यूएईमा ओभरस्टे बापतको जरिवानाबाट बच्न निःशुल्क भिसा नवीकरण गर्नुहोस्

 असोज १५, २०७७ बिहिबार १२:३६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ यूएईमा बसोबास गर्नुहुन्छ र मार्च १ पछि तपाईँको भिसाको अवधि सकिएको छ भने स्वदेश फर्कनुअघि आफ्नो भिसा नवीकरण गर्नुहोस् ।

कुनै समस्या बिना नै स्वदेश फर्कनका लागि आफनो भिसा नवीकरण गर्न अनुरोध गरिएको छ । गएको मार्च १ देखि जुलाई १२ सम्म भिसाको अवधि सकिएकाले अझै १० दिन अर्थात अक्टोबर १० सम्म बिना शुल्क भिसा र बसोबासको अनुमति नवीकरण गर्न सक्नेछन् ।

यूएईभरी रहेका आप्रवासी श्रमिक जसको भिसाको अवधि सकिएको छ, उनीहरुले यो दश दिनको अवधिमा आफ्नो भिसा नवीकरण गरेमा लाग्ने ओभरस्टे बापतको जरिवानाबाट बच्न सक्ने यूएईले जनाएको छ । यस्तै जुलाई १२ भन्दा पछि भिसाको अवधि सकिएकाले पनि अबको एक महिनाभित्र भिसा नवीकरण गर्न सक्नेछन् ।

यूएईले दिएको ग्रेस समय अनुसार अबको एक महिनाभित्र कुनै जरिवाना बिना नै जुलाई १२ पछि भिसाको अवधि सकिनेले नवीकरण गर्न सक्नेछन् । बिना शुल्क भिसा नवीकरण गरेमा स्वदेश फर्कंदा ओभरस्टे बापतको जरिवाना तिर्नु पर्ने छैन ।

मार्च १ अघिदेखि अबैधानिक रुपमा बसेकाको हकमा मार्च १ भन्दा अघि नै भिसाको अवधि सकिएकाहरुले भने कुनै जरिवाना बिनै नोभेम्बर १७ भित्र यूएई छाड्न सक्नेछन् । मार्च एकभन्दा अघि नै भिसा (भिजिट, टुरिष्ट लगायत)को अवधि सकिएकाले नोभेम्बर १७ भित्र यूएई छाड्न सक्ने यूएईले जनाएको छ ।

यूएईले ओभरस्टे बापतको जरिवानाबाट बच्न तोकिएको अवधिभित्रै स्वदेश फर्कने योजना बनाउन पनि अनुरोध गरेको खबर गल्फ न्युजले लेखेको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया