तत्काल रोजगारीमा जान नपर्नेले अबको दुई हप्ता पुनः श्रम स्वीकृतिका लागि आवेदन नदिन अनुरोध

 असोज २२, २०७७ बिहिबार ११:४१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तत्काल वैदेशिक रोजगारीमा जान नपर्नेले अबको दुई हप्तासम्म श्रम स्वीकृतिका लागि आवेदन नदिन सरकारले अनुरोध गरेको छ ।

कोरोना महामारीका कारण दूरी कायम गर्नुपर्ने र अन्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएकाले तत्काल रोजगारीका लागि जान नपर्ने भएमा कम्तिमा अबको दुई हप्ता निवेदन नदिन वैदेशिक रोजगार कार्यालयले अनुरोध गरेको हो ।

कोरोना महामारीलाई मध्यनजर गर्दै अहिले कार्यालयले अहिले पुनः श्रम स्वीकृतिका लागि इ टोकनको सङ्ख्यासमेत सीमित गरेको जनाएको छ । तर तत्काल जान पर्ने भएमा निवेदन दिन सकिन्छ । तर अबको दुई हप्तापछि पुनः श्रम स्वीकृति लिंदा पनि हुने भएमा तत्काल निवेदन नदिन भनिएको हो ।

केही समयअघि कार्यालयको कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि ताहाचल कार्यालयबाट श्रम स्वीकृति सहित सबै सेवा बन्द गरिएको थियो । तर अहिले स्वास्थ्य मापदण्डसहित सेवा सुरु गरिएकाले कडाइका साथ कार्यालय जाँदा स्वास्थको मापदण्ड पालना गर्न कार्यालयले अनुरोध गरेको छ ।

सङ्क्रमण देखिएका कर्मचारी होम आइसोलेशनमा रहेकाले नै सेवा सीमित गरिएको कार्यालयको भनाइ छ । आफू कुन देश जान लागेको हो त्यस देशले जारी गरेको कोभिड १९ जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न लागू गरेका नियम र प्रबन्धबारे जानकारी लिन र त्यही अनुसार आवश्यक कागजात तयार पार्नुपर्छ । आवश्यक कागजात तयार पारेर मात्र पुनः श्रम स्वीकृतिका लागि निवेदन दिनुपर्छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया