अब विदेश जाने श्रमिकले ई-सेवा र स्प्यारोमार्फत कल्याणकारी कोषमा रकम जम्मा गर्न सक्ने

 कात्तिक १७, २०७७ सोमबार १७:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अब वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम अनलाइनमार्फत नै भुक्तानी गर्न सक्ने भएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति, पुनः श्रम स्वीकृतिका लागि अब देश विदेश जहाँ भए पनि अनलाइन सेवाप्रदायक संस्था ई-सेवा, फोन पे र स्प्यारो पेमार्फत तिर्न सक्ने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

श्रमिकले ई-सेवा, स्प्यारो एपमार्फत कल्याणकारी कोषमा १५ सय रुपैयाँ सिधै जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा गर्दा थप शुल्क लाग्ने छैन । यो व्यवस्था भएसँगै अब श्रमिकले कल्याणकारी कोषमा रकम बुझाउन बैंक धाउनुपर्ने बाध्यता हटेको छ भने विदेशमै बसेर पनि पुनः श्रम स्वीकृति लिनका लागि कल्याणकारी कोषमा रकम जम्मा गर्ने सक्ने बाटो खुलेको छ ।

सरकारले श्रमिकले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्ने व्यवस्था गर्ने भन्दै आएको छ । अब कल्याणकारी कोषको रकम अनलाइन प्रणालीबाट तिर्ने बाटो खुलेसँगै विदेशबाट पुनः श्रम स्वीकृति लिनका लागि एउटा पाटो सहज भएको छ ।

अब श्रम मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित दूतावासहरुले यो व्यवस्था कार्यान्वयन गरेमा श्रमिकले विदेशबाटै पुनः श्रम स्वीकृति लिन सक्नेछन् । यसअघि अनलाइनमार्फत कल्याणकारी कोषमा रकम बुझाउने व्यवस्था नभएको कारण पनि श्रम अवधि सकिएपछि पुनः श्रम स्वीकृतिका लागि स्वदेश फर्कनु पर्ने बाध्यता थियो ।

साथै बोर्डले मृतकका हकवालाले पाउने रकम पनि बैंक खातामा जम्मा गरिदिन थालेको छ भने निवेदन पनि अनलाइनमार्फत नै लिन थालेको छ । बोर्डले सुरु गरेको यो प्रक्रियाले राहत र क्षतिपूर्ति लिनकै लागि बोर्ड सचिवालयसम्म आउनुपर्ने बाध्यता हटेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया