विदेशमा थप ५४४ नेपाली काेराेना सङ्क्रमित, एकको ज्यान गयाे

 कात्तिक २३, २०७७ आइतबार १५:४२:२४ | रासस
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अनुसार यो हप्ता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो हप्ता विदेशमा रहेका थप एक हजार एक सय ६३ जना नेपाली काेरोनामुक्त भएका छन् भने थप पाँच सय ४४ जनामा सङ्क्रमण देखिएको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, विदेशमा ४४ हजार ११३ जना नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ४० हजार सात सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएका छन् । यो हप्ता स्पेन, नेदरल्यान्ड, चेक रिपब्लिक, डेनमार्क, अष्ट्रिया  रहेका नेपालीमा थप कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार, यो हप्ता साउदी अरबमा थप एकजना नेपालीको कोरोना  भाइरसका कारण ज्यान गुमाउनु परेको छ । सङ्घका अनुसार, विदेशमा १८ देशमा दुई सय ८५ जना नेपालीले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो हप्ता नेपालमा मात्र एक लाख ९१  हजार ६ सय ३६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ५५ हजार एक सय १४ जना  सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ८१ प्रतिशत रहेको छ । शनिबार साँझसम्म नेपालमा एक हजार ८७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गइसकेको छ ।

१० हजार किट स्वास्थ्य सामग्री

एनआरएनएले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जिन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई गत शुक्रबार हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो ।

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए उपाध्यक्ष डा केसीले सङ्घले विश्वव्यापी कोरोना सङ्क्रमण शुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको चर्चा गर्नुभयो । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकामा प्रसन्नता प्रकट गर्नुभयो । 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया