प्रधानमन्त्री रोजगार कार्यक्रममा जुम्लाका १५ हजार बेराेजगार सूचीकृत
कात्तिक ११, २०७७ मंगलबार २०:११:५५
|
रासस
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि जुम्लाका एक नगरपालिकासहित आठ स्थानीय तहमा १५ हजार २५१ बेरोजगार सूचीकृत भएका छन् ।
आर्थिक वर्ष ०७७/०७८ का लागि जुम्लाका आठ स्थानीय तहमा ती व्यक्ति रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा सूचीकृत भएका हुन् । सरकारले गएकाे साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास गर्ने स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
तोकिएका समयावधिभित्र फाराम भरेका व्यक्तिमाथि वडा समिति, स्थानीय निर्देशक समिति र कार्यपालिकाबाट वास्तविक बेरोजगार ठहरिएका व्यक्तिलाई ईएमआईएसमा सूचीकृत गरिएको हिमा गाउँपालिका रोजगार संयोजक दीपेन्द्र पौडेलले जानकारी दिनुभयो । सूचीकृत बेरोजगारलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनका काममा लगाइने कनकासुन्दरी गाउँपालिका रोजगार संयोजक हंसराज न्यौपानेले बताउनुभयो ।
‘एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएका र कम्तीमा तोकिएबमोजिमको आयआर्जन हुने स्वरोजगारमा संलग्न नभएका व्यक्तिलाई मात्र फाराम भर्न लगाइएको थियो ।’
उनीहरुले प्रतिदिन पाँच सय १७ रुपैयाँका दरले एक सय दिनको ज्याला पाउने प्रावधान रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवा रोजगारका लागि रुपान्तरण पहल आयोजनाका लागि यहाँका आठ वटै स्थानीय तहलाई ५१ लाख रुपैयाँका दरले रकम विनियोजन भएको छ ।
गुठीचौर गाउँपालिका रोजगार संयोजक प्रेम शाहीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममा बजेट आउन बाँकी नै छ । यस वर्ष विश्व बैंकको सहकार्यमा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना र नेपाल सरकारको सहयोगमा कामका लागि पारिश्रमिक सामुदायिक आयोजनाबाट देशभर करीब पाँच लाख रोजगारी सिर्जना गर्न ११ अर्ब रुपैयाँ भन्दा बढी सरकारले विनियोजन गरेको छ ।
अन्तिम अपडेट: मंसिर ६, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।