फिनसेन फाइल्स फलोअप : ‘भर्चुअल’ हुण्डी मौलायो

 मंसिर ४, २०७७ बिहिबार १९:१७:३८ | खाेज पत्रकारिता केन्द्र
unn.prixa.net

काठमाण्डाै – अमेरिकाको वित्तीय कारोबार प्रणालीमाथि निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे) ले गरेको खुलासाबाट ‘डलर कार्ड तथा खातामार्फत नेपालबाट हुने गैरकानुनी करोबार’ समेत उजागर हुन पुगेको छ ।

‘भर्चुअल’ दुनियाँसँग अभ्यस्त व्यक्ति, संस्था तथा निकायहरूले गैरकानुनी बाटोबाट विदेशी डलर कार्ड बनाइ नेपालबाट विदेशी सेवा तथा सामग्री प्रयोग गरिरहेको खुलासा भएको हो । त्यति मात्रै होइन, नेपालबाटै वस्तु तथा सेवाको बिक्री गरेबापतको कमाइसमेत यस्तै अवैध डलर कार्डबाट प्राप्त हुने गरेको फेला परेको छ ।

‘फिनसेन’ प्रतिवेदनले उल्लेख गरेअनुसार १४ जुलाई २०१४ देखि १९ जनवरी २०१६ भित्र डेढ वर्ष अवधिमा नेपाल नाम उल्लेख भएका विभिन्न कारोबारले यस्तो कारोबार भएको देखाएको छ । ‘फिनसेन’ ले उल्लेख गरेअनुसार यो साढे दुई वर्ष अवधिमा मात्रै चार करोड ११ लाख ७६ हजार ५०४ अमेरिकी डलर (चार अर्ब ९४ करोड ११ लाख ८० हजार ४८६ रुपैयाँ) नेपालसहित विभिन्न देशमा आदानप्रदान भएको देखिन्छ । तर नेपालमा मात्र कति रकम आदानप्रदान भयो भन्ने बारेको विवरण भने खुल्दैन ।

‘फिनसेन’ ले उल्लेख गरेको यस विवरणमा आधारित भएर खोज पत्रकारिता केन्द्र (खोपके) ले खोज गर्दा नेपालमा नै डलर कारोबार गर्न मिल्ने विदेशी ‘डिजिटल पेमेन्ट कार्ड’हरू अवैध रूपमा भित्र्याएर बिक्री/वितरण गर्ने गरेको चाहिँ भेटियो ।

नेपालको कम्पनी रजिस्ट्रारकाे कार्यालयमा दर्ता नभएका कतिपय कम्पनीहरू र अरू कतिपय व्यक्तिले अमेरिका, युरोप, बेलायत, पाकिस्तानलगायतका देशबाट त्यस्ता कार्ड ल्याइ नेपालका सेवाग्राहीलाई बिक्री गर्ने गरेको पाइयो । यसमा संलग्न एउटा समूह सामाजिक सञ्जाल फेसबूकमै भेटियो ।

भर्चुअल कारोबार–१ ‘अनलाइन डेटिङ’

‘फिनसेन’ ले उल्लेख गरेअनुसार १४ जुलाई २०१४ देखि २६ नोभेम्बर २०१४ को चार महिनाको अवधिमा नेपालसहित विभिन्न देशमा पँच सय ४६ पटक विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) मार्फत १० करोड ५४ लाख एक हजार ३६९.७६ अमेरिकी डलरको शङ्कास्पद कारोबार भएको थियो ।

योमध्ये लक्जेम्बर्गको डुओडिकड आईटी कम्पनीले एक सय ५२ पटकमा एक करोड ११ लाख ८२ हजार ९२९.६३ अमेरिकी डलर ‘पेअनियर’ का विभिन्न खातामा पठाएको थियो । डुओडिकड आईटी कम्पनीले नेपाल, कोस्टारिका, सिङ्गापुर, रोमानिया, चीन, रुस, क्यानडा, अमेरिका, जर्मनी, युक्रेन, पोल्याण्ड, काजकस्तान, सेसल्स, युगान्डा, हङ्गेरी, बङ्गलादेश, ग्वाटेमाला, नेदरल्याण्ड र फिलिपिन्समा रहेका विभिन्न व्यक्ति र संस्थाका पेअनियर खातामा याे रकम पठाएको थियो ।

यसमध्ये दुई वटा खाता नेदरल्याण्ड, स्पेन, चीन, सिङ्गापुरलगायतका विभिन्न आठ देशमा कार्यालय रहेको वेबपावर र अमेरिकाको मेड्लेडटकम कम्पनीले प्रयोग गरेको देखिन्छ । डुओडिकड आईटीले बेलायतको वर्ड पे एपी लिमिटेड र साइप्रसको पर्निमस लिमिटेडबाट रकम पाएको थियो, जुन रकम अनलाइन डेटिङको सेवासँग सम्बन्धित थियो ।

नेपाललगायतका देशमा भएको यस रकमको कारोबार अनलाइनबाट मनोरञ्जनको सेवा दिने मोडहरूका लागि तलब वा कमिसनबापत नै खर्च भएको हो/होइन भनेर पुष्टि गर्न सकिएन । तर नेपाल पनि ‘अनलाइन डेटिङ’ को अन्तर्राष्ट्रिय जालोमा जोडिँदै गएको छ भन्ने यो एउटा जनाउ हुन सक्छ । 

किनकि वर्ल्ड पे एपी लिमिटेड र पर्निमस लिमिटेड कम्पनीको वेबसाइट हेर्दा उनीहरूले वयस्कलाई लक्षित गरेर अनलाइन मनोरञ्जन प्रदान गर्ने गरेको देखियो । अनलाइन डेटिङ व्यवसाय गर्ने वेबसाइट बनाउने ती कम्पनीका वेबसाइटमा मोडलहरूको तस्बिर र उनीहरूको व्यक्तिगत विवरण राखिएको छ ।

‘फिनसेन’ ले ‘ती कम्पनीहरूले मोडललाई सेवा दिएबापत रकम नदिने, गैरकानुनी रूपमा काममा लगाउने र कम उमेरका मोडलहरूलाई काम लगाउने गरेको भेटियो’ भनेको छ ।

भर्चुअल कारोबार २– ‘प्रयोजन र रकम नखुलेको’

‘फिनसेन’ ले उल्लेख गरेको ४ नोभेम्बर २०१५ देखि १९ जनवरी २०१६ सम्म भएका कारोबारसम्बन्धी विवरण केलाउँदा नेपालमा भएका केही कारोबारहरू जसको प्रयोजन खुल्दैन तर रकम भुक्तानी भएको छ भन्ने देखिन्छ । तर कति रकम नेपालले प्राप्त गर्‍याे वा नेपाल ट्रान्सफर भयो भन्ने पनि खुल्दैन ।

‘फिनसेन’ ले उल्लेख गरेअनुसार लक्जेम्बर्गको डुओडिकड नामक आईटी कम्पनीले १५ पटक गरी त्यस अवधिमा कुल २४ हजार ७१२.३५ अमेरिकी डलर वायर ट्रान्सफर गरेर नेपाल, क्यानडा, कतार, जाम्बिया र हङ्गेरीका पाँच जना व्यक्तिका नाममा जम्मा गरेको थियो ।

भर्चुअल कारोबार ३– ‘पेअनियर नेपाल’ अवैध कम्पनी  

‘फिनसेन’ प्रतिवेदनअनुसार डुओडिकड आईटी कम्पनीको तर्फबाट ७ अप्रिल २०१५ देखि २२ जुन २०१५ सम्ममा २९ हजार ८०५.२३ अमेरिकी डलर नेपाललगायत विभिन्न देशमा वायर ट्रान्सफर भएको देखिन्छ । कम्पनीले यस अवधिमा १८ पटक वायर ट्रान्सफर गरी ती रकम नेपाल, क्यानडा, हङ्गेरी र लक्जम्बर्गमा रहेका विभिन्न व्यक्तिका नाममा पठाएको भेटियो । 

डुओडिकडको एउटा ग्राहक अमेरिकी वित्तीय कम्पनी ‘पेअनियर’ पनि हो, जसले अनलाइनमार्फत मनी ट्रान्सफर गर्ने र ई–कमर्स पेमेन्ट सर्भिस दिने काम गर्छ । यसले युरोपियन युनियनका बैंकहरूसँग रकम कारोबार गर्नका लागि सम्बन्ध कायम गरेको छ । पेअनियरले फरक देशका दुई बैंकहरूबीच सीमापार भुक्तानीलाई सहजीकरण गर्ने काम पनि गर्छ । यो कम्पनीको मुख्यालय अमेरिकामा छ । पेअनियरले अमेरिकाकाे चोइस बैंकमार्फत मास्टर कार्ड जारी गर्ने काम गर्छ ।

नेपालमा पनि यही कम्पनीसँग साझेदारी छ भन्ने देखाउने गरी ‘पेअनियर नेपाल’ नाम गरेको मास्टर कार्ड खरिद/बिक्री गर्ने तर कतै दर्ता नभएको कम्पनी सञ्चालनमा ल्याइएको छ । ‘पेअनियर नेपाल’ नामको गैरकानुनी कम्पनी नेपालमा कसरी काम गरिरहेको छ ? (विवरण तल)

भर्चुअल कारोबार ४– सामाजिक सञ्जाललाई भुक्तानी

‘फिनसेन’ ले उल्लेख गरेअनुसार, २ डिसेम्बर २०१४ देखि २३ मार्च २०१५ सम्मको अवधिमा लक्जम्बर्गको डुओडिकड आईटी, लक्जेम्बर्गकै सोसाइटी युरोपेनी डी बैंक एस.ए, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र जर्मनीको युनिक्रेडिट बैंक एजी ४७ पटक गरेर जम्मा दुई करोड ९९ लाख ३९ हजार ५६.८४ अमेरिकी डलर वायर ट्रान्सफर कारोबारमा संलग्न छन् ।

