प्रदेश ५ का सबै जिल्लाको मध्यबिन्दु 'भालुवाङ'

 असोज १७, २०७७ शनिबार २१:३८:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ - पाँच नम्बर प्रदेश सरकारले प्रदेशका बाह्रै जिल्लाको ‘मध्यबिन्दु’ दाङ देउखुरी क्षेत्रलाई स्थायी राजधानी घोषणा गर्ने निर्णय गरेको छ । 

प्रदेश सरकारले गरेको यो निर्णय प्रदेशसभाबाट पास भएको खण्डमा स्थायी राजधानी प्रदेशका सबै जिल्लाबासीहरुका लागि पायकको राजधानी बन्ने छ । प्रदेशका पूर्वी र पश्चिमी सीमा तथा उत्तरी सीमाक्षेत्रका जिल्लासँगको दूरी मापन गर्ने हो भने दाङसँगको दूरी समान देखिन्छ ।

दाङ क्षेत्र सबै जिल्लाको मध्यबिन्दुमा पर्दछ । प्रदेशको सबैभन्दा पश्चिममा रहेको जिल्ला बर्दियासँगको दाङको दूरी १ सय ९० किलोमिटरको दूरी छ । जबकी बुटवल राजधानी कायम रहँदा पश्चिममा रहेको यो जिल्लालाई प्रदेश राजधानी निकै अपायक थियो ।

बर्दियासँगै उसको पूर्वी सीमा साँध रहेको बाँके प्रदेशको अहिले कायम रहेको राजधानीको थलोदेखि लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए । यी दुई जिल्लाले प्रदेशको राजधानी अपायक थलोमा रहेको भन्दै फरक प्रदेश कर्णाली प्रदेशमा गाभिने सम्मको निर्णय गरिसकेका थिए ।   

यसैगरी प्रदेशको पूर्वी सीमा पश्चिम नवलपरासीबाट दाङको दूरी पनि बर्दियाकै बराबर १ सय ९० किलोमिटर छ । ‘दाङदेखि प्रदेशको पूर्वी सीमा र पश्चिमी सीमाको दूरी हेर्ने हो भने बराबर १ सय ९० किलोमिटर छ,’ दाङमा केही समयअघि गठन भएको प्रादेशिक राजधानी सरोकार समितिका अध्यक्ष तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषालले भन्नुभयो ‘यसर्थ पनि हामीहरुले पहिले देखिनै दाङ केन्द्रबिन्दु हो भन्ने सत्य आधारका पक्षमा बोल्दै आएका थियौँ ।’

यसैगरी उत्तरी क्षेत्रका जिल्लाको दूरी हेर्ने हो भने दाङ नै प्रदेशको केन्द्र भएको प्रष्टै हुन्छ । प्रदेशको पश्चिम पहाडी जिल्ला पूर्वी रुकुमदेखि दाङको दूरी २ सय १० किलोमिटर छ । प्रदेशको पूर्वी पहाडी जिल्ला पाल्पादेखि दाङ सम्मको दूरी पनि रुकुम जत्तिकै समान २ सय १० किलोमिटर छ ।

यसैगरि गुल्मीको उत्तरी भू-भागदेखि दाङसम्मको दूरी १ सय ५० किलोमिटर छ । ‘दूरीका हिसाबले सबैभन्दा पायक पर्ने थलोका रुपमा रहेको दाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रदेश सरकारको मन्त्रिपरिषद्ले जुन निर्णय गरेको छ, यो दाङबासीका लागि मात्रै हैन प्रदेशका सबै जिल्लाका लागि गरिएको न्यायीक निर्णय हो,’प्रादेशिक राजधानी सरोकार समितिका अध्यक्ष भुषालले भन्नुभयो ‘ प्रदेश भरका नागरिकको पक्षमा गरिएको यो निर्णयको विरोध प्रदेशसभामा नहोस् , यो पायक थलोलाई सबैले स्वीकार्ने वातावरण सकोस् ।’

प्रदेश सरकारले स्थायी राजधानीका चुनेको दाङ देउखुरी क्षेत्र राजधानीका लागि हरेक दृष्टिकोणबाट उपयुक्त मानिएको छ । प्रदेशको नाम तथा राजधानीका लागि सिफारिस गर्नका लागि बनेको विशेष समितिले निर्माण गरेको विज्ञ समूहले समेत यो क्षेत्रलाई स्थायी राजधानीका लागि उत्तम मानेको थियो ।

