भारतीय नागरिकलाई नागरिकताको सिफारिस गर्ने वडाध्यक्षसहित चार जना पक्राउ

 कात्तिक १४, २०७७ शुक्रबार १२:१५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा कैलालीको धनगढी उपमहानगरपालिका १२ का वडाध्यक्ष पक्राउ परेका छन् ।

वडाध्यक्षसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी, नक्कली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, दाइ र भाउजु बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्बर १२ कै खुसीराम चौधरी र गीता चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताउनुभयो ।

उहाँका अनुसार २०७५ साल फागुन २० गते वडाध्यक्ष जोशीले वंशजका आधारमा अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेका थिए । बुबा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेका र खोजी भइरहेको पनि विष्टले जानकारी दिनुभयो ।

भारतीय नागरिक अन्सारी अहिले कैलालीकै टीकापुर नगरपालिकाको वडा नम्बर ७ मा बस्दै आएका छन् । प्रहरी नायव उपरीक्षक विष्टका अनुसार पक्राउ परेका चार जनामाथि नागरिकता ऐनअनुसार कारबाही हुनेछ । ऐनमा विदेशीले नेपाली नागरिक भएको झुठो दाबी गरेर नागरिकता प्राप्त गरेमा एक वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

नागरिकताका लागि सिफारिस र सनाखत गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन महिनासम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया