धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – ‘फिनसेन फाइल्स’ ले दुबईमा तस्करीको सुन किनबेच गर्ने कम्पनीहरूको नाम खुलासा गरेको छ । हामीले तिनको नेपाल कारोबारका सम्बन्धमा अनुसन्धान गर्यौँ ।अनुसन्धानबाट नेपालमा पनि ती कम्पनीहरूमार्फत सुन भित्र्याइएको भेटियो । तस्करीको सुन खरिद/बिक्री गर्ने भनेर आरोप लागेको दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र ‘भिरेन ज्वेलर्स’ बाट नेपालमा सुन भित्र्याउने गरेको खुलासा भएको हो ।
९ माघ २०७४ मा सार्वजनिक भएको ‘३३ किलो सुन तस्करी प्रकरण’ का मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ ले ‘भिरेन ज्वेलर्स’ बाट धेरैजसो सुन खरिद गरेर नेपाल ल्याउने गरेको जिल्ला अदालत मोरङमा बयान दिएका छन् । त्यसैगरी अर्को कम्पनी ‘कालोटी’ बाट तत्कालीन ललितपुर उपमहानगरपालिका ८ बालकुमारी ठेगाना उल्लेख भएको ‘सास्ता ट्रेडिङ कम्पनी लिमिटेड’ ले सुन ल्याएर ‘शकास्पद कारोबार गरेको’ फिनसेनका गोप्य कागजातहरूले देखाएको छ ।
‘फिनसेन’ ले तयार पारेका कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले गरेको खुलासाअनुसार दुबईको कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी कम्पनीले चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वग्रस्त देशहरूबाट सुन खरिद गर्ने काम गर्छ ।
यही कम्पनीबाट नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजका अध्यक्षसमेत रहेका नेपाली व्यवसायी त्रिभुवनधर तुलाधरको ‘सास्ता ट्रेडिङ कम्पनी लिमिटेड’ ले नेपालमा सुन ल्याइ बिक्री गर्ने गरेको यसअघि फिनसेन फाइल्सको नेपाल नातामा सार्वजनिक भइसकेको छ ।
दुबईका यी कम्पनीहरूबाट नेपालमा भएको सुन कारोबारबारे खोज पत्रकारिता केन्द्र (खोपके) ले गरेको अनुसन्धानले नेपालमा ‘३३ किलो सुन प्रकरण’ काण्ड पनि अन्तर्राष्ट्रिय तस्करीमा जोडिन पुगेको देखिन्छ । किनकि गोरेले सुन खरिद गर्ने दुबईको ‘भिरेन ज्वेलर्स’ र नेपाली कम्पनी ‘सास्ता’ ले सुन ल्याउने ‘कालोटी’ अन्तर–सम्बन्धित रहेको अनुसन्धानबाट देखिन्छ ।
यो अन्तर–सम्बन्ध थाहा पाउन ‘फिनसेन’ ले उल्लेख गरेका शङ्कास्पद कारोबारसम्बन्धी विवरणहरू केलाउनुपर्छ । फिनसेनका अनुसार तत्कालीन ललितपुर उपमहानगरपालिका ८ बालकुमारी ठेगाना उल्लेख भएको ‘सास्ता ट्रेडिङ कम्पनी लिमिटेड’ ले सुन खरिदका नाममा अमेरिकाको न्युयोर्कमा रहेकाे स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट ठूलो रकम नेपाल भित्र्याएको देखिन्छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक न्युयोर्क शाखाको समीक्षा भनेर ‘फिनसेन’ ले उल्लेख गरेअनुसार १ जनवरी २००८ देखि २९ अगस्ट २०१२ सम्म सास्ता ट्रेडिङ कम्पनी प्रालिसहित चार विदेशी कम्पनीले दुई अर्ब ७७ करोड ८५ लाख नाै हजार ४४५.२८ अमेरिकी डलर शङ्कास्पद कारोबार गरेका थिए ।
त्यसध्ये तीन करोड १५ लाख ७२ हजार ८६४ अमेरिकी डलर नेपालको सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ पटकमा न्युयोर्कको स्ट्याण्डर्ड चार्टर्ड बैंकमार्फत प्राप्त गर्यो । याे रकम न्युरोडको प्राइम कमर्सियल बैंक र कमलपोखरीको बैंक अफ काठमाण्डाैमा रहेको सास्ताको खातामा जम्मा भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ ।
तर पछि त्यही रकम बराबरको अङ्क दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र हङकङको ‘अडिट ओभरसिज’ लाई भुक्तानी भएको देखिन्छ । कालोटी ज्वेलरीलाई मात्रै बिस्कुट आकारको सुन र चाँदी आयातका लागि भन्दै २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा तीन करोड सात लाख १८४ अमेरिकी डलर पठाइएको छ । बाँकी आठ लाख ७२ हजार ६८० अमेरिकी डलर सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगस्ट २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो । फिनसेनले यसलाई शङ्कास्पद गतविधिसम्बन्धी रिपोर्ट (सार) को सूचीमा राखेको छ ।
कम्पनी रजिस्ट्रारकाे कार्यालय त्रिपुरेश्वरबाट प्राप्त कागजातअनुसार ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाण्डौ महानगरपालिका २७ का शान्ति प्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन् । उल्लिखित शेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ । हामीले टेलिफोनमार्फत तुलाधारसँग पटक–पटक प्रतिक्रिया लिन खोज्यौँ तर उनले आधा ‘घण्टापछि सम्पर्क गर्नुहोस्’ भन्दै टारिरहे ।
यसैगरी ‘फिनसेन’ ले शङ्कास्पद कारोबार गर्ने सूचीमा राखेको कालोटी र नेपालमा ३३ किलो सुन प्रकरण भनेर चिनिने तस्करी मामिलाको साइनो बुझ्न त्यस काण्डका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’ ले जिल्ला अदालत मोरङमा दिएको बयान हेर्नुपर्ने हुन्छ । उनले दिएको बयानअनुसार नेपाल ल्याइने धेरै जसो सुन दुबईको देइरामा रहेकाे ‘भिरेन ज्वेलर्स’ बाट खरिद गरिन्थ्यो ।
प्रहरी अभियोग पत्रअनुसार पाँच पटक नेपाल सुन ल्याउनेमा पनि ‘भिरेन ज्वेलर्स’ को नाम उल्लेख छ । जसअनुसार ३ फेब्रुअरी २०१६ मा १५ केजी, ४ मा चार केजी, ८ मा ३८ केजी, ९ मा १५ केजी र १० मा १७ केजी गरेर जम्मा ८९ केजी सुन ल्याएको देखिन्छ ।
‘भिरेन ज्वेलर्स’ र ‘कालोटी’ सुन कारोबारमा अन्तर–सम्बन्धित कम्पनीहरू हुन् । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ‘सोसाइटी अप थ्रेटन्ड पिपुल्स’ (एसटीपी) को एक प्रतिवेदनअनुसार सन् २०१२ मा कालोटीले ‘भिरेन ज्वेलर्स’ बाट १२ हजार ७५२.७ किलो सुन खरlद गरेको थियो । अरू विभिन्न अध्ययनहरूले पनि ‘उनीहरूबीच पटक–पटक सुन खरिद/बिक्री हुने गरेको’ उल्लेख गरेका छन् ।
एसटीपीले २०१८ अप्रिलमा प्रकाशित गरेको प्रतिवेदनअनुसार कालोटीले सन् २०१२ मा कान्ज ज्वेलरीबाट ९२ किलो सुन खरिद गरेको थियो । त्यसैगरी ‘कालोटी’ ले ‘भिरेन ज्वेलर्स’ सँग सन् २०१२ मा मात्रै ४५ करोड १४ लाख १८ हजार ४१०.८५ अमेरिकी डलर रकमको कारोबार गरेको थियो । एसटीपी प्रतिवेदनअनुसार यी दुई कम्पनीहरूले सशस्त्र समूहले कब्जा गरेका र अन्य विवादास्पद सुन बजारमा ल्याउने काम गरेका उदाहरणहरू छन् ।
युनाइटेड नेशन्स सेक्युरिटी काउन्सिलको रिपोर्टअनुसार, कङ्गोमा सशस्त्र समूहहरूले कब्जा गरेको सुन युगाण्डाको ‘सिल्भर मिनरल्स’ ले सप्लाई गरेको थियो । दुबईका ‘कान्ज ज्वेलरी’ र ‘योगेश ज्वेलरी’ ले ‘सिल्भर मिनरल्स’ बाट सुन लिने काम गरेका थिए । ‘भिरेन ज्वेलर्स’ ले ‘योगेश ज्वेलरी’ मार्फत सुन लिने गरेको थियो । ‘कालोटी’ ले ‘भिरेन ज्वेलर्स’ र ‘कान्ज ज्वेलरी’ बाट सुन लिने गर्छ । दुबईको ‘योगेश ज्वेलरी’ ‘सिल्भर मिनरल्स’ को आधिकारिक व्यावसायिक साझेदारसमेत हो ।
दुबईका उल्लिखित कम्पनी र नेपालमा सुन ल्याउने समूहबीचको सम्बन्धमा थप तथ्य खुल्न सक्ने सम्भावना रहे पनि नेपालले ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धान कति अघि बढाउला अहिल्यै केही भन्न सकिन्न । किनकि अनुसन्धान गर्न बनेको विशेष टोलीले दुबईमा कसरी सुन खरिद/बिक्री हुन्थ्यो र त्यो कसरी नेपालसम्म आइपुग्थ्यो भन्नेबारेमा द्विपक्षीय सम्झौताको अभावमा कानुनी जटिलताले भन्दै विस्तृत अनुसन्धानबाट सरकार पन्छिइसकेको छ ।
तर मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) ले दिएको दुबईका कम्पनीसँग सम्बन्धित सूचनाले पनि थप नयाँ तथ्य फेला पर्ने सम्भावना देखाउँछ । ‘गोरे’ ले जिल्ला सरकारी वकिल कार्यालय मोरङमा दिएको बयानअनुसार दुबईको देइरामा रहेकाे भिरेन ज्वेलर्स एउटा ठूलो सुन पसल हो । ऊसँग सुन कारोबार गर्न नेपालीहरूको एउटा समूहले दुबईमा ‘वागमती ट्रेडिङ एलएलसी’ कम्पनीसमेत दर्ता गरेका थिए ।
दुबईमा गोरेका भाइ रमेश उप्रेती, रोशन भन्ने गुप्तलाल भुषाल, काले भन्ने किसनकुमार अग्रवाल, हरिशरण खड्का, बेनु श्रेष्ठले दुबईको कारोबार हेर्ने गर्दथे । उनीहरूले दुबईमा ‘याक एण्ड यती सुन पसल’ तथा ‘याक एण्ड यती रेस्टुरेन्ट’ र ‘याक एण्ड यती ट्राभल कम्पनी’ समेत चलाइरहेका छन् ।
नेपालमा गरिएको सुन तस्करीमा याक एण्ड यती सुन पसलको समेत संलग्नता देखिएको थियो । याक एण्ड यती ज्वेलर्सले बिक्री गर्ने सुन पनि ‘भिरेन ज्वेलर्स’ बाट खरिद हुन्थ्यो । २०७३ सालमा बरामद भएको साढे ३३ किलो सुनको स्रोत ‘याक एण्ड यती ज्वेलर्स’ नै भएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को दाबी छ ।
तस्करीकै क्रममा हराएको ३३ किलो सुन खोजी गर्ने क्रममा गोरेको समूहले १८ फागुन २०७३ मा उर्लाबारी १ मा रहेकाे सोल्टी खोला किनारको जङ्गलमा करेन्ट लगाइ यातना दिएर सनमको हत्या गरेको थियो । सनम, उर्लाबारीकै मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की, विमानस्थलका कर्मचारी तक्ले भनिने पुण्यप्रसाद लामालगायतलाई सुन लुकाएको आरोप लगाइएको थियो ।
याक एण्ड यती ट्राभल एजेन्सीको आवरणमा उनीहरूले हुण्डीको कारोबार चलाएको सीआईबीको अनुसन्धानबाट पनि खुलेको थियो । यो समूहका अधिकांश व्यक्तिहरू २१ पुस २०७३ मा गौशालामा बरामद भएको साढे ३३ किलो सुन तस्करीको अर्को घटनामा पनि जोडिएका थिए । त्यतिबेला एसएसपी श्याम खत्री तथा भन्सारका केही कर्मचारीहरू पक्राउ पर्नेदेखि तस्कर समूहभित्रै केही व्यक्तिको हत्यासमेत भएको थियो ।
तर सुन तस्करीको क्रम भने रोकिएन । सुन तस्करीको पैसा भने उनीहरूले हुण्डीबाट पठाउने गरेको विशेष टोलीका संयोजक रहेका सहसचिव ईश्वरराज पौडेल बताउँछन् ।
छानबिनको क्रममा केही भारतीय र केही अरबी नागरिकको समेत संलग्नता खुलेको थियो । भारतको केरलाका सलिम खानको गोरेको समूहसँग सम्बन्ध रहेको खुलेको थियो । “उनी अन्डरवर्ल्ड समूहका व्यक्ति हुन् भन्ने सूचना हामीले पाएका थियौँ”, टोलीका एक सदस्य भन्छन्, “तर प्रतिवेदन नै थन्क्याउने काम भएपछि गिरोहबारे थप खोजी भएन ।”
१६ साउन २०७५ मा समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझायो । त्यो प्रतिवेदन अहिलेसम्म प्रधानमन्त्री कार्यालयमा नै थन्किएको छ । प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने दुई सयभन्दा धेरै व्यक्तिको नाम रहेको एक प्रहरी अधिकारी बताउँछन् । जसमा सुन मात्र नभइ नेपालबाट हुण्डीको कारोबार गर्ने व्यक्तिहरूबारे समेत सूचना रहेको ती प्रहरी अधिकारीको भनाइ छ ।
तस्करीमा संलग्न गिरोहका अधिकांश व्यक्ति विगतमा कामदारका रूपमा दुबई पुगेर सुन र हुण्डीको कारोबार गरी पैसा कमाएका व्यक्तिहरू रहेको प्रहरीको प्रारम्भिक छानबिनबाट खुलेको थियो । चूडामणि उप्रेती, हरिशरण खड्का, गुप्तलाल भुषाल कामदारका रूपमा यूएई पुगेका थिए । सुन तस्करीमा भरिया हुँदै पछि उनीहरूले आफै तस्करी थालेका थिए । पाँच वर्षको अवधिमा उनीहरूले तीन हजार आठ सय केजी सुन तस्करी गरेको दाबीसहित जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ जरिबाना माग गरिएको छ ।
के हो कालोटी ?
आईसीआईजेका अनुसार, कालोटी दुबईमा सुनको व्यापार तथा प्रशोधन गर्ने कम्पनीहरूको समूह (ग्रुप अफ कम्पनिज्) हो । ‘फिनसेन प्रतिवेदन’ अनुसार, कालोटीले शङ्कास्पद धनको कारोबार गरेको ५२ वटा फाइल फेला परेका छन् । आईसीआईजेले प्रकाशित गरेको रिपोर्टअनुसार शङ्कास्पद हुँदा हुँदै पनि केही बैंकले कालोटीलाई ‘चुपचाप आफ्नो ग्राहकको रूपमा छाड्ने निर्णय गरेको’ अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको अनुसन्धानले पत्ता लगाएको थियो ।
“अमेरिकी अनुसन्धानकर्ताहरूले कालोटीमाथि तीन वर्ष लामो खोज–तलासपछि प्रमाणहरूको पहाडै जम्मा गरेका थिए”, आईसीआईजेले भनेको छ, “तर पनि विश्वकै ठूलो सुन व्यापारी कालोटी ग्रुप विरुद्धको मुद्दालाई बन्द गरियो ।”
सन् २०१४ मा गठन भएको एउटा टास्क फोर्सले अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीलाई कालोटी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन सिफारिस गरेको थियो । तर ट्रेजरी विभागले कालोटी विरुद्ध कुनै कारबाही अघि बढाएन । अमेरिकाका पूर्व ट्रेजरी अधिकारीहरूले बताएअनुसार यूएई अमेरिकासँग रिसाउन वा चिढिन सक्ने डरले कालोटी विरुद्धको मुद्दा स्थगित भएको थियो ।
यूएई मध्य–पूर्वमा अमेरिकाको प्रमुख सहयोगी देशका रूपमा चिनिन्छ । आईसीआईजेसँग कुरा गर्दै अमेरिकाका पूर्व अनुसन्धानकर्ताले कालोटी विरुद्ध मुद्दा अघि नबढेको कुराले आफूहरूलाई चकित र निराश बनाएको बताएका थिए । कालोटीले सन् २००७ देखि २०१५ सम्मको अवधिमा विभिन्न बैंकहरूमार्फत ९.३ बिलियन अमेरिकी डलर शङ्कास्पद धनको कारोबार गरेको फिनसेन प्रतिवेदनमा उल्लेख छ । तर कालोटीका प्रवक्ताले एक विज्ञप्तिमार्फत ‘कम्पनी दुराचारसम्बन्धी कुनै पनि आरोपको कडा निन्दा गर्दछ’ भनेका छन् ।
आईसीआईजेले उल्लेख गरेअनुसार, सन् २०१४ कोे फेब्रुअरीमा भएको एक ‘डाटा लिक’ अनुसार, कालोटीले संदिग्ध सुन आपूर्तिकर्तासँग कारोबार गर्ने गरेको देखाएको थियो । कालोटी चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वग्रस्त देशहरूमा प्रयोग भएको सुन खरिद गर्ने काममा संलग्न भएको देखिएको थियो । सन् २०१२ मा कालोटीले सुन खरिद गर्न ५.२ बिलियन अमेरिकी डलर नगद भुक्तानी गरेको थियो । बैंकिङ प्रणालीबाट कारोबार हुँदा शङ्कास्पद धनको पहिचान हुने सम्भावनालाई छल्न सुन खरिदका लागि यो कम्पनीले नगदमार्फत नै काम गर्ने गरेको थियो ।
यो कम्पनीको सेवालाई सन् २०१० मा ‘दुबई गुड डेलिभरी’ मा सूचीकृत गरिएको थियो । तर पछि यसले त्यो मान्यता गुमायो । ‘दुबई गुड डेलिभरी’ सुन वा चाँदी उत्पादनको गुणस्तर र प्राविधिक विशिष्टताका लागि तय गरिएको अन्तर्राष्ट्रिय बेन्चमार्क हो । यसले गुणस्तरीय सुन निर्माणको कामलाई सुनिश्चित गर्छ । यो दुबई मल्टिकमोडिटी सेन्टरले सन् २००५ मा विकास गरेको एउटा मानक हो ।
आईसीआईजेका अनुसार ‘दुबई गुड डेलिभरी’ को सूचीबाट हट्नु अघिसम्म कालोटी दुबईमा सबैभन्दा ठूलो सुन प्रशोधन कम्पनी थियोे । यसले आफैलाई सुनको सहर भनेर चिनाउँथ्यो । त्यसो त अहिले पनि कालोटीलाई दुबईमा सुन कारोबारको महत्त्वपूर्ण खेलाडी हुनबाट कसैले रोक्न सकेको छैन ।
दुबईको मल्टी कमोडिटी सेन्टरका अनुसार, दुबई विश्वकै सुन र डायमण्डको एक अग्रणी व्यापारिक केन्द्र हो । दुबईबाट वार्षिक ७५ अर्ब अमेरिकी डलर रकम बराबरको सुन तथा डायमण्डको कारोबार हुन्छ ।
पाँच वर्षमा ५०७ केजी
नेपालमा पाँच वर्षमा पाँच सय सात किलो तस्करीको सुन प्रहरीले बरामद गरेको छ । जसमध्ये सबैभन्दा धेरै चीनबाट आएको सुन बरामद भएको छ, त्यसपछि दुबईबाट आएको । तर कतिपय सुन कुन देशबाट आएको भनेर पत्ता नलाग्ने भएकाले पनि यससम्बन्धी यकिन तथ्याङ्क प्रहरीसँग छैन ।
सबैभन्दा धेरै आर्थिक वर्ष २०७४/०७५ मा २११ केजी सुन बरामद भएको छ । विमानस्थलबाट एउटा समूहले मात्रै कम्तीमा तीन हजार आठ सय केजी सुन तस्करी गरेको छानबिनमा खुले पनि बरामद भने थोरै मात्र भएको थियो ।
पछिल्ला वर्ष सुन तस्करीका घटनामा कमी आएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतको दाबी छ । बरामद भएको सुन चीनपछि दुबईको बढी भएकाले यिनै देश हुँदै सुन तस्करी धेरै हुने सहज अनुमान लगाउन सकिन्छ । बरामदमा चीन अघि रहे पनि बाहिर सार्वजनिक हुन नसकेका सुन तस्करीका घटना दुबईसँग नै बढी हुने प्रहरीको विभिन्न आन्तरिक अनुसन्धानहरूले देखाएको छ ।
वैध सुनमा पनि दुबई नै
वैध बाटोबाट सुन आयात पनि दुबईबाट नै सबैभन्दा बढी हुने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागको तथ्याङ्कअनुसार, हिजोआज झन्डै २० देखि ३० वटा देशहरूबाट सुन आयात गरिन्छ । आर्थिक वर्ष २०७१/०७२ मा एक हजार आठ सय तीन किलो सुन आयात भएकोमा दुबईबाट मात्रै एक हजार सात सय तीन किलो सुन आएको थियो ।
त्यसपछिका आर्थिक वर्षहरूमा पनि दुबईबाट नै बढी सुन आउने गरेको छ । आर्थिक वर्ष २०७२/०७३ मा आयात भएको चार हजार एक सय ६५ किलो सुनमध्ये दुई हजार नाै सय ५० किलो सुन दुबईबाट आयात भएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा त झन् कुल सुन आयातको झन्डै ९१ प्रतिशत सुन दुबईबाट आएको देखिन्छ । त्यस वर्ष पाँच हजार चार सय ५० किलो सुन आयात भएकोमा चार हजार नाै सय ५० किलो दुबईबाट आएको थियो ।
त्यस्तै २०७५/०७६ मा पनि विभिन्न देशहरूबाट आयात भएको कुल सुनमध्ये दुबईबाट ल्याइएको हिस्सा ठूलो छ । अर्थात् यो वर्ष सात हजार चार सय ९३ किलो सुन आयात भएकोमा दुबईबाट मात्रै पाँच हजार आठ सय ५८ किलो सुन ल्याइएको छ ।
विश्वव्यापी रूपमा फैलिएकाे कोरोना भाइरसका कारण गएकाे आर्थिक वर्ष निकै कम सुन आयात भए पनि सबैभन्दा बढी भने दुबईबाटै आएको छ । अर्थात् आर्थिक २०७६/०७७ मा दुई हजार चार सय किलो सुन आयात भएकोमा एक हजार ६ सय ५० किलो सुन दुबईबाट आयात भएको हो ।
राष्ट्र बैंकले तोकिदिएको नियमअनुसार एक बैंकले मासिक २० किलो सुन आयात गर्न पाउँछ । बैंकहरूले ल्याउने सुन पनि दुबईबाटै आउने र दुबईमा सुनसँग सम्बन्धित यी विवादास्पद विवरणले यस्तो आयातमा समेत शङ्का गर्ने ठाउँ रहन्छ ।
सुन तस्करी र कारोबार प्रकरणले नेपाल र यूएईबीच हुन नसकेको सुपुर्दगी सन्धिलाई पनि सम्झाइदिएको छ । यूएईले आठ महिनाअघि नेपालसँग राखेको सुपुर्दगी सन्धिको प्रस्ताव अहिलेसम्म अगाडि बढेको छैन ।
परराष्ट्र मन्त्रालयले याे प्रस्तावमा अध्ययन गरी नेपालको दृष्टिकोण निर्माण गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । गृह मन्त्रालय अहिलेसम्म यस मामिलामा स्पष्ट नहुँदा यो प्रक्रिया अघि बढ्न सकेको छैन । तर मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा यूएईसँगको सुपुर्दगी सन्धि छिट्टै अघि बढाइने बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
खाेज पत्रकारिता केन्द्र (सीआईजे) ले विभिन्न विषयमा खाेजी गर्दै प्रतिवेदनहरु तयार पार्दै आएकाे छ ।