यूएईले ७ लाख ५० हजार दिर्हाम जरिवाना माफ गरिदिएपछि २० वर्षपछि घर फर्कंदै छन् थानाबेल

 असोज ९, २०७७ शुक्रबार १६:४९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतको तामिलनाडुका थानाबेल मथिजागागन बीस वर्षपछि घर फर्किन लाग्नुभएको छ । खुसीको कुरा त उहाँले ‘ओभरस्टे’ हुँदा लागेको ७ लाख ५० हजार दिर्हामभन्दा बढी जरिवाना माफ पाउनुभएको छ । यो उहाँको लागि सबैभन्दा खुशीको कुरा हो । तर योभन्दा पनि धेरै  खुसी थानाबेलका लागि आफ्नी छोरीलाई २० वर्षपछि भेट्न पाउनु हो । 

थानाबेल यूएई जादा उहाँकी कान्छी छोरी गर्भमा थिइन् । थानाबेल यूएई त जानुभयो तर फर्कन पाउनुभएन । त्यसको एक मात्र कारण बुवाको नाम नमिल्नु हो ।

आफ्ना प्रमाणपत्रमा बुवाको नाम नमिलेका कारण आफूले आम आममाफीमा परेर घर फर्किन नपाएको उहाँले बताउनुभएको छ । 

आफ्नो पासपोर्टमा भएको बुवाको नाम र बास्तविक बुवाको नागरिकताको नाममा ‘स्पेलिङ एरर’ का कारण आफूले २० वर्ष यूएईमै बिताउनु परेको उहाँले बताउनुभएको छ । 

५६ वर्ष लाग्नुभएका थानाबेलले कोरोना महामारी सुरु भएपछि घर फर्कन हारगुहार गर्नुभयो । उहाँलाई २० वर्षपछि यूएईमा दुई जना सामाजिक कार्यकर्ताको मिल्यो । जसले उहाँको घरफिर्तीको बाटो सहज बनाइदिए ।

उहाँको पासपोर्टमा लागेको रोजगार भिसा प्रवेश अनुमतिको स्ट्याम्पमा उल्लेख भएअनुसार थानाबेल सन् २००० मा यूएई पुग्नुभएको थियो । थानाबेलसँग पासपोर्टको फोटोकपीको अन्तिम पाना मात्र थियो । पासपोर्टमा रेजिडेन्स भिसाको स्ट्याम्प लगाउने भन्दै आफ्नो सक्कली पासपोर्ट एजेण्टले लगेको थानाबेलले बताउनुभयो । 

‘म मेडिकल टेस्ट दिएर रोजगार भिसाको लागि पर्खेको थिएँ तर एजेण्टले पासपोर्ट दिएन, पछि त त्यो कम्पनी नै बन्द भएछ’, उहाँले भन्नुभयो, ‘त्यसपछि एजेण्ट मेरो सम्पर्कमा नै आएन ।’

त्यसपछि थानाबेल ८ महिनासम्म काम नगरेर आफ्नो गाउँका मानिसहरुसँग आवुधाबीमै बस्नुभयो । त्यसपछि उहाँ सारजहाँ जानुभयो र काम गर्न थाल्नुभयो । आफ्नो परिवारलाई पाल्नको लागि आफूले गैरकानुनी रुपमा कम्पनी तथा घरहरुमा पार्टटाइम काम गर्ने गरेको उहाँ बताउनुहुन्छ ।

थानाबेलले धेरै पटक घर फर्किने प्रयास गर्नुभयो । तर सधैं असफल हुनुभयो । यूएई सरकारले जारी गरेको आममाफीमार्फत घर फर्किन पाइने भन्ने भएपछि उहाँले एजेण्टलाई १० हजार दिर्हामसम्म पनि दिनुभयो । तर एजेण्टले पैसा खाइदिए । घर पठाउन सकेनन् ।

घर फर्किनको लागि थानाबेलले भारतीय दूतावासमा आपतकालीन प्रमाणपत्र (ईसी)को लागि निवदेन पनि दिनुभयो । वैध पासपोर्ट बिना घर फर्किन पाइने नपाइनेबारे आफूले स्वतन्त्र रुपमा प्रमाणित गर्न नसकेको गल्फ न्युजले जनाएको छ ।

तर पनि थानाबेललाई उद्धार गरेर स्वदेश फर्काउने प्रयास गरिरहेका एके महादेवन र चन्द्रप्रकाश पीका अनुसार थानाबेलले आवुधाबीमा रहेको भारतीय दूतावासबाट ईसी पाइसक्नुभएको छ ।

थानाबेलसँग भेटेपछि बल्ल आफूले उहाँ स्वदेश फर्किन चाहनुको कारण थाहा पाएको महादेवनले बताउनुभएको छ ।

'उनी कामबिहीन अवस्थामा थिए, उनको कुनै पनि आपराधिक काम गरेको रेकर्ड पनि थिएन र उनी बीस वर्षदेखि आफ्नो परिवारबाट टाढा बसेका थिए’, महादेवनले थानाबेललाई आफ्नो घरमा राखेर स्वदेश फिर्तीको लागि प्रयास गरेको कारण बताउँदै भन्नुभयो, ‘उनी आफ्नो बुवाको निधनमा पनि घर जान पाएका थिएनन् र आफ्नी कान्छी छोरीलाई कहिल्यै देख्न पाएका थिएनन् ।’

महादेवनका अनुसार थानाबेल आफ्नी छोरीसँग भेट हुने कुराले निकै खुसी भएका छन् । ‘थानाबेल चाँडै स्वदेश फर्किनेछन् र पहिलो भेट आफ्नी छोरीसँग गर्नेछन्’, महादेवनले भन्नुभयो, ‘उनीसँग स्मार्ट फोन पनि थिएन र कहिल्यै भिडियो कल पनि गर्न पाएका थिएनन्, मेरो फोनबाट आफ्नी छोरीसँग भिडियो कल गर्दा उनको खुसीको सीमा नै थिएन, त्यो निकै भावुक क्षण थियो ।’

आफूलाई घर फर्किन सहयोग गरिदिएकोमा थानाबेल सबैप्रति आभार प्रकट गर्दै भन्नुहुन्छ, ‘मलाई स्वदेश फर्किन सहयोग गरिदिने सबैजना र मलाई जरिवाना माफ गरिदने यूएई सरकारप्रति म सधैं ऋणी हुनेछु ।’

(गल्फन्युजबाट साभार ।)
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया