९७ लाख चाेरी : ४० लाख चाहिँ झाडीमा लुकाएर राखे

 कात्तिक ३०, २०७७ आइतबार १६:४९:० | रासस
unn.prixa.net

चितवन – चितवन प्रहरीले ९७ लाख रुपैयाँ चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । कालिका नगरपालिका ६ बस्ने ४० वर्षीय कविराज थापा पक्राउ परेका हुन् ।

थापाले यही कात्तिक २७ गते भरतपुर महानगरपालिका ९ काे काँडाघारीमा रहेको एपोलो पेन्ट्स प्रालिको भवनको कोठाभित्र रहेको सेफ लकर फुटाइ नगद चोरेका थिए । थापा त्यही एपोलो पेन्ट्स कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए ।  

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाएर राखेकाे अवस्थामा ५७ लाख बरामद गरेकाे हाे । साथै त्यही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाइ प्लास्टिककाे बोराभित्र राखेको अवस्थामा ४० लाख गरी ९७ लाख रुपैयाँ चोरीमा प्रयोग हुने औजारसमेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाले आइतबार जानकारी दिनुभयो ।

थापामाथि चोरी कसुर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता थापाले बताउनुभयो ।   

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया