सात जिल्लामा पाँच सयभन्दा बढी र तीन जिल्लामा शून्य सङ्क्रमित

 असोज २२, २०७७ बिहिबार ८:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काडमाण्डौ - सात जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । तीन जिल्लामा भने एक जना पनि सङ्क्रमित छैनन् । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही छन् । त्यस्तै सङ्क्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ र सोलुखुम्बु छन् । 

बुधबार तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको छ । काठमाण्डौ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाण्डौमा एक हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार २०९ नमुना परीक्षण भएको थियो । अहिलेसम्म ११ लाख १३ हजार ४८५ नमुना परीक्षण भइसकेको छ । 

देशभरमा पछिल्लो २४ घण्टामा एक हजार १२६ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या जम्मा ६८ हजार ६६८ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ७२ प्रतिशत हो । देशभरमा क्वरेण्टीनमा रहनेको सङ्ख्या चार हजार १६४ रहेको छ । देशभर सक्रिय सङ्क्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेशन र १४ हजार ४११ होम आइसोलेशनमा रहेका छन् । 

प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा ५४६, प्रदेश २ मा ३३३, वाग्मती प्रदेशमा सात हजार ९०८, गण्डकी प्रदेशमा ४४१, लुम्बिनी प्रदेशमा ८४२, कर्णाली प्रदेशमा ३५२ र सुदूरपश्चिम प्रदेशमा १७४ रहेका छन् । 

देशभरिमा गरी २३३ सङ्क्रमित आईसीयूमा रहेका छन् । प्रदेश १ मा २७, प्रदेश २ मा १४, वाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा ४१, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा एक जना आईसीयूमा रहेका छन् । त्यस्तै भेन्टिलेटरमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा चार, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा २५ र लुम्बिनी प्रदेशमा छ गरी जम्मा ३७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया