाह्य उडानतर्फका यात्रु ४ घन्टाअघि र आन्तरिक उडानतर्फका यात्रु दुई घन्टाअघि नै विमानस्थल पुगिसक्नुपर्ने नियम बनाएको थियो । तर सबै यात्रुलाई दुई घन्टाअघि नै विमानस्थल बोलाउनु अव्यवहारिक हुने भन्दै अहिले यात्रुलाई कति समयअघि विमानस्थल पुग्ने भनेर विमान कम्पनीले नै जानकारी दिनुपर्ने जनाएको छ । 

‘हाम्रो उदेश्य भीडभाड नहोस् भन्ने हो, उदाहरणको लागि बिहान ८ बजेअघि अरु उडान छैनन् भने यात्रुलाई किन दुई घन्टा अघि बोलाउने ? यात्रुको चाप नहुँदा ४० मिनेटअघि नै बोलाउँदा हुन्छ । त्यसैले यात्रुको चाप र उडान हेरेर टिकट लिएकाहरुलाई एअरलाइन्सले नै जानकारी दिनुपर्छ भनेका छौँ’ त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले भन्नुभयो । प्रवक्ता कर्णका अनुसार अब कति बजे विमानस्थल पुग्ने भन्ने जानकारी हवाइ कम्पनीले नै दिनेछन् । 

स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्ड पालना गरेका छौं - वायुसेवा सञ्चालक संघ

आन्तरिक उडान गर्ने बिमान कम्पनीहरुको संस्था वायुसेवा सञ्चालक संघले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गरेर उडान सुरु गरेको जनाएका छन् । संघका प्रवक्ता योगराज कँडेलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ, स्वास्थ्य मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका निकायबाट जारी भएका सबै मापदण्ड पालना गरेर उडान सुरु गरेको बताउनुभयो । 

‘हाम्रो तर्फबाट पूरै तयारी भएको छ, स्वास्थ्य सुरक्षामा कुनै पनि प्रकारको कमी हुन दिएका छैनौं, तर यसमा यात्रुले पनि सहयोग गरिदिनुपर्छ, यात्रु स्वयंले पनि सरकारले तोकेका मापदण्डको पूर्ण पालना गरिदिएमा हामीलाई सहज हुन्छ’ कँडेलले भन्नुभयो । 

श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पनि सरकारले भनेका सबै मापदण्ड पूरा गरेको बताउनुभयो । ‘हामी त  पूर्ण रुपमा तयार छौँ, प्राधिकरणले भनेका सबै मापदण्ड पूरा गरेका छौँ, तर हामीले गरेर मात्रै हुँदैन, आफूलाई शङ्का लागेका व्यक्ति जहाजमा गइदिन भएन, स्वःघोषणा गरिदिनुपर्छ, कोरोनाबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने भावना सबैमा हुनुपर्यो’ उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया