कोरोना खाेप सन् २०२१ को सुरुमा आउनेछ : चिनियाँ कम्पनी

 असोज ९, २०७७ शुक्रबार १५:१२:११ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्त राज्य अमेरिकासहित विश्वका विभिन्न देशमा वितरण गरिने जनाएको छ । 

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्त राज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) समक्ष आवेदन दिइने बताउनुभयो । यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिनुभयो ।

'सुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो तर जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन गर्‍याैँ । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौँ', यीनले भन्नुभयो । उहाँले चिनियाँ शहरमा भाइरस पहिलो पटक देखा परेको पनि स्पष्ट गर्नुभयो । 

'हाम्रो लक्ष्य अमेरिका, युरोपेली सङ्घ र अन्य देशलगायत विश्वलाई खोप प्रदान गर्नु हो', यीनले भन्नुभयो । 

अमेरिका, युरोपेली युनियन, जापान र अस्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन् । तर यीन वेडोङ्को भनाइमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ । 

चीनमा सरकारी स्वामित्वको समेत चार वटा कम्पनीले कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेका छन्, जसमा सिनोभ्याक पनि एउटा हो । सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ । 

यीनले भन्नुभयो, 'कोरोनाभ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इण्डाेनेसियाका २४ हजार व्यक्ति सहभागी छन् । यसबाहेक बङ्गलादेश र सम्भवतः चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ ।' सिनोभ्याकले धेरै सङ्क्रमित भएका, ठूलो जनसङ्ख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका देशहरुबाट छनाैट गरेको जनाएको छ । 

उहाँ बेइजिङको दक्षिणमा रहेको सिनोभ्याक प्लान्टको भ्रमणका क्रममा पत्रकारहरूसँग बोल्दै हुनुहुन्थ्यो । यो प्लान्टमा एक वर्षमा पाँच लाख खोप उत्पादन हुन सक्दछ । जैव–सुरक्षित सुविधासहितको यस प्लान्टमा खोपको डोज साना बोतलमा भर्ने र तिनीहरूलाई बाकसमा राख्ने काम जारी थियो । कम्पनीले आउँदाे वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । 

सिनोभ्याकले जोखिममा रहेका बच्चा र वृद्धवृद्धाका लागि कोरोनाभ्याकको सानो खुराक पनि परीक्षण गर्न थालेको छ ।

यीनले कम्पनीले कोरोनाभ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताउनुभयो । 

खोपको स्वीकृत मापदण्ड बमोजिम कोरोनाभ्याक खोपको अझै तेस्रो चरणको क्लिनिकल परीक्षण सम्पन्न नभए पनि सिनोभ्याकले चीनमा हजारौँ मानिसलाई आपत्कालीन प्रयोग प्रावधान अन्तर्गत सम्मिलित गरिसकेको छ ।

यीनले आफूसहित अनुसन्धाताहरुले एक महिनाअघि प्रायोगिक खोप लिइसकेको बताउनुभयो । 'मानव परीक्षणको पहिलो र दोस्रो चरणमा कुनै गम्भीर प्रतिकूल प्रभाव देखाएनन्', उहाँले भन्नुभयो । 

'यो हाम्रो कम्पनीको परम्परा हो', यीनले भन्नुभयो । आफूले हेपाटाइटिस खोप विकासको क्रममा यस्तै गरेको पनि जानकारी दिनुभयो । 

यस वर्षको सुरुमा चीनले जोखिमयुक्त जनसङ्ख्याका लागि खोप लगाउन अनुमति दिएको थियो, जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए । 

सिनोभ्याकले सिनोफर्म र क्यानसिनोसँगै गएकाे जुनमा अनुमति प्राप्त गरेको थियो । बेइजिङ महानगरलाई दशौँ हजार कोरोनाभ्याकको डोज उपलब्ध गराइएको पनि यीनले बताउनुभयो । 

सिनोभ्याकमा कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई कोरोनाभ्याक दिइएको कम्पनीले जनाएको छ । 'हामी विश्वस्त छौँ कि कोभिड–१९ भ्याक्सिनसम्बन्धी हाम्रो अनुसन्धानले अमेरिका र युरोपेली देशका मापदण्ड पूरा गर्न सक्षम हुनेछ', यीन वेडोङ्ले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया