एकैदिन ६ अर्ब बढीकाे काराेबारसँगै शेयर बजारमा नयाँ रेकर्ड

 मंसिर ४, २०७७ बिहिबार १६:१०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार एकैदिन ६ अर्ब रुपैयाँभन्दा धेरैको काराेबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

यसअघि एकैदिन चार अर्ब ८५ करोड रुपैयाँको कारोबारको रेकर्ड तोड्दै बिहीबार ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँ बराबरका एक करोड ४० लाख कित्ता शेयर किनबेच भएको हो ।

नेप्से परिसूचक पनि बढ्यो

कारोबार रकमसँगै नेप्से परिसूचक पनि बुधबारकाे तुलनामा ३६ दशमलव ३२ अङ्कले बढेको छ । बिहीबार परिसूचक बढेर १७ सय ७८ दशमलव १२ अङ्कमा पुगेको नेप्सेले जनाएको छ । यो बुधबारको तुलनामा २ दशमलव ०८ प्रतिशत धेरै हो ।

बिहीबार कारोबार भएका सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ३ सय ९९ दशमलव १६ र जीवन बीमा समूहको उपसूचक ३७६ दशमलव १५ अङ्कले बढेको छ । यस्तै होटल समूहको १९८ दशमलव ५३, विकास बैंक समूहको २८ दशमलव ९९, जलविद्युत् समूहको २१ दशमलव ६३, अन्य समूहको ५८ दशमलव १५ र माइक्रो फाइनान्स समूहको ४६ दशमलव ३८ अङ्कले बढेको छ ।

कुन कम्पनीको कारोबार कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको बिहीबार सबैभन्दा धेरै ४१ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । त्यस्तै हिमालय डिस्टिलरी लिमिटेडको २७ करोड सात लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ करोड १२ लाख रुपैयाँ, नेशनल लाइफ कम्पनी लिमिटेडको १८ करोड ४३ लाख रुपैयाँ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७ करोड ३१ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ ।

कसले कति कमाए, कति गुमाए ?

बिहीबार तारागाउँ रिजेन्सी होटल लिमिटेड र युनिलिभर नेपाल लिमिटेडका शेयर लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । यस्तै बोटलर्स नेपाल तराई लिमिटेड, हिमालय डिस्टिलरी लिमिटेड र विशाल बजार कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले पनि झण्डै १० प्रतिशत कमाएका छन् ।

नेपाल बैंक लिमिटेड प्रोमोटर शेयरका शेयर लगानीकर्ताले भने ३ दशमलव १७ प्रतिशत गुमाएका छन् । यस्तै १० प्रतिशत प्रभु बैंक डिभेन्जर, सनराइज फस्ट म्युचल फण्डलगायतका शेयर लगानीकर्ताले पनि गुमाएका छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया