निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरी भिडियाे टिकटकमा राख्ने ३ जना पक्राउ

 मंसिर ४, २०७७ बिहिबार १७:२६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – मध्यपुर थिमि बस्ने निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरी भिडियो टिकटकमा अपलोड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले बिहीबार भक्तपुर नगरपालिका ५ टौमढीबाट उनीहरूलाई पक्राउ गरेको परिसरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।

निकिशामाथि भक्तपुर नगरपालिका १ दूधपाटीमा बुधबार दुर्व्यवहार गरी सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेपछि यसको चर्को विरोध भएको थियो । त्यस लगत्तै नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानबिन र अनुसन्धान गर्न पत्राचार गरेपछि भक्तपुर प्रहरीले पक्राउ गरेको बताइएको छ । 

सार्वजनिक भएको भिडिओमा मोटरसाइकलमा सवार व्यक्तिले निकिशालाई अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको र आफूलाई दुर्व्यवहार गरेपछि श्रेष्ठले ती मानिसलाई लखेटेको देखिन्छ । 

प्रहरीले बिहीबार टौमढीका १७ वर्षीय विशेष जोशी, दूधपाटीका १७ वर्षीय रितश लाखे र १८ वर्षीय साखिल भन्ने रोहित खत्रीलाई तौमढीमा रहेकाे आफन्तको घरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । 

प्रहरीको अनुसन्धानमा खत्रीले अपशब्द बोल्दै भिडियो खिचेको, लाखेले मोटरसाइकल चलाएको र जोशीले भिडियो अपलोड गरेको खुलेको छ । प्रहरीको साइबर ब्युरोले समेत यसबारेमा थप अनुसन्धान गरिरहेको बताइएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया