कर्णाली याक्समा अनुबन्ध भएका हङकङका बाबर र वेस्ट इन्डिजका वाल्ट...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौको रानीपोखरी र ललितपुरको रातो मच्छिन्द्रनाथ एकैपटक भूकम्पले भत्कायो । रानीपोखरी र रातो मच्छिन्द्रनाथ मन्दिर रहेको बुङमतिमा एकैदिन पुनर्निर्माण अभियान सुरु भयो ।
२०७२ साल माघ २ गते १९ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नुभयो । त्यसैदिन प्रधानमन्त्री केपी शर्मा ओलीले बुङमतीमा पुनर्निर्माण अभियान सुरु गर्नुभएको हो । अभियान थालनी गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले ध्वस्त भएको रातो मच्छिन्द्रनाथ मन्दिर सहित पुरातात्विक महत्वका वास्तुकला शैलीका घर पुरानै शैलीमा पुनर्निर्माण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
भूकम्प गएको पाँच वर्षपछि रानीपोखरी पुरानो अवस्थामा फर्किएको छ । रानीपोखरीमा झण्डै ३ करोड लिटर पानी भर्ने काम पनि भएको छ । पोखरीको बीचमारहेको बालगोपालेश्वर मन्दिरमा गजुर समेत राखिएको छ । रानीपोखरी उपभोक्ता समितिबाट र बालगोपालेश्वर मन्दिर ठेकेदार कम्पनी सीएम तुलसी जेभीले गरेको हो । तर मच्छिन्द्रनाथको मन्दिरमा अहिलेसम्म ४० प्रतिशत मात्रै पुनर्निर्माणको काम भएको छ ।
ललितपुर महानगरपालिकाको वडा नम्बर २२ बुङमतीमा रातो मच्छिन्द्रनाथको मन्दिर रहेको छ । बुङमती पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले पुनर्निर्माण अभियान थालेको बस्ती हो । त्यसबेला श्रीलङ्का सरकारको आर्थिक सहयोगमा रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माण गर्ने काम अघि बढेको थियो । मन्दिर पुनर्निर्माणको जिम्मेवारी प्रेरा, थेगिस र तुलसी कन्स्ट्रक्शन जेभीले लिएका थिए ।
तीन वटा ठेकेदार कम्पनीले दुई वर्षमा सक्ने गरी चार करोड ७४ लाख रुपैयाँमा ठेक्का पाएका थिए, तर चार वर्षमा ३० प्रतिशत पनि काम पूरा भएन । यी तीन कम्पनीले काम गर्न नसकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गएको पुसमा ठेक्का नै रद्द गर्यो ।
निर्माण व्यवसायीको बाटो हेरेर बसेको सरकारले ठेक्का तोडेपछि बल्ल उपभोक्ता समितिलाई मन्दिर पुनर्निर्माणको जिम्मा दिने निर्णय गरेको हो । अर्थात् रानीपोखरी मोडलमा रातो मच्छिन्द्रनाथको पुनर्निर्माणको काम थालियो ।
प्रेरा, थेगिस र तुलसी जेभीसँग ठेक्का तोडेपछि रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिने निर्णय भयो । पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणको काम गएको असार १५ गतेदेखि उपभोक्ता समितिमार्फत सुरु भयो ।
असार २० गते क्षमा पूजा गरी काम थालेको वडाध्यक्ष एवं उपभोक्ता समितिका अध्यक्ष अम्बिरराज शाक्यले बताउनुभयो । त्यसपछि मन्दिर परिसरमा छरिएका निर्माण सामग्री र ढुङ्गाका खम्बा मिलाउने काम भयो । असोज १५ गते बिहीबारसम्म मन्दिरको ४० प्रतिशत काम भएको छ । ‘उपभोक्ता समितिमार्फत् काम थालेको तीन महिना मात्रै भएको छ’ उहाँले भन्नुभयो, ‘यो तीन महिनामा मन्दिरको जगमाथि २० वटा ढुङ्गाका खम्बा र काठको बीम राख्ने काम भयो ।’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७५ साल फागुनमा रानीपोखरी उपभोक्ता समितिमार्फत पुनर्निर्माण गर्नेगरी जिम्मेवारी दियो । सुरुमा रानीपोखरी पुनर्निर्माणमा ४० जना कामदार खटिएका थिए । भक्तपुरका कामदारले पोखरीमा पानी अड्याउने गरी जिम्मेवारी लिएर काम गरे । काम धमाधम अगाडि बढ्यो । रातो मच्छिन्द्रनाथको मन्दिरमा भने ढिलासुस्ती थियो ।
ठेकेदारले काममा ढिलासुस्ती गरेपछि मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले सिफारिस गरेको अम्बिरराज शाक्य नेतृत्वको उपभोक्ता समितिसँग पुरातत्व विभागले सम्झौता गर्यो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा विभागले मन्दिर पुनर्निर्माणको प्राविधिक रेखदेख गर्नेछ ।
उपभोक्ता समिति र विभागबीच भएको सम्झौतानुसार समितिले एक वर्ष अर्थात् २०७८ असार १५ गतेभित्र तीन करोड आठ लाख लागतमा मन्दिरको काम सक्नुपर्नेेछ । सम्झौतापछि उपभोक्ता समितिले ४० लाख पेश्की लिएको पुरातत्व विभागले जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार रातो मच्छिन्द्रनाथ मन्दिरमा यसअघि ठेक्का प्रक्रियाबाट बनेको भागमा आवश्यक सुधार गरी काम थालिएको छ । ठेक्का प्रक्रियाबाट मन्दिरको जगको काम भैसकेको थियो । ठेकेदारले झण्डै २ करोड १४ लाख रुपैयाँ खर्च गरेको र उपभोक्ता समितिले ३ करोड ८ लाख खर्च गरे मन्दिरको कुल लागत ५ करोड २२ लाख पुग्नेछ ।
उपभोक्ता समितिसँग सम्झौता लगत्तै ४० लाख रुपैयाँ निकासा भयो । त्यो पैसाले तीन महिना काम भैसकेको छ । ‘रानीपोखरीमा जस्तै मच्छिन्द्रनाथ मन्दिरमा पनि भक्तपुरकै कामदार खटिनुभएको छ’ अध्यक्ष शाक्यले भन्नुभयो, ‘ढुङ्गा र इँटाको काम गर्ने एक जना कामदारले दैनिक ३२ सय रुपैयाँ लिनुहुन्छ, बिहीबारसम्म दैनिक ४० जनाले काम गर्नुभयो, खम्बा र बीम राख्ने काम सकेर ढुङ्गा र इट्टाको काम गर्ने ३२ जनालाई अहिले बिदा दिइएको छ ।’
मच्छिन्द्रनाथ मन्दिरमा अहिले काठको काम गर्ने ७/८ जना सिकर्मीहरुले मात्रै काम गरेका छन् । कालिगढ, सिकर्मी बाहेक मन्दिरका लागि आवश्यक काठ खरिदका लागि मात्रै ६० लाख रुपैयाँ भन्दा धेरै खर्च भैसकेको अध्यक्ष शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुरातत्वले रकम निकासा गर्नुपर्ने तर दोस्रो किस्ता निकासा गर्न ढिलासुस्ती भैरहेको छ ।’
सहकाल र वर्षाका देवताका रूपमा पूजा गर्दै आएको रातो मच्छिन्द्रनाथको वर्षैपिच्छे रथजात्रा गरी मनाउने चलन छ । मच्छिन्द्रनाथका तीनवटा मन्दिर छन् । जसमध्ये ललितपुरको टंगलस्थित मच्छिन्द्रबहालको मन्दिर र बुङमतीको मन्दिरमा ६/६ महिना रातो मच्छिन्द्रनाथ विराजमान गराउने परम्परा छ । भक्तपुरमा मच्छिन्द्रनाथलाई राख्न न्यातपोल मन्दिर छ, जुन मन्दिर आजसम्म पनि खाली राखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।