कालीकोटमा कोरोना रोकथाममै १७ करोड भन्दा बढी खर्च

 असोज १६, २०७७ शुक्रबार ११:५३:३ | मनिराज पाण्डे
unn.prixa.net

कालिकाेट – कालीकोटका पालिकाले ६ महिनामा कोरोना रोकथामका लागि भन्दै १७ करोड ५५ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।

यो खर्चमा संघीय सरकार र संघ संस्थाको स्रोतबाट खर्च गरेको रकम सामेल छैन । संघीय सरकार र संघ संस्थाबाट गएको रकम कुन प्रयोजनमा कति खर्च भयो भन्ने सम्बन्धमा भने विवरण संकलन भैरहेको छ । कालिकोटका ९ वटै पालिकाले कोरोना रोकथाममा गरेको खर्च विवरण पारदर्शी नभएको भन्दै आलोचना भएको छ ।

रास्कोट नगरपालिकाले सबै भन्दा धेरै रकम खर्च गरेकोे छ । नगरपालिकाले गएको वैशाखदेखि भदौ महिनासम्म ३ करोड ५३ लाख रुपैयाँ कोरोना रोकथाममा खर्च भएको जनाएको छ । क्वरेण्टीन व्यवस्थापन निर्देशिका बमोजिम नगरपालिकामा आइसोलेशन र नमूना क्वरेण्टीन  निर्माण गर्दा बढी खर्च भएको नगरपालिकाले जनाएको छ । क्वरेण्टीन  निर्माणमा मात्र एक करोड खर्च भएको नगरपालिकाले जनाएको छ ।

यस्तै तिलागुफा नगरपालिकाले २ करोड ९० लाख रुपैयाँ खर्च गरेको छ । तिलागुफाले सबैभन्दा धेरै राहत सामग्री खरिदको लागि खाद्यान्नमा १ करोड रुपैयाँ खर्च गरेको छ । सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिकाले २ करोड ८ लाख खर्च गरेको छ ।

सबै भन्दा कम पलाता गाउँपालिकाले ७५ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । पलाताले राहतमा पनि सबैभन्दा कम खर्च गरेको छ । यसैगरी शुभकालिका गाउँपालिकाले १ करोड ४७ लाख, शान्नित्रिवेणी गाउँपालिकाले १ करोड २५ लाख, पचालझना गाउँपालिकाले १ करोड २४ लाख, महाबै गाउँपालिकाले १ करोड ६३ लाख र नरहरीनाथ गाउँपालिकाले २ करोड ७० लाख रुपैयाँ खर्च गरेका छन् ।

क्वरेण्टीन व्यवस्थापन र खानामै एक करोड क्ववरेण्टीन  व्यवस्थापनका नाउँमा यहाँका स्थानीय तहले मनलाग्दी खर्च गरेको स्थानीयको आरोप छ । नरहरीनाथ गाउँपालिकाले जिल्ला बाहिरबाट उद्धार गरी ल्याएका नागरिकलाई महंगो होटलमा राखेर मनलाग्दी खर्च गरेका स्थानीय नागरिकले गुनासो गरेका छन् ।

नरहरीनाथ गाउँपालिकाले जिल्ला बाहिरबाट ल्याएका नागरिकलाई सदरमुकाम मान्मको होटलमा राख्ने  व्यवस्था गरेको थियो । होटलमा बसेका नागरिकहरुले खाएको खानामा १ करोड रुपैयाँ खर्च भएको बताइएको छ । नौ वटै पालिकाले आठ हजार परिवारलाई राहत उपलब्ध गराएको बताएका छन् । सबैभन्दा बढी रास्कोट नगरपालिकाले १९ सय भन्दा बढी घरधुरीमा राहत वितरण गरेको बताएको छ । तिलागुफा नगरपालिकाले १५ सय घरधुरी, खाँडाचक्र नगरपालिकाले १४ सय घरधुरी, र सबैभन्दा कम पचालझरना गाउँपालिकाले २ सय ६५ घरधुरीलाई गाउँमै उत्पादित मकै राहत वितरण गरेको जनाएको छ ।

कालीकोटमा अहिलेसम्म १ सय ९ जनामा कोरोना पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया