नेपालमा काम गर्न सजिलो हैन, तर विदेशमा जति दुःख छैन

 कात्तिक २०, २०७७ बिहिबार १३:५२:३ | मेरो कथा मेरो भोगाई

इन्द्रमणि निरौला, इलाम ।

मेरो घर इलाम नगरपालिका ११ मा पर्छ । अहिले त म गाउँमै स्वरोजगार भएको छु । तर देशमै पनि केही गर्न सकिन्छ । गाउँठाउँमै पनि कमाइ गरेर जिन्दगी चलाउन सकिन्छ भनेर चाहिँ मलेसिया गएरपछि मात्रै थाहा पाएँ ।

घरमा आर्थिक अभाव अनि विदेश जाने रहर । लहैलहैमा लागेर परदेश पुगियो । विदेशमा कमाउँला भन्ने सपना नदेख्ने त को पो होला र ? म पनि अछुतो हुने कुरै भएन । तर विदेशमा सोचेझैैं रहेनछ । त्यो कुरा त्यहीँ गएर दुःख देखेपछि, भोगेपछि मात्रै थाहा भयो ।

१० वर्ष बसेँ मलेसियामा । तर १० वर्षको कमाइ घरको समस्या टार्दैमा सकियो । जस्तो गएको त्यस्तै फर्कनुपर्‍यो । त्यसपछि मैले सोचेँ विदेश गएर मात्र कमाइ नहुने रहेछ । अब घर चलाउन परदेश जानुभन्दा देशमै बसेर केही गर्छु भन्ने सोच पलायो ।

आफूले जानेको व्यवसाय बाख्राफार्म सुरु गरें । धेरैले देशमै काम गरेर पनि विदेशमा भन्दा कमाएको देखें । त्यस्तै कुराले नै मलाई देशमै केही गर्ने प्रेरणा मिल्यो । विदेश भन्नु त कमाउन्जेलसम्म त रहेछ । आज सम्झँदा त्यो १० वर्ष मैले नेपालमै केही सुरुवात गरेको भए हुने रहेछ जस्तो लाग्छ ।

जीवनमा पैसाको बिटोभन्दा पनि परिवारिक खुसी नै सबैभन्दा ठूलो सम्पति रहेछ । काम गर्न त नेपालमा पनि सजिलो छैन । तर मैले हार खाएको छैन । विदेश जाने सोच दिमागमा फेरि ल्याएको छैन । किनभने यहाँ यातायातको सुविधा छैन । बजारसम्म जान खोलैखोला तरेर जानु पर्छ । मोटरेबल पुलको अभाव छ ।

तर यस्ता ब्यवधानले नै मलाई अझ मजबुद बनाएको छ । देशमै केही गर्छु भन्नेहरुका लागि कम्तिमा पालिकाहरुले यस्ता सामान्य समस्याहरुमा ध्यान दिए सजिलो हुन्थ्यो । विदेशको दुःख र स्वदेशमा काम गर्दाको मेरो अनुभवले यही भन्छ कि युवा विदेशिनुमा सरकारको पनि ठूलो हात छ ।

पठाएको रेमिट्यान्समा र्‍याल काढ्ने अनि देशमै केही गर्नेलाई बेवास्ता गर्ने प्रवृत्ति भने फेर्नुपर्छ । तर मेहनत भने आफैंले गर्नुपर्छ । त्यो म यो जीवनभर गरिरहने छु ।

अन्तिम अपडेट: मंसिर ११, २०७७

तपाईको प्रतिक्रिया