यो विज्ञ समूहमा वातावरण, सुरक्षा, भूगोल लगायतका क्षेत्रका विज्ञहरु थिए । ‘स्थायी राजधानीका लागि चाहिने न्यूनतम आधारहरुको पहिचान गर्नका लागि बनेको विज्ञ समूहले पनि देउखुरी क्षेत्रलाई उपयुक्त मान्दै सुझाव पेश गरेको थियो,’ नामकरण तथा नाम सिफारिसका लागि बनेको कार्यदलका एक सदस्यले भने ।

यता अहिले प्रदेश सरकारले सिफारिस गरेको देउखुरी क्षेत्रका स्थानीय सरकारका जनप्रतिनिधिहरुले प्रदेशको स्थायी राजधानीका लागि आफ्नो क्षेत्र उपयुक्त भएको बताएका छन् । ‘उर्वर भूमि,वातावरणीय अनुकूलता अनि सुरक्षा दृष्टिकोणले हाम्रो गाउँपालिका क्षेत्र निकै उपयुक्त छ,’ राजधानीको केन्द्रका रुपमा प्रस्ताव गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले भन्नुभयोे । अहिले गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि १ हजार ५ सय बिघा जमिन प्रदेश सरकारलाई उपलब्ध गराउन सक्ने समेत बताउनुभयो ।

‘१ हजार बढी बिघा जग्गा प्रदेश राजधानीका लाग उपलब्ध गराउन सकिने भनेर लिखित रुपमै मैले प्रदेश सरकारलाई सुझाएको हुँ,’ सुवेदीले भन्नुभयो ।  यसैगरी राजधानीले समेट्ने भनिएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भन्नुभयो प्रदेश सरकारका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि चाहेजति जमिन उपलब्ध गराउन सकिने बताउँछन् । ‘हाम्रो क्षेत्र हरेक दृष्टिकोणले राजधानीका लागि उपयुक्त छ,’ उहाँले भन्नुभयो ‘प्रदेश सरकारका लागि हामीहरुले जति पनि स्रोत साधन उपलब्ध गराउन सक्ने छौँ ।’

भेगीय स्वार्थका कारण लामो समयसम्म घोषणा हुन नसकेको प्रदेश पाँचको स्थायी राजधानी घोषणाका लागि सुझाव संकलन गर्न एउटा विशेष समिति बन्यो । यो समितिलाई प्रदेशका १२ वटै जिल्लामा पुगेर प्रदेशको राजधानी कुन जिल्ला उपयुक्त छ ? भनेर सुझाव संकलन गर्ने जिम्मेवारी थियो । यो समितिले १२ वटै जिल्लामा पुगेर गरेको सुझाव संकलनका क्रममा दाङकै पक्षमा बहुमत प्राप्त भयो । यसको प्रमुख कारण पनि त्यही नै थियो ‘दाङ सबै जिल्लाको केन्द्र ।’

विशेष समिति स्रोतका अनुसार त्यो बेला यो समितिले १२ जिल्लाबाट १ हजार ३ सय १२ सुझाव संकलन गरेको थियो । यीमध्ये ५ सय ३० सुझाव ‘दाङ राजधानी’ का पक्षमा मात्रै थिए । यसैगरी अहिलेको अस्थायी राजधानी रहेको बुटवलको पक्षमा ३ सय ५० सुझाव आएका थिए ।

बाँकी अन्य सुझाव कपिलवस्तु, अर्घाखाँची , बाँके , बर्दियालगायतका जिल्लाका पक्षमा थिए । प्रदेशको प्रमुखको पायक थलो दाङलाई पायकको थलोका रुपमा रहेको भन्दै दाङ मात्रै नभइ पश्चिमका बाँके, बर्दियादेखि पूर्वी सीमा पश्चिम नवलपरासीसम्मबाटै दाङको पक्षमा मत जाहेर भएको छ ।

‘प्रदेशको मध्यबिन्दु दाङ रहेकाले पायकको हिसाबले पनि अन्य जिल्लाहरुबाट पनि दाङको पक्षमा सुझाव आएका छन्,’सुझाव संकलन विशेष समितिका एक सदस्यले भनेका थिए ‘सबैभन्दा बढी सुझाव दाङकै पक्षमा आएका छन् ।’ तर पनि भेगीय विवादका कारण जनमतको कदर  भने तत्कालै हुन सकेन ।

उपल्लो राजनीतिक सहमति बेगर प्रदेश स्थायी राजधानी घोषणा सम्भव थिएन , फलतः नेकपाका अध्यक्षद्धयको सहमतिले प्रदेश सरकार मन्त्री परिषद्लाई औपचारिक निर्णयमा सहज भएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया