शेयर बजारमा नयाँ रेकर्ड, एकैदिन ६ अर्ब ९० कराेड बढीकाे काराेबार

 मंसिर ७, २०७७ आइतबार १६:१:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आइतबार शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता पछिल्लो समय लगातार बढ्दै गएको बजारमा लगानीकर्ता आकर्षित हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाउँदै गएको छ ।

आइतबार बजार बन्द हुँदा ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ । गएकाे हप्ताकाे बिहीबार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । त्याे रेकर्डलाई आइतबारको कारोबारले तोडेको छ । बजारमा दुई सय एक कम्पनीको ६३ हजार पाँच सय ७० पटकको कारोबारबाट एक करोड ६० लाख ३४ हजार सात सय  १७ कित्ता शेयर खरिद/बिक्री भएको छ ।

कारोबार सुरु भएदेखि नै उतारचढाव देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा भने ४ दशमलव ६९ अङ्कले बढेर १ हजार ७ सय ८२ दशमलव ८१ अङ्कमा बन्द भएको छ । दिनभर नेप्सेमा झण्डै ५० अङ्कको उतारचढाव देखिएको छ । सेन्सेटिभ परिसूचक पनि २ अङ्कले बढेर ३ सय ४५ अङ्कमा बन्द भएको छ ।

कारोबारमा आएका समूहमध्ये बैंकिङ, विकास बैंक र अन्य समूहबाहेकका सबै समूहका सूचकहरु घटेका छन् । यसअघिका दिनहरूमा व्यापार, बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहबाट कमाइरहेका लगानीकर्ताहरू ती क्षेत्रको शेयर बिक्री गरी बैंकतर्फ आकर्षित भएको देखिन्छ । त्यसैले अन्य समूहमा दबाब भइरहँदा पनि बैंकिङ समूह २ दशमलव २३ प्रतिशतले बढेको छ ।

विकास बैंक शून्य दशमलव ६४ प्रतिशत र अन्य समूह शून्य दशमलव १ प्रतिशत बढेको छ । लगानीकर्ताहरू तुलनात्मक रूपमा सस्तो रहेका बैंक तथा वित्तीय संस्थाका शेयर खरिद गर्न झुम्मिएको देखिन्छ । घट्ने समूहमा सबैभन्दा धेरै व्यापार समूह ५ दशमलव ६९ प्रतिशतले घटेको छ । यस्तै होटल समूह ३ दशमलव ९९ प्रतिशत, निर्जीवन बीमा समूह २ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ३३ प्रतिशत, म्युचल फण्ड समूह २ दशमलव २८ प्रतिशतले घटेको छ ।

आइतबार सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ५८ करोड ५८ हजार रुपैयाँको भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको २९ करोड ७३ लाख रुपैयाँ र नेपाल टेलिकमको २७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसबाहेक २० करोेड रुपैयाँ बढीको शेयर कारोबार हुने कम्पनीहरूमा हिमालयन डिस्टिलरी, नेपाल बैंक, प्रभु बैंक, नबिल बैंक, नेको इन्स्योरेन्स, शिवम् सिमेन्ट रहेका छन् ।

सिटिजन्स म्युचल फण्ड दोस्रोका इकाइ धनीहरूले १० प्रतिशतले कमाएका छन् । यस्तै जानकी फाइनान्सका शेयरधनीले ९ दशमलव २१ प्रतिशतले कमाएका छन् । बजारमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिए पनि माउन्टेन हाइड्रो नेपालका शेयरधनीले भने ८ दशमलव ९३ प्रतिशतले गुमाएका छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया