च्याम्पियन्स लिग फुटबल : सिटी र रियल म्याड्रिड तथा आर्सनल र बाय...
बैशाख ५, २०८१ बुधबार
काठमाण्डाै – जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको अभियोगमा प्रहरीले मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घटनाका मुख्य योजनाकार शेर्पा भनिने कामी लामा, रमेश तामाङ र प्रेम तामाङ रहेका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका ८ काे सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको हत्यामा संलग्न उनीहरुलाई बौद्ध क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले बताएको छ । जग्गा हेर्न भन्दै गएका उनीहरुले गएकाे हप्ता योञ्जनलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते योञ्जनको उपचारका क्रममा ज्यान गएकाे थियो ।
अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले उनीहरुले जग्गा किन्ने बहाना बनाएर मृतक योञ्जनसँग रहेको सुन लुट्न कुटपिट गरेको बताउनुभयो । कुटपिटबाट योञ्जनको पेट, छाती र अनुहारमा गम्भीर चोट देखिएको उहाँले बताउनुभयो ।
कुटपिटपछि उनीहरु दुई तोला दुई लालको ब्रासलेट र मोबाइल लिएर फरार भएका थिए । प्रहरीले घटनास्थलमा भेटिएको हेलमेटका आधारमा अनुसन्धान गरी अपराधीहरुलाई पक्राउ गर्न सफल भएको उहाँले बताउनुभयो ।
उनीहरुको साथबाट बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, सुन बिक्रीबाट प्राप्त एक लाख ५५ हजारमध्ये ५४ हजार ६ सय रुपैयाँ नगद र एक तोला दुई लाल सुन बरामद गरिएको छ । कर्तव्य ज्यान मुद्दा र लुटपाट अभियोगमा उनीहरुलाई भक्तपुर जिल्ला अदालत लगिने प्रहरीले बताएको छ । अपरेशनमा संलग्न प्रहरी अधिकारी र जवानहरुलाई नगदसहित सम्मान पनि गरिएको छ ।