नेकपाकाे झगडा देखेर नागरिकलाई लाेकतान्त्रिक प्रणाली नराम्राे हाे भन्ने भ्रम परेकाे छ : प्रकाशशरण महत

 मंसिर ३, २०७७ बुधबार १४:५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै नागरिकमा भ्रम पैदा हुन थालेको कांग्रेसले बताएको छ । 

सत्तारुढ दल नेकपाभित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै नागरिकले आशङ्का गरिरहेको कांग्रेसको भनाइ छ । निर्वाचित भएर आएकाहरूले नै नागरिकमाथि विश्वासघात गरेकाले नागरिकलाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताउनुभयो । न्युज एजेन्सीसँग कुरा गर्दै सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजे पनि देश त्यो बाटोमा जान नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रणालीको कुरा होइन । निर्वाचित भएर आएकाहरूले नागरिकमाथि विश्वासघात गरेकाले नागरिकमा प्रणाली नै नराम्रो हो कि भन्ने परेको छ तर त्यो होइन । नागरिकले अर्को चुनावमा अर्को विकल्प खोज्ने हो । सरकार रहँदासम्म सरकारलाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलन्द गर्नुपर्छ । प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन् । त्यो बाटोमा देश जान सक्दैन ।’

उहाँले सरकार संवेदनशील नबनेका कारण कोरोना महामारी नियन्त्रणबाहिर गएको समेत बताउनुभएको छ । महामारीविरुद्धको लडाइँमा सरकारले सुरुवाती दिनदेखि आइसोलेशन निर्माण/व्यवस्थापन, क्वरेण्टीन व्यवस्थापन अस्पतालहरुमा बेडको व्यवस्था गरी अगाडि बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चुनावमा गरेका वाचा विपरीत सरकारले काम गरिरहेकाे छ । सरकार संवेदनशील भएको भए कोभिड–१९ सहजै नियन्त्रण गर्न सकिन्थ्यो । सुरुमा आइसोलेशन, क्वरेण्टीन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो अवस्था आउने थिएन । अहिले सरकार औषधि खरिद र राहत वितरणको रुपमा फाइदा उठाउने अभियानमा लागेको छ ।’

सहमहामन्त्री महतले नागरिकमाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताउनुभयो । सङ्घ, प्रदेश र पालिका तीन वटै सरकारप्रति नागरिकको विश्वास टुट्दै गएको पनि उहाँले बनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेकपाको झगडाले नागरिकलाई ठूलो असर परेको छ । यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता सङ्घर्षमा नेताहरु देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली जसरी भए पनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहाने नेताहरुले त्यो पुग्न गरिरहेको लडाइँले नेपाली नागरिक मारमा परेका छन् ।’  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया