सडेको अवस्थामा मृत गैंडा भेटियो

 असोज २७, २०७७ मंगलबार १२:१६:१५ | रासस
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । 

निकुञ्जको मुख्य क्षेत्र मानिने पश्चिम सेक्टरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिकास्थित भेलौजी (कठौना)मा सोमबार सडेको अवस्थामा एउटा मृत गैंडा फेला परेको हो । 

करिब ३०-३५ वर्षको भाले गैंडा कठौनाकाे नारायणी नदी किनारमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ । मृतक गैंडाको प्रकृति हेर्दा करिब एक महिना अगाडि मरेको हुनसक्ने निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी अशोक रामले बताउनुभयो ।

सडेको अवस्थामा भेटिएको मृत गैंडा अर्को भाले गैंडासँग जुधेर घाइते भएपछि मरेको हुन सक्ने अनुमान गरिएको उहाँको भनाइ छ । मृत गैंडाको खाग र खुर भने सुरक्षित रहेको बताइएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को साउनयता निकुञ्जमा नौवटा गैंडाको मृत्यु भइसकेको छ भने असोज महिनामा मात्रै छवटा गैंडा मृत भेटिएका छन् । 

गैंडाको प्राकृतिक मृत्युदर बढ्न थालेपछि यसबारे अध्ययन गर्ने तयारी भइरहेको निकुञ्जका सूचना अधिकारी रामले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया