लकडाउनका कारण उठ्नै नसक्ने अवस्थामा पुगेकाे अटाे व्यवसायलाई दशैँले राहत दियाे

 कात्तिक १६, २०७७ आइतबार २०:१६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गएकाे चैत ११ गतेदेखि जारी भएको लकडाउनले उठ्नै नसक्ने अवस्थामा पुगेको नेपालको अटो व्यवसायलाई दशैँले राहत दिएको छ । 

कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमणको जोखिमका कारण जारी भएको लकडाउनपछि चार महिना बढी समय व्यवसाय बन्द रहेको थियो । लकडाउनपछिको अवधिमा गएका वर्षहरुमा भन्दा व्यापार कम भए पनि परिस्थितिअनुसार सन्तोषजनक रहेको व्यवसायीहरुको भनाइ छ । लकडाउनपछि साउनमा एक महिना व्यवसाय सञ्चालन गरेको व्यवसायीहरुले भदौ महिनामा भने निषेधाज्ञाको सामना गर्नुपरेको थियो ।

दशैँको समयमा व्यवसायीहरुले व्यापार राम्रो भएको बताएका छन् । नेपाल अटो मोबाइल डिलर्स एसोसिएशन (नाडा) का अध्यक्ष कृष्णभक्त दुलाल दशैँले अटो व्यवसायीहरुलाई राहत दिएको बताउनुहुन्छ । लकडाउनका कारण शिथिल बनेको बजार साउनपछिको अवस्थामा केही माथि उठ्न सकेको उहाँले बताउनुभयो ।

विगतका वर्षहरुमा सवा लाख बढी सवारी साधान आयात हुने गरेकोमा यो वर्ष झण्डै साढे ८३ हजार सवारी आयात भएका छन् । अध्यक्ष दुलालले चार हजार एक सय ३३ कार/जीप, ७० हजार दुई सय ६० मोटरसाइकल र अन्य सवारी साधन दुई हजार दुई सय ९० वटा गरी ८३ हजार दुई सय १४ सवारी आयात गरिएको बताउनुभयो । यो वर्ष १९ अर्ब ८२ करोड ८१ लाख ६ हजार बराबरका सवारी आयात भएका छन् ।

कोभिडका कारण सार्वजनिक सवारी अभाव भएको, सङ्क्रमणको जोखिमका कारण पनि निजी सवारी प्रयोग गर्नेहरुको सङ्ख्या बढेको उहाँले बताउनुभयो ।

सरकारले सङ्क्रमण जोखिमका कारण नयाँ लाइसेन्स वितरणको काम रोकेको छ तर व्यवसायीहरुले भने लाइसेन्स वितरण रोक्न नहुने बताएका छन् । यातायात व्यवस्था कार्यालय र सरकारलाई लाइसेन्स वितरण खुलाउन र अब सुरक्षित भएर व्यवसाय गर्ने वातावरण मिलाउन उहाँले आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया