भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने, केही राज्य भने असहमत

 असोज ५, २०७७ सोमबार ७:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने भएका छन् ।

आजदेखि मध्यप्रदेश, जम्मु काश्मीर, राजस्थान तथा हरियाणामा स्कुल खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्  । यी राज्यमा काेराेना भाइरसलाई लिएर जारी गरेको निर्देशिकाको आधारमा स्कूल खोल्ने निर्णय गरिएको हो । कतिपय राज्यले भने अझै स्कुल खोल्नका लागि तयार नभएको बताएका छन् ।

उनीहरुले कोरोनाका जोखिमकाबीच बालबालिकालाई स्कुल पठाउन नहुने बताएका हुन् ।  बिहार राज्यमा स्कुल खोल्ने/नखोल्नेबारे भोलि मात्रै निर्णय हुने भएको छ । आजदेखि मध्येप्रदेशका धेरैजसो सरकारी तथा निजी स्कुल सञ्चालनमा आउने छन् । स्कुल सञ्चालनका लागि केही नियम भने लागू गरिएको छ ।

विद्यार्थी, शिक्षक तथा कर्मचारीले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, स्कुलमा स्यानिटाइजर उपलब्ध हुनुपर्ने, एक पटक विद्यार्थी स्कुल भित्र छिरेपछि छुट्टि भएपछि मात्रै बाहिर जान पाउने जस्ता नियम लागू हुने भएको छ । भारतमा कोरोनाका कारण ५४ लाख ८५ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । तीमध्ये ४३ लाख ९२ हजार ६ सय निको भएका छन् ।

कोरोनाबाट सङ्क्रमित देशको दोस्रो सूचीमा रहेको भारतमा अहिलेसम्म ८७ हजार ९ सय ९ जनाको ज्यान गएको वल्ड्रोमिटरले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया