बर्दियामा एसपी र मेयरबीच ‘दोहोरी’, ‘भैँसी बेच्न पनि प्रहरीलाई सोध्नुपर्ने ?’

 असोज १३, २०७७ मंगलबार १७:४१:२६ | भावुक योगी
unn.prixa.net

बर्दिया– जिल्ला प्रशासन कार्यालय बर्दियामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा सतर्कताको विषयमा आइतबार सरोकारवालाको बैठक थियो । बैठक कोरोना रोकथामको लागि गर्नुपर्ने महत्त्वपूर्ण काममा केन्द्रित हुनुपर्ने थियो । तर केही बेरपछि बैठक मोडियो मेयर र एसपीको चर्काचर्कीतर्फ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड बनाउन चलिरहेको बैठककै बीचमा म गुनासो राख्छु भन्दै गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले कुरा सुरु गर्नुभयो । 

‘बर्दियाको गुलरिया नगरपालिकाका किसानले भेडाबाख्रा, भैँसी किनबेच गर्न पनि पाउँदैनन्, प्रहरीले किसानलाई मात्रै किन दुःख दिन थालेको छ ? गुलरियामा मात्रै प्रहरीको टारगेट किन ? सक्नुहुन्छ भने भैँसी भारतको हो कि नेपालको हो भनेर छुट्याउन डीएनए परीक्षण गराउनुहोस्’, मेयर मुक्तिनाथ यादवले भन्नुभयोे । 

गुलरियाका मेयरको भनाइसँग सहमति जनाउँदै मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले पनि कुरा थप्नुभयो । 

‘भारतसँग सीमा जोडिएको मधुवन नगरपालिकाका किसानले आफूले पालेको भैँसी बेच्दा पनि प्रहरीले दुःख दियो, कहाँबाट कसरी ल्याएको हो नबुझिकनै भैँसी र मान्छे नियन्त्रणमा लिएर भन्सारमा लग्यो, यसरी दुःख दिने काम बन्द गरियोस् ।’ 

कुरा सकिएकै थिएन, बर्दियाका प्रहरी प्रमुख एसपी केदार रजौरे मेयरको कुरा खण्डन गर्न कस्सिनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रहरीको गुनासो कसले पो सुन्छ र ? हाम्रा पनि गुनासा धेरै छन्, तस्करी रोक्न जनप्रतिनिधिको सहयोग छैन, बर्दियामा पढे लेखेका कुशल अफिसर प्रमुख भएर आउन पनि चाहँदैनन् अनि जनप्रतिनिधिलाई विश्वास गर्ने वातावरण पनि छैन । प्रहरी तस्करी गराउन बर्दिया आउने हो त ? होइन नि, रोक्ने हो । हाेइन भने बर्दियामा सरुवा माग्नै भएन । हाम्रो पनि त समस्या छ ।’ 

एसपीको कुरा सकिएकै थिएन मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्री बोलिहाल्नुभयो । ‘भनेपछि अब किसानले आफूले पालेका भेडा, बाख्रा, भैँसी बेच्दा पनि प्रहरीको रोहबरमा बेच्नु पर्ने भयो हैन ? साना किसानलाई दुःख दिने, ठूला तस्करलाई तपाईँहरुको मिलोमतोमा उम्कन दिने, याद राख्नुस्, तस्करसँग प्रहरी मिलेका कारण तस्करी बढेको छ । जनप्रतिनिधिका कारण तस्कर बढ्यो कसरी भन्नुहुन्छ ? पढेलेखेका प्रहरी बर्दिया आउन चाहन्नन् भने तपाईँ नि ?’

एसपीले तस्करी रोक्न जनप्रतिनिधिको साथ नपाएको भनाइपछि जङ्गिएका मधुवनका मेयर यत्तिमै रोकिनुभएन ।

उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले सहयोग गरेनन् भन्नुभयो, किन गरेका छैनौँ सहयोग ? शान्ति सुरक्षा कायम राख्न सहयोग पुगोस् भनेर गाडीमा तेल, गाडी मर्मत खर्च के–के सहयोग गरेका छैनौँ ? कि तस्करलाई छुटाउनु पर्‍याे भन्दै आयौँ ? सीमावर्ती क्षेत्रमा बसोबास गरेकालाई सास्ती नहोस् भनेर नेपाल प्रहरी, सशस्त्र प्रहरी छ तर प्रहरीको यो हर्कत ठिक भएन, कृपया सच्चिनुहोस् ।’

बैठकमा चर्काचर्की बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी र जिल्ला समन्वय समितिका प्रमुख शङ्कर चौधरीले विषयवस्तुमा केन्द्रित हुन र यो विषय अर्को बैठकमा छलफल गर्न आग्रह गर्नुभयो । मेयर र एसपीकाे भनाभनकै बीच केही निर्णय गरेर बैठक सकियो । 

यस्तो थियो विवादको मूल कारण

भारतसँग जोडिएको मधुवन नगरपालिका वडा नम्बर ७ का एक किसानले दुई दिनअघि गुलरिया नगरपालिका वडा नम्बर ७ का किसानलाई ८५ हजार रुपैयाँमा दुई वटा भैँसी बेचेका थिए ।

८५ हजार रुपैयाँमा किनेका भैँसी लिएर घर जाँदै गर्दा ती किसानलाई प्रहरीले पक्राउ गर्‍याे । तस्करी गरेर भारतीय भैँसी ल्याएको भन्दै प्रहरीले भन्सार कार्यालयमा बुझायो । भन्सारले भैँसीको लिलाम प्रक्रिया अघि बढाइसकेको थियो ।

भैँसी किन्ने र बेच्ने दुवै किसान गुहार माग्दै प्रहरीसम्म पुगे तर प्रहरीले तस्करी गरेका भैँसीको बारेमा भन्सारले नै निर्णय गर्ने भनेर गुनासो सुन्नै मानेन । प्रहरीले गुनासो नसुनेपछि दुवै किसानले गुलरिया र मधुवन नगरपालिकाका मेयर र जिल्ला प्रशासन कार्यालयमा पनि जानकारी गराए ।

मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले दुवै किसानलाई प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीसमक्ष ल्याउनुभयो, उनीहरुसँग सोधपुछ भयो । प्रमुख जिल्ला अधिकारी र मेयरको पहलमा किसानले भैँसी पाए । लामो झन्झटपछि भैँसीलाई आफ्नो गोठ भित्र्याउन पाएका किसान खुसी भए । 

भैँसी किनबेचमा प्रहरीले गरेको व्यवहारबारे जिल्लामा कानेखुसी भइरहेको थियो । औपचारिक रुपमा यो विषय कोरोना रोकथामको लागि मापदण्ड बनाउन बसेको बैठकमा पनि उठ्यो । 

बैठकपछि मधुवन नगरपालिकामा मेयर गणेशबहादुर क्षेत्रीले भन्नुभयो, ‘प्रहरी प्रमुखले जिल्लाका सबैका कुरा सुन्नुपर्छ, किसानका व्यावहारिक समस्या बुझ्नुपर्छ । यसअघिका एसपी हुँदा जिल्लामा शान्ति सुरक्षा राम्रै थियो, सबैसँग सम्बन्ध पनि राम्रो थियो, तर अहिलेका एसपी साबले गुनासो नसुन्ने र हेपाइको व्यवहार गरिरहनुभएको छ ।’

आइतबारको बैठकमा मेयरसँग भएको चर्काचर्कीबारे बुझ्न खोज्दा प्रहरी प्रमुख रजौरेले आफूले त्यस्तो भन्न नखोजेको प्रतिक्रिया दिनुभएको छ ।

अरु पनि छन् यस्ता घटना

पूर्व–पश्चिम राजमार्गमा पर्ने बर्दियाको बाँसगढीको मान खोलामा केही हप्ताअघि प्रहरीले ट्रक नियन्त्रणमा लियाे । विद्यालयका बेन्च र फलामका सामग्री लिएर ट्रक ठाकुरद्वारा आउँदै थियो । एसी र पङ्खा बोकेको शङ्कामा बर्दियाका प्रहरी प्रमुखको आदेशमा ट्रक १८ घण्टासम्म मान खोलामै रोकियो । जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीलगायतको आग्रहमा दुई दिनपछि मात्रै प्रहरीले ट्रक छाड्यो । 

यस्तै, लकडाउनका बेला उपचारका लागि पास लिएर काठमाण्डौ गएको जीप बर्दिया फर्कँदै थियो । बिरामी र आफन्त बोकेर फर्किएको जीपलाई बर्दिया प्रवेश गर्ने क्रममा एसपीको आदेश भन्दै प्रहरीले रोक्यो । भनसुन गरेपछि तीन घण्टापछि मात्रै बल्ल जीप छुट्यो । उपचार गराएका बिरामी घर जान पाए ।

केही दिनअघि नै कोहलपुरबाट उपचार गरेर फर्किएका कैयाैँ नागरिकलाई पनि प्रहरीले रोक्यो । उपचार कार्ड र औषधि देखाउँदा पनि एसपीको आदेश भन्दै प्रहरीले उनीहरुलाई छाडेन । प्रमुख जिल्ला अधिकारीसमक्ष दुःख बिसाउँदा पनि प्रहरीको फन्दामा परेका उनीहरु जरिबाना तिरेर मात्रै घर जान पाए ।  

घटना अर्को पनि छ । तीन हप्ताअघि गुलरिया र बढैया तालका दुई जना किसानले आफ्नो खेतमा हाल्न एक बोरा मल साइकल र मोटरसाइकलमा ल्याउँदै थिए, साइकल र मोटरसाइकल सहितको मल प्रहरीले जफत गर्‍याे । आफूहरु किसान भएको र आफ्नै खेतमा हाल्नको लागि मल किनेको बताउँदा पनि प्रहरीले छाडेन । तस्कर नभइ किसान हुन् भन्ने प्रमाणित भएपछि तीन दिनपछि मात्रै उनीहरुलाई प्रहरीले छाड्यो ।

बर्दियामा शान्ति सुरक्षाको लागि कडाइ गर्ने नाममा प्रहरीले मनपरी गरेको र सर्वसाधारणलाई दुःख दिएको भन्दै गुनासो बढेको छ । मेयरसँगको चर्काचर्कीपछि एसपी रजौरे अझै कडा बन्ने हुन् या सर्वसाधारणका गुनासा पनि सुन्नेछन् भन्ने विषयमा बर्दियाका चोक चौतारामा कानेखुसी बढ्दै गएको छ ।  

अन्तिम अपडेट: चैत २, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

3 Comments

  • dhama paudyal

    Sept. 30, 2020, 1:45 p.m.

    दशै नजिकदै गर्दा काठमान्न्डौ बाहिर का प्रहरी कार्यालयमा यस्ता सयौ घटना घट्छन । खसी ब्यापारिबाट खसी जबर्जस्ती प्रहरिले लिन्छन । यस्ता घटना हरेक बर्ष आउछन । कतिपय प्रहरी प्रमुखले खुलेर नै भन्ने गरेका छन्," हामी काठमान्डौमा प्रहरी हाकिमहरुको घरमा खसी पुर्याउनु पर्छ त्यसैले हामी त्यसरी लिन्छौ ।"

  •  0 Reply
  • Vijay Verma

    Sept. 30, 2020, 11:41 a.m.

    मेयरले भनेको कुरा शतप्रतिशत जायज हो /

  •  0 Reply
  • ईमुु के सि

    Sept. 29, 2020, 9:39 p.m.

    प्रहरीकाे दादागिरि

  •  0 Reply

तपाईको प्रतिक्रिया