डुओडिकड आईटीले ३६ पटक वायर ट्रान्सफर गरेर नेपाल, जोर्डन, बलिज, क्यानाडा, हङ्गेरी र अर्थपोर्टमा रहेका विभिन्न व्यक्तिलाई रकम पठाएको खुलेको छ । डुओडिकड आईटी कम्पनीले साइप्रसको पर्निमस लिमिटेड र बेलायतको वल्र्ड पे एपी लिमिटेड गरी दुई कम्पनीको बारक्लेज कर्पोरेटको खाताबाट ११ पटक गरेर वायर ट्रान्सरमार्फत रकम पाएको थियो ।

यो कारोबारमा अनलाइन मार्केटिङ गर्ने वेबपावर नाम गरेको अन्तर्राष्ट्रिय कम्पनी पनि जोडिएको छ । यसले व्यक्तिका म्यासेजहरू सही समयमा सही माध्यमको प्रयोग गरेर पठाउने काम गर्छ । यसले स्वचालित रूपमा जन्मदिनको, कुनै अभियानको र कारोबारसम्बन्धी म्यासेज पठाउने कामका लागि सफ्टवेयर बनाएको छ । त्यसैले यसले सामाजिक सञ्जालमा हुने विभिन्न कारोबारको रकम भुक्तानी तथा प्राप्त गरेको हुन सक्ने अनुमान छ ।

यस्तो कारोबारमा नेपाल जोडिनुको अर्थ सामाजिक सञ्जालमार्फत हुने विभिन्न कारोबार तथा विज्ञापनका लागि यो अवैध भर्चुअल माध्यम प्रयोग भइरहेको हुन सक्ने सम्भावना बलियो छ ।

डुओडिकडको नेपाल नाता

माथि भनिएका चारवटै ‘भर्चुअल कारोबार’ लाई ‘फिनसेन’ ले शङ्कास्पद गतिविधिसम्बन्धी आफ्नो प्रतिवेदनको शङ्कास्पद गतिविधिसम्बन्धी रिपोर्ट (सार) मा समावेश गरेको छ ।

“उक्त कारोबार नेपाल, भारत, पाकिस्तान, लेबनान, रसिया, इथियोपिया, इजिप्ट, नाइजेरिया, कम्बोडिया, क्यामरुन, युगान्डा, यूएई, बहराइन, रुवाण्डा र अफगानिस्तान जस्ता सम्पत्ति शुद्धीकरण गर्ने उच्च जोखिमयुक्त देशमार्फत भएकाले शङ्कास्पद रूपमा लिइएको छ”, फिनसेनले भनेको छ ।

यो कारोबारमा लक्जेम्बर्गको डुओडिकड कम्पनीको प्रमुख संलग्नता देखिन्छ । डुओडिकड मल्टिमिडिया, वेबसाइट बनाउने र वेबसाइट चलाउने काममा संलग्न कम्पनी हो । डुओडिकडको ठेगाना लक्जम्बर्गमा भए पनि विभिन्न देशका बैंकहरूमा यसका खाता छन् । मुख्यगरी अमेरिकाका बैंकहरूमार्फत यसले कारोबार गर्छ । यो कम्पनीका १६ देशमा शाखा छन् । यसले अनलाइन अथवा अन्तर्राष्ट्रिय रूपमा द्विदेशीय बैंकिङ कारोबार प्रक्रियालाई मध्यस्थता गरिदिन्छ ।

सन् २००१ मा स्थापना भएको यो कम्पनीले सन् २०१३ देखि बहुराष्ट्रिय कम्पनीका रूपमा काम गर्न थालेको हो । यो कम्पनी डक्लर होल्डिङ नामले पनि परिचित छ । यो कम्पनी वेब होस्टिङ गर्ने (वेबसाइट बनाउने काम) काममा पनि संलग्न छ । जसले नेपालसहित धेरै देशहरूमा रकम लिने/दिने, पठाउने/लैजाने काम गरिरहेको छ ।

फेसबूकमार्फत र्‍याकेट

नेपालमा फेसबूकमार्फत पेअनियर कार्ड उपलब्ध गराउन विभिन्न व्यक्ति र नक्कली सङ्घ संस्थाहरू सक्रिय रहेको पाइएको छ । उनीहरूले अनलाइनमार्फत भुक्तानी गर्न प्रयोग गरिने पेअनियरलगायतका अन्य कम्पनीबाट निर्मित डलर कारोबार गर्न मिल्ने मास्टरकार्ड विदेशबाट मगाएर बिक्री/वितरण गर्दै आइरहेका छन् ।

नेपालमा यो काम ‘पेअनियर नेपाल’ नाममा भइरहेको देखिन्छ । यतिसम्म कि यो कम्पनीले ‘कार्ड बनाइदिन भनेर पैसा लगेको तर कार्ड नदिएको’ भन्ने कमेन्टहरू पनि फेसबूकमा छन् । ‘पेअनियर नेपाल’ को फेसबूक पेजमा उल्लेख भएका विवरण अनुसार, यस ‘कम्पनी’ मार्फत विभिन्न व्यक्तिहरूले कार्ड बनाइसकेको बुझिन्छ । 

खोपकेले पनि ‘पेअनियर नेपाल’ सँग फेसबूकबाट सम्पर्क गरेको थियो । फेसबूक एकाउन्ट चलाएका व्यक्तिसँग हामीले ‘पेअनियरको मास्टरकार्ड’ चाहिएको भनेर बनाउने उपाय सोधेका थियौँ । एकाउन्ट सञ्चालकबाट ‘आफूहरूले पेअनियरको मास्टर कार्ड बिक्री गर्दै आइरहेको र त्यस कार्डमा आफूहरूले नै पेपल वा अन्य कार्ड प्रयोग गरेर रकम राख्न सकिने’ जानकारी दिए ।

पेअनियर कार्ड खरिद गर्न के–के जरूरी पर्छ भनेर हामीले सोधेको प्रश्नको जवाफमा एकाउन्ट सञ्चालकबाट ‘यसका लागि नागरिकता, ठेगाना र फोन नम्बर चाहिने’ भनियो । अमेरिकाको पेअनियर कम्पनीकै कार्यालयबाट कार्ड आउने जानकारी हामीलाई दिइयो ।

त्यसक्रममा ‘पेअनियर मास्टरकार्ड नेपाल’ नामको फेसबूक एकाउन्ट चलाउने व्यक्तिबाट अमृत राईका नाममा सनराइज बैंक इटहरी शाखामा खोलिएको खाता नम्बर ०५८०७०६६६६२०५००१ मा एउटा कार्ड खरिदबापत पाँच हजार रुपैयाँ पठाउन भनिएको थियो । (हेर्नुहोस् स्क्रिनसट)

तर यसरी पैसा पठाउँदा ‘पेअनियर कार्ड’ खरिदका लागि भन्ने कुनै कुरा उल्लेख नगर्न भनियो । प्रयोजन उल्लेख गरिएमा कार्ड खरिदको काम गैरकानुनी भन्ने थाहा पाएर बैंकले कारोबारको प्रक्रिया अघि नबढाउने र यदि केही गरी रकम आफ्नो खातामा आउन नसके त्यसको जिम्मेवार आफू नहुुने उनले बताए ।

त्याे खातामा रकम प्राप्त गरेमा नेपालभित्रको जुनसुकै ठाउँमा पनि कार्ड पुर्‍याइदिने भनियो । एकाउण्ट सञ्चालकबाट “पाँच हजार त कार्ड बनाउनका लागि हो । तपाईँले खर्च गर्नुपर्ने रकम पनि कार्डमा राख्ने हो भने छुट्टै पठाउनुपर्छ । त्यसपछि अनलाइन शपिङ गर्न सक्नुहुन्छ” भन्ने जवाफ आयो ।

ती एकाउण्ट सञ्चालकका भनाइमा, पेअनियरका अलावा भर्चुअल भिसा कार्ड, पेपाल, भर्चुअल मोभो क्यास कार्ड र अन्य भर्चुअल मास्टर कार्डहरू २५ सयदेखि चार हजार रुपैयाँसम्ममा उपलब्ध हुन्छन् । भर्चुअल स्क्रिल कार्ड भने झण्डै ३५ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

यस क्रममा फेसबूकमै पेअनियरको कार्ड बिक्री गर्ने एक ‘पाकिस्तानी’ फेला परे । हसन नाममा खोलिएको फेसबूक एकाउन्ट चलाउने ती व्यक्तिले त्याे कार्ड आफूले नेपाल पनि पठाउन सक्ने भन्दै ठेगाना मागे । कार्ड खरिदबापतको रकम बैंकबाट पठाउन भने । नेपालबाट प्रयोजन नखुलाइ विदेशमा रकम पठाउन नपाइने व्यवस्था सुनाएपछि उनले डिजिटल मुद्रा ‘बिटक्वाइन’ पठाउन भने । जबकि बिटक्वाइनको कारोबार पनि नेपालमा गैरकानुनी हो ।

बिटक्वाइन तत्काल गर्नुपर्ने भुक्तानीका लागि सहज पार्न सन् २००९ मा बनाइएको विवादास्पद भर्चुअल मुद्रा हो । ब्लकचेनमा आधारित नेटवर्कमार्फत लेनदेन गर्ने यो विश्वकै पहिलो क्रिप्टोकरेन्सी हो । यसमार्फत रकमको कारोबार गर्दा बैंकको संलग्नता नै हुँदैन । यो माध्यमबाट रकमको कारोबार गर्न सुरक्षित हुने दाबी गरिँदै आइएको छ । नेपालमा भने यसमार्फत हुने कारोबारलाई गैरकानुनी मानिन्छ । कतिपय देशमा यो भर्चुअल मुद्रा सरकारी निकायको नियमनभन्दा बाहिर छ । होटलहरू बुक गर्नेदेखि अनलाइनमार्फत विभिन्न सामान खरिदका लागि बिटक्वाइन प्रयोग गरिँदै आएको छ । तर गैरकानुनी डलर कार्ड ल्याउनका लागि यो मुद्राको समेत प्रयोग हुने गरेको खोपकेले गरेको अनुसन्धानले देखाएको छ ।

मिडियामा प्रकाशित एक पाकिस्तानी नागरिकले लेखेको लेखअनुसार पेअनियर कार्ड रोयल मेलको माध्यमबाट पाकिस्तान पुर्‍याइने गरिएको छ । “पेअनियर कार्ड सम्बन्धित व्यक्तिकहाँ पुर्‍याउने काम रोयल मेलबाट गरिन्छ, जुन पाकिस्तानका हुलाकमार्फत सम्बन्धित व्यक्तिले पाउँछन्” त्यस लेखमा भनिएको छ, “कुनै कारणवश यदि तपाईँले त्याे कार्ड २२ दिनपछि पाउनु भएन भने पाकिस्तानको हुलाक अफिस अथवा स्थानीय हुलाकमा पुगेर लिन सक्नुहुन्छ ।” यसरी विभिन्न देशबाट पाकिस्तान ल्याइने पेअनियरको मास्टर कार्डलाई त्यहाँबाट हुलाकलगायतका विभिन्न माध्यमबाट नेपाल पठाउने गरेको देखिन्छ ।     

यस आधारमा अन्तर्राष्ट्रिय बजारबाट वैध वा अवैध वस्तु तथा सेवा खरिदका लागि नेपालमा डलर कार्ड सजिलै प्राप्त गर्न सकिने देखियो । कार्डको प्रकृतिअनुसार २५ देखि ५० अमेरिकी डलरसम्म तिनुपर्ने रहेछ । जुन कार्डमा अतिरिक्त रकम राखी विश्व बजारमा डलर भुक्तानी गरी अनलाइन शपिङ गर्न सकिन्छ । अर्कोतर्फ नेपालमा बसेर विदेशका विभिन्न व्यक्ति वा कम्पनीका लागि काम गरिदिएबापत पाउनुपर्ने रकम पनि यस्ता कार्डहरूमा जम्मा गर्न सकिने अवस्था रहेछ । पारदर्शिता, करको दायरा र वैधानिक क्षेत्रको कारोबारभन्दा बाहिर रहेकाले यी गैरकानुनी काम हुन् ।

आईसीटी फ्रेम म्यागेजिनको अनलाइन संस्करणमा प्रकाशित एउटा लेखअनुसार नेपालमा पेअनियर कार्ड प्राप्त गर्नका लागि पेअनियरको वेबसाइटमा गएर खाता खोल्नुपर्ने, खाता खोल्ने क्रममा आफ्नो परिचय रुजु गर्न पासपोर्टको कपी बुझाउनुपर्नेछ र त्यसपछि आफ्नो कार्ड सम्बन्धित ठेगानामा आइपुग्छ ।

त्यस लेखमा अनलाइनमा काम गर्नेहरूका लागि यो रकम भुक्तानी गर्ने उपयुक्त माध्यम भएको र दुई सय १० देशमा यसको कार्ड चल्ने पेअनियरमार्फत रकम बुझ्नका लागि बैंकमा खाता खोल्नु नपर्ने उल्लेख छ । 
त्यस लेखबाट नेपालमा पेअनियर कार्डको राम्रै प्रयोग भइरहेको थाहा पाउन सकिन्छ ।

वैध आर्जन पनि त्यतै

नेपालमै बसोबास गरेर विदेशका व्यक्ति वा कम्पनीका लागि काम गरिरहेकाहरूले समेत ‘पेअनियर बाटो’ बाट रकम भित्र्याउने गरेको भेटियो । यो कार्डबारे अभ्यस्त एक ग्राहकका अनुसार धेरै व्यक्तिले नेपालमा बसेर विदेशको फ्रिल्यान्सिङको काम गरेबापतको पारिश्रमिकसमेत यस्तो कार्डमार्फत ल्याउँछन् ।

यस्तो काम गर्न चाहने व्यक्तिले ‘अप वर्क’ वा ‘फिभर’ नामका वेबसाइटमार्फत आफूले जानेको काम र आफ्नो व्यक्तिगत क्षमतासहितको विवरण एकाउन्ट खोलेर त्यहाँ अपलोड गरेर राख्छन् । विदेशका विभिन्न व्यक्ति वा कम्पनीहरूले आफूलाई चाहेको व्यक्ति तिनै वेबसाइटका माध्यमबाट खोज्छन् र उपयुक्त लागेपछि कामको अवसर दिन्छन् ।

विदेशी कम्पनीले नेपालीलाई काम लगाइसकेपछि रकम भुक्तानी दिनुपर्ने हुन्छ । तर यसरी रकम पठाउने काम बैंकिङ च्यानलबाट हुँदैन । प्राप्त रकम निकाल्न पेअनियर नामको बहुचर्चित अनलाइनमार्फत रकम कारोबार गर्ने कम्पनीलाई प्रयोग गरिँदै आएको छ ।

रोजगारदाताले काम लगाएको व्यक्तिको पेअनियर अकाउन्ट माग्छन् र त्यही पेअनियर नामको अनलाइन खातामा रकम राखिदिन्छन् । ‘अप वर्क’ वा ‘फिभर’ नामका वेबसाइटमार्फत काम पाएको खण्डमा सम्बन्धित व्यक्तिलाई पारिश्रमिक भुक्तानी गर्दा उनीहरूबाट पेअनियरले प्रत्येक पटक २० प्रतिशत कमिसन लिन्छ ।

त्यसका लागि सुरूमा पेअनियरको वेबसाइटमा गएर खाता खोल्नुपर्छ । पेअनियरका एक नेपाली ग्राहकका अनुसार खाता खोलेपछि पेअनियर कम्पनीले अमेरिकाबाट नेपालका हुलाकमार्फत पेअनियर मास्टर कार्ड र त्यसको पिन नम्बर पठाउँछ । पेअनियर कार्ड प्रायः काठमाण्डौको सुन्धाराकाे हुलाक र ललितपुरको पाटनढोकाकाे हुलाकमार्फत आउने गर्छ । यतिबेलासम्म खाता खोल्ने व्यक्तिले कार्डबापत रकम तिर्नुपर्दैन । तर कारोबार गर्न थालेपछि कार्डबाट सिधै रकम काट्छ ।

पेअनियरको वेबसाइटमार्फत खाता खोलेको २० देखि २५ दिनभित्रमा कार्ड नेपाल आइपुग्छ । यो कार्ड प्रयोग नगरि राख्ने हो भने पनि महिनैपिच्छे पेअनियर कम्पनीले कमिसनबापत मासिक तीन अमेरिकी डलरको हिसाबले रकम काट्ने गर्छ । नेपालमा बसेर अनलाइन सामग्री ‘बुस्टिङ’ गर्ने र डिजिटल मार्केटिङको काम गर्नेहरूले पेअनियरमा ब्यालेन्स राखिदिने काम सहजै गर्दै आएका छन् ।

“अहिलेसम्म भइरहेको अनलाइन पेमेन्टसम्बन्धी सबै कारोबार गैरकानुनी हो । कानुनको अभावमा अहिले डिजिटल कारोबार गर्न एकदमै असहजता छ”, कम्प्युटर एसाेसिएशन अफ नेपाल (क्यान) महासङ्घका पूर्वअध्यक्ष विनोद ढकाल भन्छन्, “जस्तो मैले कुनै अनलाइन शपिङमा राम्रो किताब फेला पारेँ । मानौँ त्यसको मूल्य १० डलर छ । मलाई खरिद गर्न मन लाग्यो भने मैले अनलाइनमार्फत रकम भुक्तानी गर्न सक्दिनँ ।”

त्यो ल्याउनका लागि डलर कार्ड भएका वा विदेशमा बसेका व्यक्तिलाई किताब किनिदिनु भनेर अनुरोध गर्नुपर्छ । “सम्बन्धित व्यक्तिले अनलाइनबाट मैले पढ्न खोजेको रकम तिरिदिएपछि बल्ल किताब आउँछ । डलर कार्ड भएको वा विदेशमा बसेको व्यक्तिलाई मैले अन्य कुनै माध्यमबाट त्याे रकम तिर्नुपर्छ”, ढकालले भने, “त्यसरी रकम तिर्ने काम कानुनतः मिल्दैन ।”

सरकारले अनलाइनमार्फत अन्तर्राष्ट्रिय रूपमा कारोबार गर्ने बाटो सहज नबनाउँदा अहिले वैकल्पिक रूपमा अवैध बाटोबाट अनलाइन कारोबार हुने अवस्था निम्तिएको जानकारहरूको भनाइ छ । नेपालमा बसेर विदेशको काम गर्ने क्रममा रकम आम्दानी गर्न ‘अनलाइन पेमेन्ट सिस्टम’ लाई व्यवस्थित नगरेका कारण पनि यस्तो समस्या निम्तिएको उनीहरूको भनाइ छ ।

“सेवा यहाँ लिने, त्यसको भुक्तानी मेरो साथी, परिवार वा जो–कोहीले विदेशमा गरिदिन्छ र त्यसको सट्टा नेपालीमा अर्को माध्यमबाट फेरि भुक्तानी हुने प्रवृत्ति छ”, नेपालको अनलाइन पेमेन्टसम्बन्धी काम गरिरहेको नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी निर्देशक निलेशमानसिंह प्रधान भन्छन्, “हिजोआज यस्तै च्यानलबाट निकै काम भइरहेको मैले पनि सुनेको छु । राष्ट्र बैंकको परिभाषाअनुसार यो काम हुण्डी हो ।”

यसको विकल्प कडा नियमन मात्रै हैन, निश्चित सुविधाको समेत आवश्यकता रहेको विज्ञहरू बताउँछन् । “यहीँ बसेर विदेशी वस्तु तथा सेवाको खरिद गर्न गरिएको कडाइका कारण यसरी अनौपचारिक कारोबार बढेको हो”, सीईओ प्रधानले भने, “हामीले कसैलाई धेरै कडा गरेर रोक्यौँ भने उसले अर्को बाटो प्रयोग गर्छ । वैध कारोबारहरूका लागि उपयुक्त विधिबाट डलर कारोबारसम्बन्धी नयाँ नियमनको खाँचो छ ।”

पेअनियर : विवादास्पद कम्पनी

अमेरिकाको एनबीसी न्युजका पत्रकार ग्रेचन मोर्गनसन र किट रामगोपालले गरेको खोजअनुसार पेअनियर कम्पनीका विवादास्पद विवरणहरू फेला परेका छन् । ती विवरणअनुसार पेअनियर अमेरिकाको सिलिकन भ्यालीमा सन् २००५ मा स्थापना भएको कम्पनी हो । यसको मुख्य धन्दा नै डलर कारोबार गर्न मिल्ने क्रेडिट तथा मास्टर कार्डसँग सम्बन्धित छ । जसको सम्बन्ध बलिजकाे चोइस बैंकसँग पनि छ ।

यस बैंकले आर्थिक गतिविधिका हिसाबले जोखिमपूर्ण अभ्यासहरू गरिरहेको अमेरिकाको डिपार्टमेन्ट अफ ट्रेजरीका अनुसन्धानकर्ताहरूले पत्ता लगाएका थिए । पेअनियरकै कारण विवादमा परेपछि २०१८ अप्रिलमा चोइस बैंकले उसँग व्यापार गर्न छोड्यो । डिपार्टमेन्ट अफ ट्रेजरीको शङ्कास्पद गतिविधिबारेको एक प्रतिवेदनअनुसार सन् २०१४ मा मात्र चोइस बैंकले मास्टर कार्ड र पेअनियर संलग्न भएर गरेको १.४ बिलियन अमेरिकी डलर विभिन्न ठाउँमा पठाउने काममा सहयोग गरेको थियो ।

अनुसन्धानकर्ताहरूले चोइस बैंकका ग्राहकहरूमध्ये धेरै 'पोर्न' अर्थात् अश्लील वेबसाइटहरू सञ्चालन गर्ने, जालसाजी कारोबार गर्ने र एउटा चाहिँ अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनको संस्थासमेत रहेको फेला पारेका थिए । जुन पेअनियरसँग सम्बन्धित रहेको अनुमान गरिएको थियो ।

सूचना प्रविधिको क्षेत्रमा कार्यरत एक जानकार स्रोतका अनुसार पेअनियरले नेपालका बैंकहरूमार्फत पनि रकम प्राप्त गर्ने काम गरिरहेको छ । डलर आर्जन गरेको घोषणा गरेका आधारमा विदेशबाट जो–कोहीले बैंक खातामा रकम जम्मा गरिदिन सक्छ । “त्यो डलर प्राप्त गरेको स्रोत खुलाउनुपर्दैन”, ती व्यक्तिले भने, “घोषणा गरे मात्रै पुग्छ ।”

त्यसकारण जुनसुकै कारोबारबाट विदेशमा आर्जन गरेको रकम पेअनियरमार्फत यहाँ आइरहेको छ । पेअनियरको वेबसाइटमा बताइएअनुसार दुई सयभन्दा बढी देश र क्षेत्रका लाखौँ व्यवसाय र पेसा गर्नेहरूलाई आफ्नो क्रस बोर्डर भुक्तानी प्रणालीमार्फत सम्बन्ध राख्न ऊ सक्षम छ । त्यस कामलाई विश्वव्यापी बनाएर बढाउन पनि कम्पनीले काम गरिरहेको वेबसाइटमा उल्लेख छ ।

पेअनियरले सार्वजनिक स्टक जारी गर्ने तयारी गरे पनि याे योजना रोकिएको छ । लिक भएका असङ्ख्य ट्रेजरी कागजातहरूले पेअनियरले जोखिमपूर्ण कारोबार गरेको देखाएको छ । सन् २०१६ को शङ्कास्पद गतिविधिबारे डच बैंकले तयार पारेको प्रतिवेदनले पेअनियरको कारोबारमा पारदर्शिताको अभाव देखिएको, कारोबारमा संलग्न व्यक्ति वा संस्था अज्ञात देखिएको र लेनदेनका विवरणहरूमा कुनै व्यावसायिक उद्देश्य पहिचान हुन नसकेको देखाएको थियो । पेअनियरका बारेमा यी विषयहरू ‘फिनसेन’ नेतृत्वमा भएका अन्य धेरै शङ्कास्पद गतिविधिबारेको प्रतिवेदनमा पनि प्रतिबिम्बित भएको देखिन्छ ।

नेपालमै ‘डलर कार्ड’

नेपाल राष्ट्र बैंकको विनिमय व्यवस्थापन विभागले डलरसम्बन्धी कारोबार गर्न धेरैवटा सर्तहरू राखेको छ । पटक–पटक निर्णय गरी अहिलेसम्म व्यवस्था गरिएको ‘विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरूलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६’ मा डलर कार्डको नियमनबारे उल्लेख छ ।

‘बैंक तथा वित्तीय संस्थाहरूबाट जारी भएका डेविट र क्रेडिट कार्ड धारक (होल्डर) हरूले नेपालभित्रै बसी नेपालमै उपभोग गर्ने उद्देश्यले वार्षिक दुई हजार अमेरिकी डलरसम्म नेपालको प्रचलित कानुनबाट प्रतिबन्ध नलगाइएका विदेशी वस्तु वा सेवा अनलाइनमार्फत विदेशबाट खरिद गर्न सक्नेछन् ।’

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूबाट अहिलेसम्म ७३ लाख २९ हजार २०२ व्यक्तिले डेविट कार्ड लिइसकेका छन् । क्रेडिट कार्ड लिनेको सङ्ख्या एक लाख ६० हजार दुई सय ९७ छ । ६३ हजार सात सय ७५ ले प्रिपेड कार्ड लिएका छन् । यसमध्ये विदेशबाट अनलाइन शपिङका लागि डलर प्रयोग गर्ने अनुमति लिएका जो कोहीले वार्षिक दुई हजार डलरसम्म वैध कारोबार गर्न पाउँछन् । त्यसबाट हुने कारोबारको अभिलेख देख्न र करको दायरामा ल्याउन सकिन्छ ।

“डलर कारोबारसम्बन्धी भर्चुअल दुनियाँलाई पूरै खुला गरे आम्दानी नहुने, यताबाट खर्च मात्रै हुने सम्भावनाले चालु खाता घाटादेखि विदेशी विनिमय सञ्चितिलाई असर पर्नेछ”, प्रवक्ता भट्टले भने, “साथै पुँजी पलायन हुनेछ । त्यसकारण नियमन हुनुपर्छ । कसरी गर्ने भनेर हामी छलफलमै छौँ ।”

“तर हुण्डीबाट भएको कारोबार सरकारी अभिलेखमा हुँदैन । करको दायरामा पनि आउँदैन”, क्लियरिङ हाउसका सीईओ प्रधान भन्छन्, “यसले अनौपचारिक अर्थतन्त्रलाई बढवा दिइरहेको छ । नेपालमा आउने डलरसमेत उतै रोकिएको छ ।”

यस कारणले पनि ऐन ल्याएरै नियमन र सुविधाको व्यवस्था गर्नुपर्ने क्यान महासङ्घका पूर्वअध्यक्ष ढकालको धारणा छ । “अहिलेको भर्चुअल दुनियाँमा हरेक कुरामा कठिनाइ छ । अनलाइनमार्फत कारोबार गर्ने कामलाई सहज बनाउन कानुन बनाउन जरूरी भइसकेको छ”, उनले भने, “अहिले यो विषयलाई सम्बोधन गर्ने गरी उद्योग मन्त्रालयले ऐन बनाउन काम गरिरहेको छ ।” 

अन्तिम अपडेट: मंसिर १०, २०७७

खाेज पत्रकारिता केन्द्र

खाेज पत्रकारिता केन्द्र (सीआईजे) ले विभिन्न विषयमा खाेजी गर्दै प्रतिवेदनहरु तयार पार्दै आएकाे छ । 

1 Comments

  • Chiranjibi

    Nov. 19, 2020, 7:54 p.m.

    कुनै विकल्प त चाहियो नि , म फ्रिलान्सर हुँ, विदेशकोकम्पनीको लागि काम गर्छु , तर पायोनियर बाहेक अरु कुनै विकल्प नै छैन पैसा पाउने ...कतिको रोजीरोटी यसैले चल्छ त कतिको करियर नै यहीं हुन्छ / बाहिर देशको कम्पनीको लागि काम गरेर नेपालमा पैसा ल्याउनु त राम्रो हो नि / तर त्यसको लागि अब नेपाल राष्ट्र बैंकले सक्दो छिटो नियम बनाउनुपर्यो /हामी जति पनि कर तिर्न तयार छौं /

  •  0 Reply

तपाईको प्रतिक्रिया