शनिबारदेखि पानी कम पर्ने, आज र भोलि केही ठाउँमा निकै ठूलो पानी पर्ने

 असोज ८, २०७७ बिहिबार ८:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज र भोलि धेरै ठाउँमा ठूलो पानी पर्ने र एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । 

भारतको मध्य प्रदेशको पूर्वी क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्र उत्तर पूर्व सरिरहेकाले नेपालका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसकै प्रभावले अस्ति बेलुकीदेखि नै झरी परेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज र भोलि देशभरिकै मौसम एकैछिन खुले पनि फेरि पानी परिहाल्नेछ । अहिले पनि प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई ठाउँमा निकै ठूलो पानी परिरहेको छ भने अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको उहाँले बताउनुभयो । 

आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई ठाउँमा निकै ठूलो पानी पर्ने तथा सबै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मानन्धरको पूर्वानुमान छ । पर्सि दिउँसोसम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने र केही ठाउँमा निकै ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम छ । 

पर्सि शनिबार बेलुकीदेखि बिस्तारै पानी पर्ने क्रम कम हुँदै जाने पनि उहाँले बताउनुभयो । तर हल्कादेखि सामान्य वर्षा भने अझै केही दिन हुने संभावना छ । शनिबार पनि प्रदेश १ र २ का थोरै ठाउँमा भने ठूलो पानी पर्ने संभावना रहेको मौसमविद् मानन्धरको भनाइ छ । यो वर्ष मनसुन सकिने बेलामा झन् सक्रिय भएको छ । सामान्यतया: सेप्टेम्बर २३ मा नेपालबाट मनसुन बाहिरिनुपर्ने भए पनि केही वर्षयता ढिला प्रवेश गरी ढिलै बाहिरिने गरेको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया