कैलाली हत्या प्रकरण : प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि

 कात्तिक ५, २०७७ बुधबार २०:२१:४९ | चन्द्र थापा
unn.prixa.net

अछाम – कैलालीमा तस्करहरुद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउदको अछामको कैलाश खोलामा सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका ५ कालिका घर भइ धनगढी उपमहानगरपालिका १२ काे जुगेडा अस्थायी प्रहरी पोस्टमा कार्यरत साउदको अछामको कैलाश खोलामा शोक सलामीसहित अन्त्येष्टि गरिएको हो । प्रहरी सहायक निरीक्षक (असई) रमेश भट्टको टोलीले साउदलाई शोक सलामी दिएको थियो । अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले साउदको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।

प्रहरी जवान साउदलाई उहाँका भाइले दागबत्ती दिनुभएकाे आफन्त नवराज साउदले बताउनुभयो ।

गएकाे शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विकसँगै बेपत्ता भएका प्रहरी जवान साउदको शव मङ्गलबार मोहना नदीमा गाडिएको अवस्थामा भेटिएकाे थियो । प्रहरी सहायक निरीक्षक विकको शव भेटिएको ठाउँदेखि दुई सय मिटर तल साउदकाे शव भेटिएको थियो ।

प्रहरी सहायक निरीक्षक विकको भने आइतबार बिहानै शव भेटिएको थियो । दुवै जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ परेकामध्ये सात जनाले अपराध स्वीकार गरिसकेका छन् । केही व्यक्ति अझै फरार रहेकाले खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

मृतक प्रहरी जवान साउदका श्रीमती र दुई छोरी छन् । आश लाग्दा प्रहरी जवानको तस्करले विभत्स हत्या गरेको घटनाबाट सिङ्गो प्रहरी सङ्गठन र गाउँ शोकमा छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया