नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

 मंसिर ३, २०७७ बुधबार १३:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक सुरु भएको हो । एक बजेका लागि बाेलाइएकाे बैठक केही ढिला गरी सुरु भएकाे हाे । 

बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका नाै जनै सदस्य सहभागी भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजै प्रधानमन्त्री ओलीले दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक भने दुई बजेलाई सारिएको छ । 

यसअघि प्रचण्डले आफूमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेस गरेको भन्दै ओली र उहाँ पक्षका नेताहरूले प्रस्ताव फिर्ता गर्न आग्रह गरेका थिए । तर प्रचण्ड र उहाँ पक्षका नेताहरूले भने प्रस्ताव फिर्ता नहुने र बैठकमै छलफल हुने अडान लिएका थिए । 

गएको शुक्रबार बसेको सचिवालय बैठकले प्रचण्डसहित पाँच नेताले बुझाएको लिखित अनुरोधपत्र, ओली र प्रचण्डको पत्र तथा प्रचण्डको राजनीतिक प्रतिवेदन अध्ययनपछि आजको लागि बैठकको मिति तय गरेको थियो । दुई अध्यक्षबीच लिखित रूपमै आरोप–प्रत्यारोप र सवाल–जवाफ बढ्दै गएपछि नेकपाभित्रको विवाद थप बढेको छ ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया