अछामकाे रामाराेशन गाउँपालिकामा उपाध्यक्षद्वारा तालाबन्दी

 कात्तिक १२, २०७७ बुधबार १९:१६:४४ | चन्द्र थापा
unn.prixa.net

अछाम – रामारोशन गाउँपालिकाकाे कार्यालयमा गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले तालाबन्दी गर्नुभएकाे छ । तानाशाह शैलीमा एकलौटी तरिकाले गाउँपालिका चलाएको भन्दै रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावले बुधबार तालाबान्दी गर्नुभएकाे हाे । 

उपाध्यक्ष रावलले एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेकाे जानकारी दिनुभएकाे हाे । स्थानीय सरकार सञ्चालन ऐेन विपरीत उपाध्यक्षको अधिकार खोसेर काम भइरहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

गाउँपालिकामा रहेका योजनाको अनुगमन तथा सुपरीवेक्षणको अधिकार उपाध्यक्षको भए पनि अनुगमन प्रतिवेदन विना योजनाको भुक्तानी दिन लगाएको विज्ञप्तिमा उल्लेख गरिएको  छ । कर्मचारी भर्ना तथा छनाेटमा अनियमिता गरेको उहाँकाे आरोप छ ।

उहाँले गाउँपालिकाभित्र भइरहेका गलत क्रियाकलाहरुको आफू एक्लैले सङ्घर्ष गरिरहेको समेत बताउनुभएकाे छ । उहाँले भन्नुभयाे, 'निकै सहेर बसेँ तर अब यति हुँदा नामको मात्र पद लिएर बस्न सकिँदैन, गाउँपालिकाभित्र भएका बेथितिविरुद्ध एक्लै सङ्घर्ष गर्छु ।’

गाउँपालिका सरकारले गर्ने हरेक काम कारबाहीमा आन्तरिक तथा पार्टीमा पटक–पटक छलफल हुँदासमेत कार्यशैलीमा कुनै फरक नआएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्तिमा उल्लेख छ ।

रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँद र उपाध्यक्ष रावल दुवै तत्कालीन नेकपा माओवादीबाट निर्वाचित हुन् । गाउँपालिका सरकारले आर्थिक प्रलोभनमा परेर कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसले समेत केही दिनअघि शान्तडा बजारमा प्रदर्शन गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया