देउखुरीमा पहिलो कार्यालय पूर्वाधार विकास प्राधिकरण : नयाँ सहर बसाल्न ल्याण्ड पुलिङ

 असोज २६, २०७७ सोमबार ९:४९:३३ | हेमराज शर्मा
unn.prixa.net

दाङ - लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा पहिलो कार्यालयको रुपमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना हुने भएको छ । यो कार्यालयले नै राजधानीमा पूर्वाधार विकासको लागि योजना निर्माण गर्नेछ । प्राधिकरणले राजधानी क्षेत्रको स्थलगत अवलोकन र कार्यालय राख्ने ठाउँको बारेमा जानकारी लिएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयासहितको प्राविधिक टोलीले शनिबार स्थलगत अवलोकनसहित छलफल गरेको छ । राप्ती गाउँपालिकाको राप्ती प्राविधिक शिक्षालय परिसर, बराखुटी, लालमटियाँ, घण्टदेव, पाँखापानी, शितगंगा नगरपालिकाको लापे, सातमारा, गढवा गाउँपालिकाको कालाकाटे पश्चिम क्षेत्रको अवलोकन गरेको हो ।

‘सुरुमा त हामीले प्राधिकरणको कार्यालय राख्ने छौँ । त्यसपछि मास्टर प्लानकाे काम अघि बढ्नेछ,‘पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैयाले भन्नुभयो,‘अहिले कार्यालय राख्ने घर खोज्दैछौँ ।’ महत्वपूर्ण काम राजधानीको मास्टर प्लान बनाउने र त्यसपछि पूर्वाधार निर्माणमा अघि बढिने मजगैयाले जानकारी दिनुभयो ।

‘कहाँ प्रशासनिक भवन बनाउने, मन्त्रालय कता राख्ने, प्रदेशसभा भवन कहाँ बनाउने यीसहित एउटा सुन्दर शहरलाई चाहिने सबै प्रकारका संरचना र सुविधा हुनेगरी मास्टर प्लान बन्छ’ उहाँले भन्नुभयो,‘मास्टर प्लानको काम सकिएपछि पूर्वाधार बनाउन लाग्छौँ ।’

राप्ती नदीको मैदानमा एउटा सुन्दर सहरको परिकल्पना गरिएको छ । राप्ती उपत्यका नामको विषयमा फरक धारणाहरु आइरहेको बेला मजगैयाँले एउटा नयाँ नाम दिनुपर्ने भएकाले राप्ती उपत्यका तोकिएको बताउनु भयो । ‘पुरानै नामलाई आधार मानेर जाँदा कसैले अपनत्व गर्ने, कसैले नगर्ने स्थिति बन्न सक्थ्यो । त्यही भएर एउटा नयाँ नाम राप्ती उपत्यका दिइयो’उहाँले भन्नुभयो-‘राजधानीको नाम राप्ती सहर पनि हुन सक्छ ।’ 

नयाँ सहर बनाउनको लागि मास्टर प्लान अन्तर्गत राप्ती नदीको मैदानी भागमा रहेको ऐलानी प्रति जग्गाबाट पूर्वाधार बनाउन सुरु गरिने छ ।‘प्रदेश सभा, मन्त्रालय र प्रशासनिक भवनहरु सुरुमा बनाइने छ । त्यसपछि सहर बनाउने काम अघि बढ्छ’ मजगैयाँले भन्नुभयो, ‘जग्गा पनि प्रशस्त छ । त्यही पनि अपुग जस्तो भयो भने व्यक्तिको जग्गा अधिग्रहण गर्ने छ ।’

नयाँ सहर बसाउन ल्याण्ड पुलिङ

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा नमुना सहर बसाउन जग्गा विकास कार्यक्रम (ल्याण्ड पुलिङ)को अवधारणा अनुसार अघि बढ्ने तयारी गरिएको छ ।

ऐलानी प्रति जग्गाबाट प्रशासकिय भवनहरु बनाउँदै जाने र राप्ती उपत्यकाभित्र पर्ने क्षेत्रको मास्टर प्लानअनुसार जग्गा विकास कार्यक्रम सञ्चालन गरेर नमुना सहर बनाउने योजना रहेको पूर्वाधार विकास प्राधिकरणका प्रमुख मजगैयाले बताउनु भयो । ‘ल्याण्ड पुलिङबाट काम अघि बढ्छ । ६०/४० अथवा ७०/३० कुन अवधारणा अनुसार अघि बढ्ने भन्ने बारेमा निर्णय हुन्छ’उहाँले भन्नुभयो,‘फरक डिजाइन र नमुनाको काम हुन्छ ।’

राप्ती गाउँपालिका, गढवा गाउँपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिले आगटेको/चर्चेको राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका (देउखुरी) मा लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने निर्णय भएको छ ।

जग्गाको लगत पठाउन निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राप्ती उपत्यका देउखुरीको जग्गाको लगत तत्काल संकलन गरेर पठाउन निर्देशन दिनु भएको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको पालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका प्रमुखहरु संगको छलफल कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यो महिनाभित्र प्रदेश राजधानी राप्ती उपत्यकाको जग्गाको लगत पठाउन निर्देशन दिनु भएको हो ।

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाका पालिका प्रमुख, दाङ र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तथा मालपोत कार्यालयका अधिकारीहरुसँग छलफलमा जग्गाको अवस्था थाहा भएपछि अरु काम अघि बढाउन सजिलो हुने भएकाले जग्गाको लगत पठाउन निर्देशन दिनुभयो । 

‘सरकारी जग्गाको अवस्था, वन क्षेत्रको जग्गा भएको तर वन नभएको जग्गाको अवस्था र निजी जग्गाको अवस्थाका बारेमा जानकारी पठाउनुस्’उहाँले भन्नुभयो । सरकारी जग्गा अतिक्रमण गरी बस्ती बस्न सक्ने भएकोले चनाखो भइ नियन्त्रण गर्न उहाँले जनप्रतिनिधि र प्रशासनका अधिकारीहरुलाई आग्रह गर्नुभयो ।

शनिबार राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, सितगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारी, लुम्बिनी प्रदेशसभा सदस्य ईन्द्रजीत थारुले पूर्वाधार विकास प्राधिकरणसहितको टोलीलाई सम्भावित क्षेत्रको अवलोकन गराउनु भएको थियो ।

प्रदेश पूर्वाधार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत मजगैया, मुख्यमन्त्री कार्यालयका सचिव भरतमणि सुवेदी, प्रदेश पूर्वाधार प्राधिकरणका बासु पौडेल, गौतम बुद्ध विमानस्थल भैरहवाका निर्देशक टेकराज पोख्रेल, राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, तीन पालिकाका जनप्रतिनिधि तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

अन्तिम अपडेट: चैत २३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया