बर्दियामा पाटेबाघको आक्रमणबाट एक जनाको ज्यान गयो

 कात्तिक १६, २०७७ आइतबार ७:२८:२७ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियामा पाटेबाघको आक्रमबाट ​एक जनाको ज्यान गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा शनिबार बेलुका पाटेबाघको आक्रमणबाट ६८ वर्षीय लहानु थारुको ज्यान गएको हो । 

घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै ज्यान गएको हो । बाघले थारुलाई आक्रमण गरी मारेर त्यहीँ छाडेकाे र एउटा गोरुलाई बोकेर जंगलतर्फ लगेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिनुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषसहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञसहितको टोली खटिसकेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनुभयो । यस्तै इलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोली पनि खटिएको छ ।

नेपाल भारत सीमा नजिकको मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्सार कार्यालय धनौरा नजिक डिभिजन वन कार्यालय अन्तर्गतको बेलझुण्डी सामुदायिक वनमा पाँच दिनअघि गएको मंगलबार दिउँसो पाटे बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो । 

नेपाल भारत सीमा नजिक डिभिजन वन कार्यालय बर्दिया अन्तर्गत पर्ने मधुवन नगरपालिका क्षेत्रमा स्थानीयलाई आक्रमण गर्ने बाघ हुनसक्ने निकुञ्जले अनुमान गरेको छ । दुई हप्ताअघि पाटे बाघको आक्रमणमा परि सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन ३ की एक महिलाको ज्यान गएको थियो ।

यस्तै एक महिनाअघि माछा मार्न गएका मधुवन नगरपालिकाकै एक किशोरको पनि बाघको आक्रमणमा परि ज्यान गएको थियो । मान्छे मार्ने बाघ तत्काल नियन्त्रणमा लिन वा मार्न स्थानीयले माग गरेपछि बर्दिया निकुञ्ज र डिभिजन वन कार्यालयको टोली बाघ पहिचान र नियन्त्रण गर्न खटिएको छ । 

नियन्त्रका लागि खटिएकै बेला निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघले फेरि एक जनाको ज्यान लिएपछि स्थानीयवासी त्रसित बनेका छन् । एक महिनाभित्र बर्दियामा पाटे बाघको आक्रमणबाट ५ जनाको ज्यान गएको छ भने साढे एक वर्षको अवधिमा बर्दिया निकुञ्ज, मध्यवर्ती क्षेत्र र डिभिजन बन क्षेत्रमा पाटेबाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया