प्रधानमन्त्री ओली शितल निवासमा, बैठक १ बजे नै बस्छ : प्रवक्ता श्रेष्ठ

 मंसिर ३, २०७७ बुधबार ११:३५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुग्नुभएको छ । पार्टी सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बोलाएका ओली राष्ट्रपतिलाई भेट्न शितल निवास जानुभएको हो । 

दिउँसो १ बजेका लागि बोलाइएको पार्टी सचिवालय बैठक भने अन्योलमा परेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली आजको बैठक सार्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि बैठक राख्ने पक्षमा हुनुहुन्छ ।

पार्टी महासचिव विष्णु पौडेलले आज बोलाइएको बैठक सार्न अनुरोध गर्नु भए पनि प्रचण्डले अस्वीकार गर्नुभएको छ । बैठक सार्ने पक्षमा रहनुभएका ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । पहिले १ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइए पनि फेरि एक घण्टापछि सारिएको छ ।

यसैबीच पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्व निर्धारित समयअनुसार दिउँसो १ बजे नै सचिवालय बैठक बस्ने बताउनुभएको छ । उहाँले बालुवाटारमै बैठक बस्ने बताउनुभएको हो । प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरुले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका छन् । तर प्रचण्ड र उहाँ पक्षका नेताहरुले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका छन् । 

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो ।  तर प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमा आफूमाथि गम्भीर आरोप लगाएको भन्दै ओली रुष्ट हुनुहुन्छ ।

प्रचण्डको प्रतिवेदनमा ओली सरकारले बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता गरेको, न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास गरेको, बिमति राख्ने नेतालाई प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग गरेको, भ्रष्टाचारका अनेक प्रकरण भए पनि अख्तियार प्राप्त निकायबाट छानबिनसमेत नगराइ प्रधानमन्त्रीबाटै निर्दोष घोषणा भएको, एमसीसीबारे प्रतिवेदनमा छलफल नगरी बजेटमा समावेश गरिएको, समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की दिने गरेको र चरम व्यक्तिवादी प्रवृत्ति हावी भएको आरोप छ । 

दुई अध्यक्षबीच लिखितरुपमै आरोप-प्रत्यारोप र सवाल-जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया