अमेरिकामा बाइडेन विजयी, ट्रम्प दोस्रो कार्यकाल गुमाउने एघारौं राष्ट्रपति

 कात्तिक २३, २०७७ आइतबार ८:५०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । औपचारिक घोषणा हुन बाँकी भए पनि उहाँ विजयी भइसक्नुभएको छ । जितसँगै जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नुहुनेछ । 

वर्तमान राष्ट्रपति ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै बाइडेनले आफ्नो जित पक्का गर्नुभएको हो । बाइडेनले ह्वाइट हाउससम्म पुग्नका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोट पार गर्नुभएको छ । महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा जित हात पारेसँगै बाइडेनले २ सय ७३ इलेक्टोरल भोट प्राप्त गर्नुभएको छ । ट्रम्पले भने २ सय १४ इलेक्टोरल भोट पाउनुभएको छ ।  

७७ वर्षीय बाइडेनले अमेरिकी राष्ट्रपति पदको लागि योभन्दा पहिले पनि सन् १९८८ र २००८ गरी दुई पटक चुनाव लडिसक्नुभएको छ । साथै बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको दुईवटै राष्ट्रपति कालमा उपराष्ट्रपति रहिसक्नुभएको छ । 

बाइडेन तेस्रो पटकको प्रयासमा राष्ट्रपतिमा चुनिनुभएको हो । अमेरिकाको इतिहासमा बाइडेनले सबैभन्दा धेरै मत पाएर राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति पनि बन्न सफल हुनुभएको छ । सात करोड ४५ लाखभन्दा बढी अमेरिकीले बाइडेनको पक्षमा मत दिएका छन् । 

बाइडेन बाराक ओबामाका नजिकका मित्र पनि मानिनुहुन्छ । बाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्ने पक्का भएसँगै भारत, फ्रान्सलगायतका देशले बधाइ दिएका छन् । बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ ।

कमला ह्यारिस पहिलो महिला उप-राष्ट्रपति

चुनावी परिणामसँगै कमला ह्यारिस अमेरिकाको पहिलो महिला उप-राष्ट्रपति बन्दै हुनुहुन्छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै ह्यारिस पनि उप-राष्ट्रपति पदका लागि निर्वाचित हुन पुग्नुभएको हो । 

उहाँ पहिलो अश्वेत तथा दक्षिण एसियाली मूलकी उप-राष्ट्रपति पनि हुनुहुनेछ । यसअघि क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उहाँले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गर्नुभएको थियो । 

ट्रम्प दोस्रो कार्यकालका लागि असफल हुने एघारौं राष्ट्रपति

जो बाइडेनसँग पराजित भएपछि ट्रम्प दोस्राे कार्यकाल गुमाउने एघारौं राष्ट्रपति हुनुभएको छ । ट्रम्पलाई सन १९९० यता पहिलो एक कार्यकाल मात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ । 

कोरोना भाइरस, कोरोनाको कारण अमेरिकी अर्थतन्त्रमा आएको संकट, बेरोजगार समस्या, आप्रवासीप्रतिको कठोर कदम, रंगभेदी क्रियाकलाप लगायतका कारण ट्रम्प पराजित भएको विश्लेषण गरिएको छ।

ट्रम्पले भने हार स्वीकार गर्नुभएको छैन । उहाँले वक्तव्यमार्फत चुनाव नसकिएको प्रतिक्रिया दिनुभएको छ । ट्रम्प पक्षमले चुनावी परिणामप्रति अदालतमा चुनौती दिने बताएको छ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोडभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरेका थिए ।

राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया