पोखरीको दृश्यावलोकनको लागि गौरीशंकर

 कात्तिक ५, २०७७ बुधबार १४:१२:३५ | जीवन लामा
unn.prixa.net

यात्रामा जोखिम मोल्नु पर्छ नै । अझ पत्रकारहरुले जोखिम मोल्न सकेन भने खोजेको र सोचेजस्तो वस्तु पाउन गाह्रो हुन्छ । यस वर्षको पहिलो यात्रा तय भयो होटल प्रतीक्षामा । जंग गुरुङको पहिलो प्रस्ताव थियो ४, ५ दिन घुम्ने । त्यसैअनुसार जंग दाई, प्रभुजी र म २ घण्टा जति योजनामा लाग्यौं ।

कहाँ जाने, के खाने, कसरी जाने सबै योजना बन्यो । लेकको यात्रा भएकाले आवश्यक सामग्रीहरु काठमाण्डौबाटै ल्याउने मौखिक निर्णय पनि भयो । सुन्दर सुन्दर दृश्यावलोकनको साथै सजिलो र भरपर्दो गन्तव्यको रुपमा विकास गर्नको लागि गौरीशंकर गाउँपालिकाको चंखु लुवाङ्सा उत्तम ठान्यौं ।

लगभग ५ दिनको लागि न्यानो लत्ताकपडा र क्यामेरा ठिक पार्यौं । १ हप्ताअघि तय भएको योजना असोज २५ गते पूरा हुने भयो । दिउँसो १२ बजेतिर चरिकोटबाट गौरीशंकरतिर हिँड्यौं । चरिकोटबाट पत्रकारहरु दिलबहादुर, प्रभु र कैलाशलगायतको टिम गाडीमा बस्यौं । गाउँपालिकामा पुग्दा ३ बजेको होला । गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले यात्राको बारेमा आवश्यक जानकारी दिनुभयो । उहाँको पनि यस मार्गको यात्रा पहिलो पटक थियो । 

नेपाल भ्रमण वर्ष २०२० मा गौरीशंकरमा धेरै पर्यटक भित्राउने लक्ष्य गाउँपालिकाले लिएको थियो । थुप्रै पर्यटकीय गन्तव्यहरु गौरीशंकर गाउँपालिकामा पर्छ । स्वदेशी तथा विदेशी पर्यटकहरु गौरीशंकर गाउँपालिकाका विभिन्न स्थानमा घुम्नको लागि उपयुक्त वातावरण निर्माण गरेको कुरा अध्यक्षले पत्रकार भेटघाटमार्फत अवगत गराउनुभयो । गौरीशंकर गाउँपालिका दोलखाको ९ वटा स्थानीय तहको तुलनामा मात्र होइन, वाग्मती प्रदेशकै उत्कृष्ट गन्तव्यको रुपमा लिईन्छ । गौरीशंकर आफैं इतिहास बोकेको हिमाल हो ।

नेपालको समय सूचकको रुपमा लिईन्छ गौरीशंकर हिमाल । यसलाई विभिन्न भेगबाट फरक फरक रुपमा देख्न सकिन्छ । च्छोरोल्पा, दूधकुण्ड, हिमआरोहीहरुको गाउँ भनेर चिनिने रोल्वालिङ, चेर्दुङ, हनुमन्ते, सोतली, च्छोकुम, हाईड्रोपावरको खानी, नेपालकै लोपोन्मुख जाति सुरेल, विभिन्न किसिमका जडिबुटीहरु र रेडपाण्डको बासस्थानको रुपमा चिनिन्छ गौरीशंकर गाउँपालिका । करिब १४ मिनेटको मन्तव्यमा अध्यक्ष सोयम बहादुर खड्काले यिनै जानकारी पत्रकार र यात्रामा संलग्न सहभागीहरुलाई दिनुभयो ।

बेलुकी बासको लागि चंखुको लुवाङ्सामा व्यवस्था गरिएको थियो । बाटो बाटोमा स्थानीय शेर्पा समुदायले माला, खादा, स्थानीय परिकारले स्वागत गर्नुभयो । यस किसिमको स्वागतले भोलिको यात्रालाई थप उर्जा प्राप्त भएको महशुस मैले गरें । लुवाङ्सामा साँझपखमा मात्र पुगियो । गाउँपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले सञ्चालनमा ल्याएको होम स्टेमा त्यो रात कट्ने भयो ।

त्यहाँ पनि स्थानीयबासीले भव्य स्वागत गर्नुभयो । काँधभरिको खादा, मालाले ठूलै विजय प्राप्त गरेको हो कि भन्ने भान हुन्थ्यो । शेर्पा समुदायको संस्कृतिले झनै मन लोभ्यायो । हामी पत्रकारहरु होमस्टे नम्बर ४ कोपिला शेर्पाकोमा बस्ने भयौं । चिटिक्क घर, शेर्पा समुदायको खानपिनले भोलिपल्ट दिनभरिनै अघाउने हो कि भन्ने भयो । 

असोज २६ गते बिहान गुम्बा व्यवस्थापन समितिले गुम्बामै पूजा गरेर आशीर्वाद प्रदान गर्नुभयो सहभागी सबैलाई । यात्रामा २६ जना थियौं । ११ जना भरियाले खानपिन र बन्दोबस्तीको सामग्री बोक्नुभएको थियो । लामा गुरुबाट आशीर्वाद लिएपछि टोली अगाडि बढ्यो । आधा घण्टाको यात्रापछि भूमेको पूजा गर्नुको साथै चियापानको व्यवस्था थियो । चौंरीको दूध, लेकाली आलु खाएपछि यात्रा अघि बढ्यो ।

लुवाङ्सा नियाल्दै जंगलै जंगल उकालो लागियो । ११ बजेतिर दुग्ध विकास संस्थानद्वारा सञ्चालित चीज उत्पादन तथा बिक्री वितरण आयोजनाका भण्डार केन्द्रमा पुगियो । बिहानको खानाको व्यवस्था यहीँ थियो । भोक लागेको झोकमा र लेकाली खाना भएर होला थपीथपी खायौं । चौंरीको दही सम्झिंदा अहिले पनि मुख रसाउँछ । 

आकाश त्यति खुलेको थिएन । घाम पनि लागेको थिएन । जंगलको बाटो भएकाले त्यत्ति गर्मी, चिसो थिएन । चौंरी गोठ, वनस्पती, जंगली फूल, अग्ला अग्ला पहाडहरु हेर्दै बाटो कटेको पत्तै भएन । बाटोभरी पानी पिउन नपाए पनि प्राकृतिक सुन्दरताले पाईला अघि बढिरहन्थ्यो । पहिलो बास ३८०० मिटर उचाईमा  पाल्दिङमा । चारैतिर पहाडले घेरेको । सुन्दर चौरमा टेण्टहरु ठडिंदा मनै फुरुङ्ग भयो । रातभरी यही टेण्टको वरिपरी घुमिरहुँ जस्तो ।

बिहान अलि ढिलो भएछ उठ्नलाई । साढे पाँच बजेको होला उठ्दा । मेरो आँखा टेण्टको ढोकाबाट निस्कदै गर्दा बाँया मोडियो । गौरीशंकर हिमालको टाउकोले मलाई पो नियालेको जस्तो लाग्यो । वरिपरी बादल, घामको किरण हिमालको शिरमा पर्दा सुनौलो देखिन्थ्यो । क्यामेरा सोझ्याएँ । ६,७ क्लिप हानें । तर पनि थाप्न सकेन । हेर्दै पटक पटक क्लिप हान्दा सयौं पुग्यो होला । अलिपछि खुला भयो हिमाल । त्यसपछि क्यामेरा बिसाएँ । पहिलो पटक हो यस्तो सुन्दर र फरक दृश्य गौरीशंकर हिमालको ।

यात्रा अघि बढ्न थाल्यो । नजिकै देउराली रहेछ । ४२०० मिटर उचाईमा रहेको देउरालीको बयान गरेर शब्दले पुग्दैन जस्तो लाग्यो । मेरो टाउकोभरी आँखै आँखा भईदिए हुन्थ्यो लाग्यो यस्तो बेला । वरिपरी घुमीघुमी हेर्दा आँखाको धित नै मरेन । सबै जना आआफ्नै धुनमा देखिन्थे । कोही सेल्फी, कोही टिकटक, आईटम आईटम पोज दिन्थे । कोभन्दा को कम प्रतिष्पर्धा नै चल्यो फोटो सेसनमा । बिहानको खाना तप्कनेमा व्यवस्था थियो । तप्कनेमा पानीको राम्रो व्यवस्था थियो । च्याउको तरकारी र चामलको भात भोक लागेको झोंकमा २ पटक थपेर खाएँ ।

बेलुकी यालेमा बास बसियो । निकै चर्चित छ याले । माथिल्लो याले, याले र तेस्रो यालेको नामले चिनिन्छ याली भ्यालीलाई । हाम्रो बसाई यालेमा । नजिकै कलकल बग्ने खोला । चारैतिर पहाडले घरेको । सुनपाती, धुपीको मगमगाउने बासनाले बन्द नाकहरु खुला भयो । चिम्सिएका आँखाहरु फरकिला भयो । बेलैमा बास बसेकाले घुम्ने, फोटो खिच्ने समय प्रशस्तै थियो ।

बिहान सबेरै उठियो । २ दिनपछि चिसै पानीले टाउको पखाल्यौं । शरिर हलुका भयो । बिहान ७ बजेनै खानाको व्यवस्था थियो । खानापछि यात्राको बारेमा थप जानकारी दिनुभयो गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्का र गाउँ पार्टी अध्यक्ष जंगबहादुर गुरुङले ।

केही समयपछि फेरि आआफ्नै ढंगले अगाडि बढ्यो यात्रा । १० मिनेटपछि बयान गरी साध्य भएन दृश्य । क्यामेराले फुर्सद पाएन । उत्पादित सबै रंगहरु यहीँ ल्याएर रंगाएझैं लाग्यो । कलाकारहरु वर्षांैसम्म रंग्याउन समय खर्चेको हो कि ? यी दृश्यहरुले थकान, भोक, प्यास सबै मेटियो । पाईलाहरु अघि बढ्न मानेन । क्यामेराको ढकनी लागेन । आँखाहरु एकछिन पनि चिम्लिन मानेन । बाटोहरु रंगिएका छन् । रुख, बिरुवा, घाँस, ढुंगाहरु सबै सबै रंगिएका छन् । वाह के यस्तै त होलानी स्वर्ग ? मनमनै कौतुहल छायो । अहिले शब्दहरु कोरिरहँदा मेरो मनहरु, आँखाहरु त्यहीँ पुगेको छ । जिन्दगीका तितामीठा धेरै कुराहरु बिर्सिन्छ होला तर यी दृश्य मेरो मनमा गडिरहन्छ जस्तो लाग्यो ।

आज म पछि परें । सबैले डाँडा पार गरिसकेका थिए । नजिकै खिम्तीशिर खोला र योनिसा झरनाले घण्टांै समय खायो । जति क्लिप हाने पनि मन मानेन । एक पाइला सार्दै एक क्लिप हान्दै गर्दा साथीहरुले छाडेको पत्तै भएन । केही सिप नलागेर दौडें । खिम्तीशिरको खोला तरें । नाक ठोकिने उकालो । पाइला मात्र अट्ने बाटो । सुनपातीले झ्याप्पै ढाकेको । देउराली डाँडामा पुगियो । नेपाली झण्डा फरफराउँदै राष्ट्रिय धुन बज्यो । रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो...।

अलि अघि बढेपछि चट्टानमाथिको यात्रा सुरु भयो । पाइला छैन, डोबहरु छैन । तर अघिल्लो यात्रीको सारमा पाइला चाल्नु पर्ने । यस्तो यात्रा मेरो दोस्रो हो । बौलाह पोखरीदेखि देउढुंगाको यात्रामा पहिलो यात्रामा पनि यस्तै थियो । आजको दिनको यात्रा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म भएकाले लामो थियो । मेरो एउटा मात्र मिसन या उदेश्य भनेको भूत पोखरी । धेरै पटक नाम सुनेको, जाने इच्छा जागेको । तर कहाँ हो, कसरी पुग्ने अत्तोपत्तो नभएर नजुरेको । यसपटक भने झ्याप्पै ठोकियो भूत पोखरीमा । मान्छेअनुसार यसलाई कालो पोखरी, बौलाह पोखरीको नामले चिनिन्छ । म र केही साथीहरुले तारा पोखरी भनेर न्वारन गर्यौं ।

दिउँसै तारा देखिन्छ त किन तारा पोखरी नभन्ने ? नाम मात्र ठूलो र राम्रो होइन । यस पोखरीको विशेषता र भूगोल नियाल्दा फरक इतिहास र महत्व बोकेको भान भयो । यस्तो पनि हुन्छ र भन्ने मनमा लाग्यो । झलझली चम्केका ताराहरु । भन्ने गरिन्छ, भाग्यमानीले मात्र देख्छ । म खुशी भएँ भाग्यमानीमा परेर । किनकी पटकपटक देखें । लामो समयको धैर्यतापछि ४,५ वटा खुलेको तस्बिर कैद गरें तारा पोखरीको । १ घण्टा जत्ति नजिकै गएर चुमें । अझ एक घुड्को पानी पिउने लक्ष्य पूरा हुन सकेन । फेरि भेट्न भाकल गरेको छु । ताराको मन मान्यो भने अवश्य भेट्नेछु । यस पोखरीलाई पोखरी मात्र नभएर मैले त भगवान नै सम्झें । कसैले तेरो भगवान कहाँ भनेर सोध्छन् भने यही तारा पोखरी जाउँ भन्छु । यति धेरै हिम्मत मलाई तारा पोखरीले दिएको छ । 

यही सम्झँदै अघि बढ्यौं । साँझ ६ बजे जटापोखरी नजिकै बास बस्न पुग्यौं । पहिला पनि पुगेको हुनाले नयाँ एङ्गलको खोजीमा थिएँ म फोटोको लागि । अलिअलि मात्र फरकपन भ्याएँ । भोलिपल्ट बिहानै एक्लै उकालो लागें पाँचपोखरी पुग्न । मनमा डर बोक्दै अघि बढें । पाँचपोखरीमा पुग्दा १० मिनेट ढिला भएको महशुुस भयो । बादलले छोपिन लागेको थियो नुम्बुर हिमाल ।

धेरै सुनेको थिएँ हिमाल देखिन्छ पाँचपोखरीबाट भनेर । तर मलाई भाग्यले साथ दिएन । दोष आफैंलाई लिएँ । तर, पाँचपोखरीको नजिकैको सानो पिक पुगें । ८८४८ मिटरको सगरमाथा चढेकोझैं गर्व लाग्यो । किन कि मेरो टिममा कोही चढ्ने आँट गरेन । २५ मिनेट जत्ति यहाँबाट पाँच पोखरीको क्लिप भ्याएँ । यहीँबाट चरिकोट फर्कें । उपल्लो खिम्ती हाईड्रो पावरको गेष्ट हाउसमा बास बसियो ।

बिहान गौरीशंकर संरक्षण क्षेत्र आयोजना रामेछापको कार्यालयमा स्वागत सत्कार पाएँ । यस भेगको हिमाल, पोखरीहरुको दृश्यावलोकनको लागि गौरीशंकर गाउँपालिकाको चंखु लुवाङ्साबाट उपयुक्त लाग्यो । घुमन्तेको लागि भर्जिन दृश्यहरु यस भेगमा मात्र छ है भन्ने दावी मेरो छ । तारा पोखरी जिरी नगरपालिकामा पर्दछ भने पाँचपोखरी रामेछाप पर्दछ । जटापोखरी दोलखा र रामेछापको सीमानामा पर्दछ । यसरी ६ दिनको यात्रा दिन गन्दागन्दै बित्यो । 
 

अन्तिम अपडेट: कात्तिक २१, २०७७

तपाईको प्रतिक्रिया