भिडभाड कम गर्न यातायात कार्यालयमा टोकन प्रणाली, लाइसेन्सकाे आवेदन र परीक्षा दशैँ तिहारपछि

 असोज १६, २०७७ शुक्रबार २०:४५:५२ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको जोखिम रहेकाले यातायात व्यवस्था कार्यालयहरूमा भिडलाई व्यवस्थित गर्न टोकन प्रणालीमार्फत काम भइरहेको छ । 

सरकारले असोज १ गतेदेखि निषेधाज्ञा खुकुलो गरेपछि सबै सरकारी कार्यालय जस्तै यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरु पनि खुलेपछि यी कार्यालयमा भिडभाड हुन थालेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिनुभयो । लकडाउन र निषेधाज्ञाका कारण यातायातको क्षेत्रमा आवश्यक काम गर्न नपाएका सेवाग्राही कामका लागि यातायात कार्यालय जान थालेको र भिड बढेकाले टोकन प्रणालीलाई प्राथमिकता दिएर काम गरिरहेको उहाँले बताउनुभयो ।

यातायात कार्यालयहरुमा अहिले  परीक्षा पास गरिसकेकाको नयाँ लाइसेन्स लिने, पुराना लाइसेन्स नवीकरण गर्ने, कर तिर्ने, बिलबुक रिन्यु गर्ने, नामसारीलगायतका काम भइरहेको छ । 

सरकारले भौतिक दुरी कायम गर्दै सेवा प्रदान गर्न, मास्क र स्यानिटाइजर प्रयोग गर्न भनेकाले कार्यालयका सबै ठाँउमा भौतिक दुरी कायम गर्न विभागले कर्मचारीलाई निर्देशन दिएको छ । यस्तै स्वास्थ्य सुरक्षालाई ध्यान दिएर कार्यालयमा आउन सेवाग्राहीलाई पनि सचेत गराइएको प्रवक्ता डा. भुसालले बताउनुभयो ।

नयाँ लाइसेन्स दशैँ तिहारपछि 

यातायात व्यवस्था कार्यालयहरुमा नयाँ लाइसेन्सका लागि आवेदन दिने, लिखित परीक्षा र प्रयोगात्मक परीक्षा लिने बाहेक अरु सबै काम भइरहेको छ ।

तत्काल नयाँ आवेदन खुला गर्दा सेवाग्राहीको भिड बढेर र कोरोना सङ्क्रमण फैलन सक्ने जोखिम रहेकाले अहिले याे प्रक्रिया स्थगित नै राखेको यातायात व्यवस्था विभागले जनाएको छ । लकडाउन हुनुभन्दा अघिदेखि नै नयाँ आवेदन रोकिएको थियो ।

लामो समय बन्द भएकाले सेवाग्राहीको चाप बढ्ने निश्चित रहेकाले भिड व्यवस्थापन गर्ने पूरा तयारी गरेपछि मात्र दशैँ तिहारपछि आवेदन खुला गरिने विभागका सूचना अधिकारी भुसालले बताउनुभयो । 

जरिबाना छुट गर्ने अवधि बढाउने तयारी

लकडाउनको अवधिमा सवारीको कर तिर्नुपर्ने वा लाइसेन्स तथा बिलबुक रिन्यु गर्नुपर्नेहरुलाई जरिबाना छुट गर्ने अवधि बढाउन तयारी गरिरहेको सूचना अधिकारी भुसालले जानकारी दिनुभयो ।

उहाँँका अनुसार सेवाग्राहीले लकडाउनका कारण राजस्व तथा नवीकरणको शुल्क तिर्न नपाएको र अझै पनि केही ठाँउमा निषेधाज्ञाको अवस्था रहँदा काम गर्न नपाएकोले नवीकरण तथा कर तिर्ने अवधि लम्ब्याउन अनुरोध गरिरहेका छन् । यहीअनुसार यातायात व्यवस्था विभागले मङ्सिर अन्तिमसम्मका लागि जरिबाना छुटको समय बढाउनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ ।

यसअघि चैत ११ पछि नवीकरण गर्नुपर्नेहरुका लागि भदौ मसान्तसम्म रकम भुक्तानी गरेमा जरिबाना छुट हुने व्यवस्था गरिएको थियो ।

स्मार्ट लाइसेन्स सजिलै पाउन सकिने

लकडाउनको बेला पनि स्मार्ट लाइसेन्स छपाइको काम गरेकाले यसअघि ट्रायल पास गरेका वा नवीकरण गरेका सवारी चालकले अब सजिलै स्मार्ट लाइसेन्स पाउन सक्ने छन् । यसअघि एक वर्षभन्दा बढी समयसम्म कुर्नुपर्ने अवस्था थियो ।

लकडाउनको अवधिमा सात लाख बढी स्मार्ट लाइसेन्स प्रिन्ट गरिएको विभागले जनाएको छ । लकडाउनले गर्दा नयाँ लाइसेन्सको आवेदन रोक्का गरेपछि विभागले पुुराना छाप्न बाँकी लाइसेन्स सबै छापिइ सकिएको जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया