चित्तललाई थापेकाे पासाेमा बाघ मरेपछि बर्दिया निकुञ्जमा सुरक्षा चुनौती बढ्यो

 असोज १४, २०७७ बुधबार २१:१०:५४ | भावुक योगी
unn.prixa.net

बर्दिया – कोरोना भाइरसका कारण देशभरका पर्यटकीय क्षेत्र सुनसान छन् । कोरोनाकै कारण यति बेला बर्दिया निकुञ्जभित्र पनि पर्यटकीय गतिविधि ठप्प छ । बर्दिया निकुञ्ज क्षेत्र आसपास सुनसान छ । यही मौका छोपेर बर्दिया निकुञ्जमा वन्यजन्तु तस्करहरु सलबलाउन थालेका छन् ।

एक हप्ताअघि बर्दिया निकुञ्जभित्र तस्करले थापेको पासोमा पाटे बाघ परेपछि निकुञ्जमा सुरक्षा चुनाैती बढेकाे हाे । निकुञ्जभित्रको लमकोहली फाँटा क्षेत्रमा तस्करले चित्तलका लागि थापेको पासोमा पर्दा अर्ध वयस्क पाटे बाघ मरेकाे अवस्थामा फेला परेको थियो । पासोमा परेको बाघ फेला पर्दा सडिसकेको थियो ।

निकुञ्जका अनुसार मृत बाघ फेला परेको ठाउँ निकुञ्जको मुख्यालयबाट झण्डै १० किलोमिटर टाढा पर्छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको सुरक्षा पोस्ट झण्डै तीन किलोमिटरको दुरीमा पर्छ । बाघ पासोमा परेर सड्ने अवस्थासम्म पुग्दा निकुञ्ज प्रशासन र सेनाले थाहा नै पाएन । जब थाहा पाए तबसम्म बाघ सडेर गन्हाउने भइसकेको थियो । 

पासोमा परेर पाटे बाघ मरेपछि निकुञ्ज प्रशासन ठूलो क्षति भएको भन्दै चित्त दुखाइ गरिरहेको छ । बाघलाई पासोमा पार्ने समूहकाे खोजी भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको सुरक्षार्थ निकुञ्जभित्र नेपाली सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोस्ट छन् । बाघलाई पासोमा पारेको घटनाले बर्दिया निकुञ्जभित्र तस्करहरुको चहलपहल बढेको तथ्य प्रष्ट भएको संरक्षणकर्मीहरु बताउँछन् ।

पासोमा परि बाघ मरेको घटनाले निकुञ्ज सुरक्षामा थप चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ । गएकाे चैतमा लकडाउन भएदेखि निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सतर्कता पनि बढाएको जनाएको छ । तस्करी रोक्न निकुञ्ज प्रशासनले अहिले सेना र निकुञ्जका कर्मचारी परिचालन गरी निकुञ्ज भित्र स्वीप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्र्यापिङ जस्ता कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।

कोरोनाका कारण कामका लागि बाहिर गएका व्यक्ति पनि घर आएका छन् । तिनीहरुमध्ये केही व्यक्ति नराम्रो गतिविधिमा लागेको निकुञ्जको आशङ्का छ । वन्यजन्तुको चोरी सिकारको आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको हुन सक्ने भएकाले त्यस्ता व्यक्तिहरुको निगरानी बढाएको निकुञ्जको भनाइ छ ।

देशभर लकडाउन सुरु भएयता वनका सामग्री र वन्यजन्तु तस्करीमा संलग्न झण्डै सात सय जनाभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको निकुञ्जले जनाएको छ । पक्राउ परेकामध्ये एक सय ५० भन्दा बढीलाई विभिन्न कसुरमा मुद्दा चलाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो ।

वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाएको र चोरी सिकार, निकुञ्ज छेउमा बनाइएका सिँचाइका संरचना र राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्नु वन्यजन्तु सुरक्षाका चुनौती रहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो । निकुञ्जभित्र अति संवेदनशील क्षेत्रमा क्यामेरा पनि जडान गरिएका छन् । निकुञ्जको क्षेत्रभित्र पर्ने राजमार्गमा पनि ठाउँ–ठाउँमा क्यामेरा जडान गरेर वन्यजन्तु र तस्करहरुको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ । 

वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोस्टबाट नियमित रुपमा पट्रोलिङ (गस्ती) र स्वीप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । लकडाउनको बेला समुदायस्तरको काम रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकांश कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको बताइएको छ । 

निकुञ्जमा पर्यटक छैनन् । जङ्गल सफारी पनि बन्द छ । निकुञ्ज सुनसान भएकाले वन्यजन्तुहरु अरु बेलाको तुलनामा बढी सक्रिय देखिन्छन् । यसैको मौका छोपेर तस्करहरु सलबलाउन थालेपछि सुरक्षामा पनि विशेष योजना बनाएर अघि बढेको निकुञ्जको भनाइ छ ।

‘वन र वन्यजन्तुको तस्करी रोक्न हामी निकै संवेदनशील भएर लागेको छौँ । वन्यजन्तु जोगाउने सुरक्षा चुनौती त छ, यसलाई रोक्न विशेष योजनाका साथ निकुञ्ज प्रशासन अघि बढेको छ’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया